देश–समाज राजनीति सामाजिक सञ्जाल

पदीय मर्यादा बिर्सिएर नेकपा विवादमा राष्ट्रपति भण्डारीकाे चलखेल

पूर्वसन्देश समाचार टिप्पणी

देशकै अभिभावकको रुपमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीका गतिविधिमा मुछिएर विवादमा आउने गरेकी छन् ।

पछिल्लो पटक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) भित्र चर्किएको विवाद मिलाउनका लागि राष्ट्रपति भण्डारीको चलखेल बढेको सार्वजनिक भएको छ ।

पटक पटक पार्टीका विभिन्न गुटका नेताहरुलाई शितल निवासमा भेटघाट गर्दै आएकी उनले विहिबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै भेट गरिन् ।

जब नेकपा विवाद उत्कर्षमा पुग्छ तब राष्ट्रपति भण्डारीसँग नेताहरुको भेटवार्ता बाक्लिने गरेको छ ।

केही महिनाअघिदेखि नेकपा विवादमा राष्ट्रपति भण्डारीसँग नेकपा नेताहरुको भेटवार्ता बाक्लो हुने गरेको समाचार आइरहेका छन् ।

नेपालको संविधानले राष्ट्रपतिलाई जुनसुकै दलको समर्थनमा निर्वाचित भए पनि दैनिक राजनीतिबाट मुक्त र तटस्थ अभिभावकका रूपमा स्वीकार गरेको छ ।

राष्ट्रपति सबै जात, जाति, क्षेत्र र लिङ्गका नागरिकको साझा प्रतिनिधि, संविधानको अभिभावक हुन्छ ।

समाजका सबै तप्काका जनताको सम्मानको केन्द्रका रूपमा, गणतन्त्रको बिम्बका रूपमा राष्ट्रपतिले सार्वजनिक भूमिका खेल्ने अपेक्षा संविधानले गरेको छ ।

अहिले राष्ट्रपतिको चलखेलले संविधानको मर्मलाई कुल्चिएको भान भएको छ ।

शितलनिवासबाटै उनले नेकपाको एक गुट चलाएको चर्चा पार्टीभित्रै हुने गरेको छ ।

यसले राष्ट्रपतीय संस्थाको गरिमा र महत्व घटाएको विपक्षी दलका नेताहरु बताउँछने ।

भण्डारी जब राष्ट्रपति निर्वाचित भइन् तब उनी नेकपा मात्र होइन, सबै नेपालीको साझा संरक्षक हुन् ।

कुनै एक पार्टीभित्रको किचलोमा उनको अनावश्यक चासोलाई आम जनताले मन पराएका छैनन् ।

पार्टीको आन्तरिक मामलामा राष्ट्रपतिको हस्तक्षेप यस पटक मात्र होइन ।

दुई अध्यक्ष ओली र प्रचण्डले पटक पटक भण्डारीलाई साक्षी राखेर पार्टीको विवाद मिलाएका छन् ।

अघिल्लो पटक विवादले पार्टी फुट्ला झैँ भएका बेला बामदेव गौतमलाई ओली पक्षमा लाग्न दबाब दिएकी थिइन् ।

गत वर्ष पार्टी स्थायी कमिटीको बैठक चलिरहेकै बेला नेकपा स्थायी समितिका केही सदस्यलाई शितल निवास बोलाएर बैठकलाई प्रभावित गर्न खोजेको आरोप लागेको थियो ।

राष्ट्रपतिमा निर्वाचित हुनुभन्दा पहिले तत्कालीन नेकपा एमालेको ओली समूहकी नेतृ रहेकी भण्डारीले अहिले पनि उक्त गुटप्रतिको आफ्नो झुकाबअनुसार भूमिका खेल्ने गरेको आरोप नेकपाभित्रै लाग्ने गरेको छ ।

यी सबै घटनाले राष्ट्रपति संविधानले परिकल्पना गरेको मानार्थ राष्ट्रपतिभन्दा पनि नेकपाकै नेताको भूमिकामा फर्किन चाहेको देखिएको चर्चा छ ।

यसले नेपालमा स्थापित हुँदै गएको राष्ट्रपति संस्थाको गरिमा र महत्व कमजोर हुने र अन्ततः वर्तमान संविधानलाई कमजोर बनाउन प्रत्यक्ष–परोक्ष रूपमा भूमिका खेल्ने देखिन्छ ।

नेपालको संविधानमा राष्ट्रपति सम्बन्धी व्यवस्था
धारा ६१. राष्ट्रपति ः
—नेपालमा एक राष्ट्रपति रहनेछ ।
—राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले यस संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ ।
—राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ ।
—सविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।
धारा ६६. राष्ट्रपतिको काम, कर्तव्य र अधिकारः
—राष्ट्रपतिले यो संविधान वा संघीय कानुन बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।
—उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानुन बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्य बाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ । त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्री मार्फत पेश हुनेछ ।
—उपधारा (२) बमोजिम राष्ट्रपतिको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण संघीय कानुन बमोजिम हुनेछ ।

Author

You may also like