—: नरेन रिजाल :—
सिकेर, सुनेर, देखेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैद्धान्तिक तथा व्यवहारिक विषयको बोध शिक्षा हो भने शिक्षा लिने वा पढ्ने व्यक्ति शिक्षार्थी वा विद्यार्थी हुन् । व्यस्तै जसले औपचारिक वा अनौपचारिक रुपमा सैद्धान्तिक वा ब्यवहारिक ज्ञान तथा शिक्षा दिन्छ ऊ शिक्षक हो । समाजमा सामाजिक मुल्य मान्यताका आधारमा आफ्ना बालबच्चालाई सामाजिकिरण गर्ने र समाजप्रति उत्तरदायी हुन सिकाउने प्रथम गुरु बाबुआमा हुन् भने घर पहिलो पाठशाला हो। घरायसी वालवरणमा बालवालिका घुलमिल हुन्छन् । शब्द, वाक्य, संस्कार, शिष्यचार सिक्छन् । मान्यजनले बोलेका शब्द, वाक्य अज्ञानतावस उनीहरुको सुषुप्त मस्तिष्कमा भण्डारण हुन्छ । त्यसकारण घरमा बाबुआमा वा ठूला मानिने सदस्यहरूले आफ्ना बच्चाबच्चीका अगाडि बोलिने शब्द वा गरिने व्यवहारलाई ख्याल गरेर मात्र प्रयोग गर्नु जरुरी हुन्छ । बच्चाबच्चीको मस्तिष्क तीक्ष्ण हुने भएका कारण ठूला मान्यजनहरुले बोलेका वा गरेका कुराहरू उनीहरूले सजिलै नक्कल गर्न सक्छन् ।
पहिलो घर वा विद्यालयबाट विस्तारै बच्चा दोस्रो घर वा विद्यालयमा प्रवेश गर्छ । विद्यालय ठूलो क्षेत्र हो, जहाँ धेरै संस्कार, मुल्य मान्यता, रहन सहन, परिवेश, रितिस्थिती, भाषा, धर्म, लिंग वर्ग, समुदाय आदी समेटिएको हुन्छ । त्यसैले एउटा परिवेशबाट अर्को परिवेशमा समायोजन हुन समय लाग्छ । यसरी समायोजन हुने क्रममा घरमा सिकेका, सुनेका, अनुभव गरेका कुराहरु बच्चाले आफ्ना साथीहरुलाई सुनाउने वा भन्ने गर्दछन् । अबोध मस्तिष्कले ब्यक्त गर्दछन् । बच्चाको पढ्ने सिक्ने वा कोशिस गर्ने बानीको विकास पनि घरको वातावरणले गर्दछ । घरमा अभिभावक शिक्षित हुनुहुन्छ, बच्चालाई समय दिनुहुन्छ भने कुनै पनि बच्चा पढ्न लेख्न इच्छा गर्छ । त्यसको विपरित अभिभावक घरमा झगडा गर्नुहुन्छ, बच्चालाई गाली गलौज, अपशब्द प्रयोग गर्नुहुन्छ वा कुनै लतमा हुनुहुन्छ र आफ्नो बच्चालाई वास्ता गर्नुहुन्न भने बच्चाको पढ्ने लेख्ने बानीको विकास हुदैन र सिकाई कमजोर भएर जान्छ । त्यसैले तपाईको हातमा बच्चाको भविष्य हुन्छ ।
अब प्रश्न उठ्न सक्छ । विद्यालय र शिक्षकले के गर्छन् त ? विद्यालय घर हो । मन्दिर हो। विद्यालय र शिक्षकको नजरमा सबै जात, धर्म, लिंग, वर्ण, समुदाय आदीका वालवच्चा समान हुन् । विभिन्न वातावरणबाट आएका बालबालिकालाई उनिहरुको अवस्थिति र मनोविज्ञान केलाएर अभ्यासमा लैजान समय अवश्य लाग्छ । घरायसी वातावरणबाट विद्यालयको वातावरणमा समायोजन हुन समय लाग्छ । शिक्षक शिक्षिकाहरुले