:– गोपाल झापाली —:
दमक/ आगामी फागुन २१ लाई तय भएको प्रतिनिधीसभा सदस्य चुनावको मिति नजिकिँदै जाँदा अहिले देशनै निर्वाचनमय भएको छ । चुनावी प्रचारका लागि उम्मेद्वार र राजनीतिक दलहरु घर घरमा पुगि रहेका छन् । चुनावी सभा, कोणसभा, जुलुश र ¥यालीहरु सर्वत्र देखिन थालेको छ । चुनावी प्रचारमा सर्वसाधारणको ध्यान खिच्न अनेकै चुनावी गीतहरु पनि घन्कि रहेका छन् । सामाजिक सञ्जालमा पनि उसैगरि चुनावी गीतका भिडीयोहरु छाएका छन् ।
अघिल्ला निर्वाचनहरुमा विभिन्न दल तथा उम्मेद्वारका लागि चुनावी गीत बनाएका संगीतकर्मीहरु यस वर्ष कुनै चुनावी गीत नबनाएको बताउँछन् । तर बजारमा अनेक लय र स्वरका गीतहरु घन्किई रहको छन् । चाहेको उम्मेद्वार तथा व्यक्तिको नाम, विवरण, विशेषता लगायत आफुले चाहेका विवरण राखेर विना खर्च गीत तयार हुने भए पछि धेरैले यो सस्तो र छिटो माध्यम रोजेको पाईएको छ । अघिल्ला निर्वाचनमा विभिन्न दल र उम्मेद्वारको चुनावी गीत बनाएकी संगीतकार कमला खनाल यस वर्ष कुनै पनि चुनावी गीत नबनाएको बताउँछिन् । उनले भनिन्,–‘यस वर्ष केहिले बनाउने त भन्नु भएको थियो तर समय लगायतका विभिन्न कारणले बनाईएन ।’ उनले संगीत भरेका कयौ गीत लोकप्रिय छन् । उनी व्यवसायीक संगीतकर्मी हुन् । उनीहरु दम्पत्ती र सन्ताननै संगीत क्षेत्रमा क्रियाशिल छन् । व्यस्त संगीत प्रशिक्षक रहेकी उनले समयका कारण पनि कतिपय काम गर्न नभ्याएको बताईन् । तर प्रविधिका माध्यमबाट छिटो र न्युन खर्चमा चाहेका गीत तयार हुन थालेका कारण पनि कृतिम गीतहरुको उपयोग बढेको हुन सक्ने उनको भनाई छ ।
‘डिजिटल्ली’ र ‘फिजिकल्ली’ रुपमानै प्रयोग भई रहेका कतिपय गीतको वास्तविक सर्जक को हो ? धेरैलाई थाहनै हुँदैन । कुनै पुराना चर्चित गीतका प्यारोडीका रुपमा घन्किएका सुनिन्छ भने कुनै कहिल्यै नसुनिएका आवाजहरुमा कार्यकर्ताहरु नाचगान गरि रहेका भेटिन्छन् । खास सर्जक बिनानै सर्वसुलभ रुपमा बनाईएका यस्तै धेरै गीतहरु कृतिम वौदिद्धकता अर्थात ‘एआई’बाट सिर्जना गरिएका पाईन्छ । झापा दमककै अर्का पुराना गायक शिव नेपालले पनि यस वर्ष कुनै चुनावी गीत गाएका छैनन् । उनले भने, ‘कोहि चुनावी गीत बनाईदिनु पर्यो भन्दै आएका पनि छैनन् र मैले पनि गाएको छैन ।’ तर प्रविधिबाट तयार पारिएका गीत भने कागजका फूल सरह भएको उनको टिप्पणी छ । हेर्दा उस्तै देखिने भए पनि वास्ना र वास्तविक सुवाश विनाका गीत केहि दिन चले पनि यसको आयु नहुने उनले बताए । ‘चुनावमा केहि दिन बजाउने गीत हो भनेर मान्छेले एआईबाट पनि बनाउन थाले’ उनले भने, ‘तर सिर्जनशिल रुपमा लामो समय रहने कृतिको रुपमा तयार गर्ने हो भने वास्तविक रुपमा लेख्नु, संगीत भर्नु र गाउन जरुरी छ । कृतिमता र सिर्जनशिलताको उपजको तुलनानै हुन सक्दैन ।’
स्टुडीयो पनि सुनसान
अघिल्ला निर्वाचनहरुमा चुनावी गीतहरु तयार पार्न स्थानीय रेकर्डीङ् स्टुडीयोहरुमा दल र उम्मेद्वारहरुले पालो पाउनै हम्ये थियो । अग्रिम रुपमा समय निर्धारण गरेर मात्रै पालो पाईन्थ्यो । यस पटक भने अवस्था त्यस्तो छैन । दमक स्थित काव्या रेकर्डस्का सञ्चालक अशोक थापाले यो चुनावमा २,३ मात्र चुनाव लक्षित गीत बनेको बताए । अघिल्ला संसदीय निर्वाचनमा यस्तो संख्या ४,५ गुणा बढि हुने गरेको थियो । स्थानीय निर्वाचनको समयमा त दर्जनौ बन्थे । उनले भने, ‘स्थानीय चुनावमा त गीत रेकर्डका लागि समय मिलाउन पनि गाह्रो थियो तर यो चुनावमा त खै के भएको हो, २,३ ओटा मात्र गीत रेकर्ड भएका छन् ।’ उनी आँफै पनि संगीतकार हुन् ।
सामाजिक सञ्जाल र चुनावी कार्यक्रमहरुमा एआई सिर्जित गीतहरु उनले पनि सुनेका छन् । उनले थपे, ‘सायद मान्छेहरु एआई तिर भुलिएर हो कि, वास्तविक गीत निकाल्नेको संख्या ज्यादै थोरै भयो यो साल ।’ सस्तो, सजिलो र छिटोका लागि एआईको प्रयोग हुने गरेको भए पनि यसले कृतित्व कायम नगर्ने संगीतकर्मीहरुको भनाई छ । गायक कुमार दवाडी एआईले कसैको रहर पूरा गरि दिने भए पनि यस्ता गीत कृतिको रुपमा कायम नहुने बताउँछन् । केहि दिनको चुनावी प्रचार वा रमाईलोको लागि गीतहरु बन्ने गरेको भए पनि यसले वास्तविक संगीतको मुल्य नघटाउने उनको ठम्याई छ । एआई संगीत उत्पादनका लागि शक्तिशाली सहायक भए पनि यसले कलाका लागि अत्यावश्यक मानिने मानवीय आत्मा, भावना र सिर्जनशिलतालाई कहिल्यै पनि प्रतिष्थापन गर्न हुँदैन भन्नेमा उनी दृढ छन् । संगीत उद्योगमा प्राविधिक प्रगतीलाई स्विकार गर्दै सांगितक अभिव्यक्तिको अपरीहार्य भावनीय तत्वलाई जोगाउनु पर्नेमा भने उनको जोड छ ।