दमक/ नेपाली कांग्रेस भित्रको अन्तरकलह फेरि चुलिएको छ । विशेष महाधिवेशन गर्ने महामन्त्रीहरु लगायतको अडान र टसमस् नभएको संस्थापन पक्षका कारण विवाद छताछुल्ल भएको हो ।
फागुनको प्रतिनिधिसभा निर्वाचन अगावै विशेष महाधिवेशन गराउनुपर्ने भन्दै त्यसको तयारीमा समेत महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लागेका छन् । तर त्यसप्रति कार्यबाहक दिएर पनि क्रियाशिल नै देखिएका सभापति शेरबहादुर देउवा सकारात्मक छैनन् । यसै क्रममा विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको छ । विशेष महाधिवेशन पक्षधर नेताहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो माग गरेका हुन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्री द्वय थापा र शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीमा छन् । त्यसका लागि काठमाडौंको भृकुटीमण्डपको हल बुक पनि गरिसकेको नेताहरुले बताएका छन् । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा अहिलेकै नीति र नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने भन्दै उनीहरुले विशेष महाधिवेशनको माग गर्दै आएका छन् । पत्रकार सम्मेलनमा नेता देवराज चालिसेले नियमित महाधिवेशन हुन नसकेकाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताए ।
शुक्रबारनै केहि नेताहरुले सभापति शेरबहादुर देउवालाई भेटेर अहिलेको विवाद समाधानका लागि ध्यानाकर्षण गराएका छन् । सो भेटमा सभापति देउवाले पनि पार्टी विभाजन नहोस् भन्ने आफूले चाहेको बताएका छन् । केन्द्रीय कार्यसमिति चलिरहँदा निर्वाचन अगावै नियमित महाधिवेशन हुनुपर्ने भन्दै दबाब दिएको समूह शुक्रबार बिहान सभापति देउवासँग महाराजगञ्ज स्थित निवास पुगेको थियो ।
पार्टीकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानबारे सभापति देउवासँग आफूहरूले छलफल गरेको जानकारी दिइन् । उनले सभापति देउवासँग आफूहरूले पार्टीलाई निकास दिन र विभाजनमा जान नदिनका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको पनि बताइन् । १६ पुस (बुधबार) का लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्री द्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गरेर नियमित अधिवेशन स्थगन गरेका छन् । उनीहरूले केही दिनभित्रै २७ पुसका लागि विशेष महाधिवेशन घोषणाको तयारीसमेत गरेका छन् ।
पार्टी बिभाजन गर्दैनौं ः गगन–विश्व
नेपाली कांग्रेसका महामन्त्री द्वय थापा र शर्माले पार्टी विभाजन हुने गरी आफूहरूले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि नबढ्ने बताएका छन् । शुक्रबार बिहान आफूहरूलाई भेट्न पुगेका केन्द्रीय सदस्यहरूसँग उनीहरूले आफूहरूको चाहना पनि पार्टी एक रहोस् भन्ने रहेको बताएका हुन् । केन्द्रीय सदस्यहरू आङ्गेलु शेर्पा, पुष्पा भुसाल, डा. डिला संग्रौला, उदयशमशेर राणा, राजेन्द्र केसी सहितले शुक्रबार बिहान महाराजगन्जस्थित एक होटलमा महामन्त्रीद्वय थापा र शर्मालाई भेटेका थिए । त्यो भेटमा सहभागी केन्द्रीय सदस्य शेर्पाले महामन्त्रीहरूले पार्टी विभाजन हुने गरी नयाँ नेतृत्व चयन गरेर अगाडि बढ्ने तयारीमा आफूहरू नरहेको बताएको जानकारी दिए । भेटमा केन्द्रीय सदस्यहरूसँग महामन्त्री थापाले पार्टी नेतृत्व र संस्थापनले आफूहरूसँग समन्वय नगरी आफ्नो गुटमा छलफल गरेर त्यसैका आधारमा निर्णय गर्ने गरेको गुनासो गरेका थिए ।
औचित्य छैन ः निधी
कांग्रेस नेता विमलेन्द्र निधिले विषेश महाधिवेशनको औचित्य समाप्त भइसकेकाले महामन्त्रीले बोलाएको भेलाको कुनै अर्थ नभएको बताएका छन् । मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सर्वसम्मतिबाट नियमित कार्यतालिका पास भएपछि विशेष महाधिवेशनको औचित्य त्यसै समाप्त भएको उनले बताए । सबै दल निर्वाचनमा होमिइसकेकाले निर्वाचनअगाडि विशेष वा नियमित महाधिवेशन हुन नसक्ने पनि उनको भनाइ छ । महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन गैरजिम्मेवारपूर्ण काम भएको उनको प्रतिक्रिया छ ।