देश–समाज राष्ट्रिय विचार/वहस स्थानीय

यसपल्ट जनमतले कोरलेको सन्देश सर्बथा स्तुत्य छ

– : नकुल काजी : –
देशको शासनलाई समय–सन्दर्भसँग नमिल्ने अथवा हुकुमी शैलीमा हाँक्तै आएका पाका दलहरूलाई यही फागुन २१ गते सम्पन्न चुनावको परिणामले सम्पूर्ण रूपमा ’असान्दर्भिक’–को थान्कोमा थेचारेको छ । यो अवस्थालाई देशी–विदेशी कतिपय विश्वस्त विश्लेषकहरूले नागरिक कित्ताको मनोविज्ञानलाई अघि सार्दै ’दृष्टि–थकान’ (fatigue vision)–को भूमिका पनि थप भएको गहिराइ ओैंल्याएका छन् । अर्थात् , २३९ वर्षे राजतान्त्रिक शासनबाट मुक्त भएर लोकतान्त्रिक शासन–व्यवस्था उपस्थापित त भयो । तर, सो बिन्दु –२०४८ साल)–बाट आजसम्मको ३५/३६ वर्षसम्म पनि उनै तीन नाम–थरि र गोत्रीय अलोकतान्त्रिक शासकलाई मात्र पालैपालो देशको मुखियागिरी गरिरहेको देखिरहनु पर्दा आँखा थाकेकाले पनि नागरिकमा ’परिवर्तन’–को याचना बढेको हो भन्ने यो श्लील विश्लेषणको अभिप्राय हो तापनि यसको गहिराई अतल छ ।
प्रजातन्त्रोत्तर यस देशमा सत्रौं शताब्दीको सामन्तहरूका प्रतिकृति स्वरूप पालैपालो देशका सम्पूर्ण अवयवमाथि बलात् थिचोमिचो गर्दै आएका तीन भिन्न दलका नेता र तिनका अधीनस्त राजनीति नामे स्वेच्छाचारी चलखेलकालमा स्वार्थपूर्तिका लागि जुट्ने र स्वार्थपूर्तिकै लागि फुट्ने कचिंगल, झगडा, रगडघसको खेलो चल्दै आएको त छर्लङ्गै छँदै थियो  । त्यसो त, अर्काेलाई ’देश जलाउने’ र आफूलाई ’देश बनाउने’ तथा अर्काेलाई ’विदेशी दलाल’ र आफूलाई ’राष्टूवादी’ विशेषणले सिंगार्ने जस्ता निर्लज्ज पक्षभेदी छुल्याइँ–छुच्याइँ–दुर्मुख्याइँ, गेजु, गुल्चे इत्यादि नार्नुमै शासकीय शिविरवासीले आफ्ना अधिकांश दिनचर्या गुजार्दै आएका कहालीलाग्दा स्वरहरू त तरोताजा नै पनि छन् ! यस फाँटमा पनि वाचालजिब्रे खड्ग ओलीको स्थान उत्कर्षमा अदम्य झैं त थियो नै ! आफूले नेपाली कांग्रेसका तत्कालीक मालिक दम्पतीबाट ’राष्टूको कार्यकारी शासक’ बनिपाउने समयको ’अंशबण्डा’ हात पारेपछि कसरी युगाण्डी दादा इदी अमिन झैं क्रूरताले गजधम्मिएका थिए उनी ? ससाना अबोध बाल–बालिका लगायत ७६ जनाको ज्यान–खुन र हजारौं न्यायपेक्षु नेपालीको अंगभंग गरेर आफ्नो देश लुट्ने धन्धा सुरक्षित गरेको कथा, यो कलमले जस्तै, इतिहासले पनि अभिशप्त पन्नामा नराखी अवश्य पनि धर पाउँदैन । उत्ति परको कुरो किन, प्रजातन्त्र, लोकतन्त्र, संघीय गणतन्त्रले भोगेको यति लामो अन्तरालमा सर्बाधिक संख्याको जनमतले धन्य भएका ३५ वर्षीय युवा बालेन साहा –शाह ?)