देश–समाज समाचार सुरक्षा स्थानीय

झापा–५ मा तीनै सुरक्षा निकायको ‘संयुक्त गस्ती’ सुरु

झापा/ फागुन २१ गते हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न झापा क्षेत्र नम्बर ५ मा एकीकृत सुरक्षा योजना अन्तर्गत ‘संयुक्त गस्ती’ सुरु गरिएको छ ।
आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा गस्ती थालेका हुन् ।
निर्वाचनको समयमा कुनै अप्रिय घटना नघटोस्, सुरक्षा व्यवस्थामा आँच नआओस् र कुनै पनि किसिमका आपराधिक क्रियाकलाप हुन नपाओस् भन्ने उद्देश्यले विशेष सुरक्षा टोली परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्र बहादुर खड्काका अनुसार सुरक्षा संवेदनशीलताका आधारमा संख्या निर्धारण गरी विभिन्न क्षेत्रमा गस्ती भइरहेको छ । “निर्वाचन सुरक्षामा कुनै आँच आउन नदिन र मतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन हामीले एकीकृत सुरक्षा योजना लागू गरेका छौँ,” डीएसपी खड्काले भने, “आवश्यकता अनुसार सुरक्षाकर्मीको टोली बनाएर विभिन्न ठाउँमा नियमित गस्ती भइरहेको छ ।”
नर्वाचनको मिति नजिकिँदै गर्दा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै झापाका संवेदनशील क्षेत्रहरूमा निगरानी बढाइएको छ । तीनवटै सुरक्षा निकायको समन्वयमा सुरु भएको यो गस्तीले सम्भावित उच्छृङ्खल गतिविधि रोक्न र आम नागरिकलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन सहयोग पुग्ने विश्वास लिइएको छ ।

Author

You may also like