गौरादह/झापाको गौरादहमा किसानले रासायनिक मल युरिया र डिएपी सहज रुपमा पाएका छैनन् । रासायनिक मल बिक्री गर्ने संस्थाले किसानलाई आवश्यकता अनुसार मल दिन नसक्दा रासायनिक मलको हाहाकार भएको हो ।
खेती गर्ने समय सुरु भएपनि रासायनिक मल लिनका लागि किसान सहकारी खुल्नु भन्दा २ घण्टा अगाडि देखि नै सहकारीको ढोका अगाडि उभिएका हुन्छन् । रासायनिक मल नलगाउँदा भनेजति धान नफल्ने भएकाले ढिलो भएमा मल नपाइने हो की भनेर सहकारी खुल्नु भन्दा अगाडिनै सहकारी संस्था आएर बसेको गौरादह –८ का अनिल भण्डारी बताउँछन् । रासायनिक मल डिएपी र युरिया लिनको लागि गोजीमा पैसा बोकेर गएपनि सहज रुपमा पाइँदैन । सहकारी संस्थालाई मल लिनका लागि नेपाली नागरिकता र जग्गा धनीपुर्जाको फोटोकपी पेश गर्नु पर्छ । किसानले नागरिकता र धनी पुर्जाको फोटोकपी पेश गरेपनि आफूलाई चाहिएजति पाउँदैनन् । खेती धेरै हुने किसानले रासायनिक मल लिनका लागि नागरिकता र धनीपुर्जाको फोटोकपी पटकपटक बोकेर सहकारी धाउनु पर्ने बाध्यता छ ।
रासायनिक मल लिन गएपिच्छे फोटोकपी बोकेर जानु पर्छ । भुसको मूल्यमा धान बिक्री गर्नुपरेका किसानलाई मल लिन भने नागरिकता र धनीपुर्जाको फोटोकपी पेश गर्नुपने व्यवस्था गर्नु उचित नभएको स्थानीयको गुनासो छ । असार लागिसकेकाले किसानलाई धान रोप्नै पर्ने बाध्यता पनि छ । खेती गर्ने समयमा सहज रुपमा रासायनिक मल नपाउँदा किसानलाई हैरानी भएको छ । किसानले पैसा तिरेर मल किन्न खोज्दा पनि सहज रुपमा नपाउनु दुर्भाग्यपूर्ण भएको गौरादह –२ का किसान गंगा बहादुर खड्का बताउँछन् । किसानले राहात त पाएनन् तर मल बीउ भने सहज रुपमा पाउनु पर्ने खड्काको भनाइ छ ।
नेपालका अधिकांश मानिसहरुले खेती गर्ने भएकाले सरकारी तवरबाट आउने मल किसानले सहज रुपमा उनीहरुलाई पायक पर्ने ठाउँबाट किन्न पाउनु पर्ने हो । एउटै पालिका भित्र बसोबास गरेपनि किसानले पायक पर्ने ठाउँमा मल किन्न पाउँदैनन् । मल पनि एउटा सहकारीले एउटा वडाका किसानलाई मात्र दिने गरेका छन् । आफू बसेको वडाको तोकिएको स्थानमा मात्र मल खरिद गर्न पाइन्छ । रासायनिक मल डिएपी र युरिया कृषि सामग्री कम्पनीले थोरै मात्रामा पठाएकाले किसानलाई
मल अभाव…… पनि एकै पटकमा चाहिएजति दिन नसकेको जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य व्यवस्थापक कुमार चापागाईं बताउँछन् । किसानलाई के कति मात्रामा मल दिएको हो त्यसको विवरण नगरपालिकामा पेश गर्नुपर्ने भएकाले किसानसँग नागरिकता र धनीपुर्जाको फोटोकपी लिनु परेको उनको भनाइ छ ।