एकसातामा ३० को मृत्यु, सात पालिकामा निषेधाज्ञा
दमक/ कोरोना महामारीको जोखिम बढेको भन्दै सो क्रम रोक्न झापाका ७ वटा पालिकाहरुमा निषेधाज्ञा लगाइएको छ । कोरोना महमारीको रोकथाम तथा नियन्त्रणका लागि झापाको मेचीनगर नगरपालिकामा पनि यही साउन १३ गते अर्थात् बुधबार मध्यराति देखि साउन १९ गतेसम्मका लागि सिल गर्ने निर्णय गरिएको छ ।
मेचीनगर स्तरीय कोभिड १९ रोकथाम नियन्त्रण व्यवस्थापन समितिको बैठकले कोरोनाको संक्रमण र मृत्युदर बढ्दै गएपछि नगरक्षेत्रलाई सात दिनका लागि सिल गर्न कार्यपालिकालाई सिफारिस गरेको हो । समितिको सिफारिसका आधारमा मंगलबार मध्यान्ह बसेको कार्यपालिका बैठकले साउन १३ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते अर्थात् बुधबार मध्यरातको १२ बजेसम्म सिल गर्ने निर्णय गरेको निमित्त मेचीनगर प्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।
मेचीनगरले आयोजना गरेको पत्रकार सम्मेलनमा निमित्त प्रमुख उप्रेतीले बन्दाबन्दीको अवधिमा अस्पताल, स्वास्थ्य चौकी, केन्द्र, एम्बुलेन्स, बारुणयन्त्र, सेवाबाट प्रदान हुने सेवा, औषधि पसल, खोप सेवा, फोहोरमैला संकलन तथा व्यवस्थापन, विद्युत, टेलिफोन, खानेपानी इन्टरनेट सेवा प्रदायक संस्थाका अत्यावश्यक कार्यहरु २४ सै घण्टा खुला रहने, दुध अण्डा, फलफूल, तरकारीका पसलमात्र विहान ६ देखि ८ बजे २ घण्टासम्म खुला रहने जानकारी दिए ।
बैठकले बन्दाबन्दीको अनुमोदनका लागि जिल्ला प्रशासन कार्यालय झापालाई अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ । बैठकले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, नेपाल सरकारले संचालन गर्नका निम्ति तोकेका बाहेकका सबै सवारी साधन पूर्ण रुपमा बन्द गर्ने गराउने, सरकारद्वारा तोकिएको सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, हाटबजार, मेला, जात्रा, महोत्सव पार्टी भोज लगायत भीडभाडमा हुने सबै खाले कार्य गर्न नगराउन समेत सबैमा नगरपालिकाले आग्रह गरेको छ ।
फ्रन्टलाइन कर्मचारीको हकमा परिचय पत्र साथै बोकी आवतजावत गर्न, कक्षा ११ को पूर्वानिर्धारित परीक्षा कार्यक्रम स्वास्थ्य सुरक्षा मापदण्ड तथा सामाजिक दूरी कायम गरी संचालन गर्न, होटल, बैंक तथा सबैखाले वित्तीय संस्थाहरु पूर्णरुपमा बन्द गर्न गराउने, उद्योग, कलकारखाना संचालन सम्बन्धमा आवश्यक जनशक्तिहरुलाई उद्योग परिसर भित्रै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी संचालन गर्ने गराउने समेतको निर्णय कार्यपालिकाको बैठकले गरेको छ ।
पत्रकार सम्मेलनमा मेचीनगर वडा नम्बर ४ का वडाध्यक्ष तथा कोभिड संक्रमण नियन्त्रण कार्यदल संयोजक नवीन बराल, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक विकास राई, सशस्त्र प्रहरी बल नेपाल बीओपी काँकडभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई लगायतको सहभागिता रहेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए । यसअघि झापाको दमक, विर्तामोड, कनकाई, बुद्धशान्ति र शिवसताक्षी नगरपालिकाले आ–आफ्नो क्षेत्र सिल गर्ने निर्णय गरिसकेका छन् । आज बुधबारदेखि कमल गाउँपालिकामा पनि लकडाउन गरिएको छ ।
कोरोना संक्रमणको अवस्था
कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । केही दिनयताको तथ्यांक हेर्दा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या पनि बढेको देखिएको छ ।
बुधबार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए । यसअघि मंगलबार देशभर ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् । यस्तै बुधबार १९९३ जना डिस्चार्ज भएका छन् । बुधबार ३३ जनाको मृत्यु भएको छ भने जम्मा १५ हजार ८०८ जनाको नमुना परीक्षण भएको छ ।
एकसातामा ३० को मृत्यु
यता जिल्ला स्वास्थ्य कार्यालय झापाको कोरोना तथ्यांकअनुसार पछिल्लो एक साता संक्रमणदर ह्वातै बढेको देखिन्छ । तथ्यांकअनुसार शनिबार २३३, शुक्रबार ३६१, बिहीबार ३०६, बुधवार २५२, मंगलबार १८३, सोमबार ३१९, आइतबार ११३ जना संक्रमित थपिएका थिए । सात दिनको अन्तरालमा ३० जनाको संक्रमणबाट मृत्यु भएको छ । झापामा शनिबारसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । कूल संक्रमितको संख्या २० हजार ४९२ पुगेको छ । त्यसमध्ये १४ हजार ५८१ जना डिस्चार्ज भएका छन् । जिल्लामा २७९२ जना सक्रिय संक्रमित रहेका छन् ।