–तर्फ लक्षित ’बतासे अण्डा’–को टुक्के झटारो आफैतिर फर्किरहेको प्रसंग आज पुनरावृत्त भई नै सकेन र ? त्यही अण्डाबाट कोरलिएका सयौं स्वस्थ र सर्वभावेन सामथ्र्य चल्लाहरू संसद भवनतिर गइरहेका दृश्य पनि खड्ग ओलीका ’देख्ने–अन्धो’ आँखाले देख्तैन भने ’नकच्चराको ओखति हुँदैन’ उखानमै चित्त बुझाउनुको के विकल्प छ त ? ’कठै नेपाली राजनीकिको परिवेश !…’ भन्नु आफै निर्विकल्प विकल्प बुझिनुपर्ने हुन्छ ! ती सयौ चल्लाहरूको आजको सल्बलाहट बारे चार–चार पटक प्रधानमन्त्री भएर यस देशमा, रुमानियाइ निकोलाइ चाउचेस्कु शैलीमा, रजगज जमाएको मान्छेको खुराफाती गिदीले अर्काे कस्तो बुट्टे बर्काे ओडाउला ? –त्यो हेर्न निर्दाष नेपाली नागरिकको चासो अब सक्रिय भएका छन् ।
देशलाई आफ्नो बपौति वा किपट–कबिला मानेर ’आफ्नो हुँदो’ गर्दै आएका खड्ग ओली र उनका संगतिया लुटेराहरूले नेपालीका निर्दाेष र पवित्र मन–मुटु र रगत बलिदानबाट उदित ’लोकतन्त्र’–को स्वतन्त्र्य एकलौटी दुरुपयोग गर्दै त्यसलाई व्यवहारमा ’लुटतन्त्र’ (क्लेप्टोक्रेसी)–मा उल्था गरेका अनेकानेक कथा छन् । विशेषतः ओलीका पाउभक्त–दासरूपी पिछेलग्गुहरू त्यस तन्त्रमा कसरी रमाएर बुर्कुसी मार्दै आएका थिए ? ती र त्यस्ता यावत दिनहरूको स्मरणमा लपेटिएर आज निर्दाेष नेपाली जन–मनमा पनि मध्ययुगीन कबिलावासीका पीडाका घाउहरू, ज्ञात–अज्ञात रूपमा, आला बन्छन् ! इतिहासका रोदित–क्रन्दित पानाहरूमा पाइने प्राचीनकालीन अरब, मध्य एशियादि देशमा प्रचलित बाबर, तैमुरलङ, चङगेज खाँ, अब्राहम, इस्रायल, मुसा आदिका कबिलावासी ’मान्छे’–को कलेजोका घाउले नेपालीका सादगी मन–मुटु अरल्लिन्छन् र भन्दा हुन् –’कस्तो समय गुजारेर यो खुल्ला र निर्मल आकाश मुन्तिर आइएछ’ !!… आज यो स्वर्गभन्दा वरेण्य नेपाली भूमिका प्रति निश्छल भक्त नेपाली, त्यसकारण पनि, अपरिमित हर्षाेल्लसित छन् ।
आज देशले डरलाग्दो भासतिर गइरहेको भयंकर दुर्घटनाको सम्भावनाबाट मुक्ति पाएको छ । हरेक वर्गीय तह–तप्काका नेपालीले वर्तमान राज्य–व्यवस्था अन्तर्गत आलोपालो शासक–शिविरमा जम्न पुग्ने नेता–नायक –?)–हरूलाई सुूिने–सच्चिने सल्लाह दिए–दबाव दिए पनि उनीहरूले टेरेनन्, अनेक नकच्चराइँ र थेत्तराइँले पेल्दै सुूिनु–सच्चिनुको सट्टा झन–झन कस्सिँदै गए । यसो हुँदा, तिनलाई ’विश्वास गर्नैपर्ने मानसिकतामा यसपटक अर्थात् ३५ वर्षपछि सुधार गरेर फागुन २१को चुनावमा निर्धक्ङ प्रस्तुत भएका हुन् । र, यसको शुरु प्रकटीकरण थियो जेन–जेड बिद्रोह ! अन्ततः त्यही विद्रोहले तुल्यायो असली, बैध, सभ्य–शिष्ट र रक्तपातहीन जनक्रान्ति । अहिलेको सरकार र त्यसले अभ्यासपटमा आकृत गर्ने, हाल सम्पन्न चुनाव समेत, सबै कार्यक्रमहरूलाई उपर्युक्त क्रान्तिकै निरन्तरता मानिरहँदा यो चुनावले कोरलेको परिणाम पनि जोडिन्छ । सोझो शब्दमा भन्दा –यो परिणाम नेपाली नागरिकको प्रतिरोधी भावनाको अविकृत प्रकटीकरण हो । अघि–अघि पनि देशमा विभिन्न किसिमका जनक्रान्तिहरू भएका थिए । तर, ती क्रान्तिहरू यस बिन्दुसम्म ढलीमलीमा अवतरित हुँदै आएका उदरम्भी तीन दलीय नेता नामे मालिकहरूका दलनमा परेर तिनै दलाहाहरूका परिहासमा दफन भएर गएका रहेछन् । सायद यिनै मानवता रित्तिएका हिंस्रकहरूको नेतृत्वमा जकडिएकाले पनि ती क्रान्तिद्वारा सम्बोधित यथार्थपरक विषयहरू भिमलाएका थिए हुनन् । त्यसैले अहिलेको जन–अनुमोदित क्रान्तिले देशका सारा दुर्गन्धित र विषाक्त सिनुहरू सोहरसहार बडारेर वातावरण चोख्याएको छ । अब फेरि, महाभारत–कथामा पाण्डव–पात्रहरूले उनीहरूका शक्ति–दम्भको समुत्थान खातिर आफ्नी ’साझा पत्नी’ द्रोपदीलाई जूवाको खालमा भले जस्तै देशलाई स्वार्थतृप्तिको बलिवेदीमा घँचेट्नेहरूबाट देशको कुन अंग पो प्रताडित हुन बाँकी थियो र ! अब कुनै परिस्थितिमा पनि त्यसो हुन नदिने बाचा व्यवहाराकृत हुनसक्नु पर्दछ । ’नेपाल’ राष्टू ’नेपाली जनगण’–को हो र यसमा फेरि कुनै किसिमबाट कुनै हृदयहीनले निर्मम ढङ्गले यसलाई नेपालीबाट थुत्ने–खोस्ने अनि एकाधिपत्य जमाएर भोग्ने वातावरण, जो भोगियो, अब भोग्न नपरोस् । यही भावले आवर्तित–परावर्तित चेतना यस चुनावी जनमतको आभ्यन्तरिक आग्रह हो । यो पवित्र र सुकोमल जन–आग्रहले अबको ’समय’–लाई इमानका साथ आप्लावित राखेर अर्काे दुर्घटनामा नपारियोस् ! नवोदित नेता–नायकहरू होशियार हुनै पर्दछ ! जनगणले चाहेका खण्डमा के गर्न नसक्तो रहेछ ? खबरदार ! चेतना भया !…
फेरि गुण्डुबाट रिट्ठे–भोगटेहरू जस्ता काइटे–कन्दनेले लुटको धन खर्चेर किन्ने र उराल्ने कृत्रिम बाघे गर्जनद्वारा आफ्ना मौलिक ’कायर स्याल–हुइयाँ’–लाई ढाकछोप गर्ने मौका पाउनु हुँदैन । तिनका कीर्ते गर्जन सुन्दा–सुन्दा थाकेका–पाकेका कान बल्झिने हावा देशको कुनै कुनामा कतै पनि नचलोस् । फेरि ती भयप्रभावी अनुहारहरू र तिनका बुख्याँचाहरूले यो बुद्धभूमिमा आदिकालदेखि अभीप्सित शान्ति र सहिष्णुतालाई खलल पार्ने र लछार्ने–पछार्ने मौका जन्मिँदै नजन्मिने निश्चितता सदा बहाल रहोस् । अतः यो बिन्दुसम्म हिजोका पीडादायी सम्झनाको आहत र आजको आशा–भरोसा आवेष्टित उल्लासमा यति नै भन्ने हो । भोलि के हुन्छ त्यो आजै भन्न सकिँदैन । त्यसैले, बस् आजलाई यति नै ।…
+++++

Author

You may also like