जादू प्रयोग गर्ने हैनन् । उनीहरु यहि समाजका सदस्य हुन् । विद्यालयका अभिभावक हुन् । घरमा एउटा वा दुईवटा बच्चाहरुलाई बाबुआमाले स्याहार सुसार गर्न समय पुग्दैन । फुर्सद हुँदैन । विद्यालय पठाएका छौ । विद्यालयमा राम्रो गरिहाल्छन् भन्ने परिपाटी धेरैको हुन्छ । तर अभिभावक ज्यूहरु माफ गर्नुहोला । त्यसो हैन । तपाईहरुको भुमिका र दायित्व धेरै ठूलो छ र हुनुपर्छ । कक्षा कोठामा एउटा वा दुईवटा शिक्षक शिक्षिकाले ठूलो संख्यामा भएका बालबालिकाहरूलाई निगरानी गर्नु पर्ने हुन्छ । उनीहरुलाई शिक्षाको मूल धारमा ल्याउन उनीहरुको घरायसी वातावरण, सामाजिक परिवेश र मनोविज्ञानको अध्ययन गरेर सिकाईलाई जोड दिनुपर्दछ । यसमा सबै शिक्षक शिक्षिका संघर्षरत हुन्छन् । भनिन्छ, सबै शिक्षितहरू शिक्षक बन्न सक्दैनन् तर सबै शिक्षकहरू शिक्षित हुन्छन् । गिलो माटोलाई कस्तो स्वरूप दिने हो, कुमालेलाई थाहा भए जस्तै शिक्षकहरुलाई थाहा हुन्छ आफ्नो विद्यार्थीलाई कस्तो स्वरूप दिनु पर्छ, भनेर । एक हातले ताली बजाउन सकिदैन, त्यसकारण घर परिवारको सहयोग विद्यालयलाई आवश्यक हुन्छ । विद्यार्थीहरु पढाईमा किन कमजोर हुन्छन् ? सबैको चाहना एउटै हुन्छ । मेरो बच्चा प्रथम बनोस्, अब्बल बनोस् । जन्मका आधारमा बच्चा समान हुन्छन् तर बढ्दै जाँदा स्वभाव फरक देखिन्छ । वंशाणुगत कारणले पनि ठूलो भूमिका खेलेको हुन्छ । अझ त्यसमा घरायसी, सामाजिक वातावरणको प्रभाव पर्छ नै । संस्कार, आचरण, नैतिकता, अनुशासन, सभ्यता आदीको प्रभाव ठूलो हुन्छ । तिनै कुराहरूमा प्रतिकूलता भयो भने बालबालिका पढ्नमा भन्दा अन्य कुराहरूमा बढि ध्यान दिने हुन्छन् । अझ सामाजिक सञ्जालको बढ्दो प्रयोगले संसारलाई भूमण्डलिकरण गरेको छ । यसका बेफाइदा भन्दा फाइदाहरू बढि छन र होलान् तर गलत प्रयोगका कारण हरेक समाजका ब्यक्ति कुलतको शिकार बन्दै गएका छन् । जन्मेको केहि समय नपुग्दै मोवाइल, टिभी बजाएर बच्चालाई भुलाउने खालका कार्यक्रमहरू बजाइदिने वा भुलाई दिने भएका कारण ठूला भएपछि पनि त्यसमा लत बस्न पुग्छ । बढ्दो उमेर सँगसँगै उनीहरूमा नकारात्मक प्रभाव पर्न थाल्छ । विभिन भिडियो गेम खेल्ने, अरुको नक्कल गर्ने, अश्लिल चित्र हेर्ने टिभी, फिल्म आदीमा रमाउने, साथै युवा वर्गहरूमा चुरोट, ड्रग्स आदीको प्रयोग गर्ने प्रथा बढेको छ । यसले एकातिर शारिरीक कमजोर बनाउँछ भने अर्को तिर मानसिक तनाबका कारण एकोहोरो हुने समस्याहरु आउन सक्छ । दोस्रो कुरा आहारले पनि मानसिक स्थितिलाई कमजोर बनाउँछ । त्यसैले खानेकुराहरूमा प्याकेजिङ गरिएका अस्वस्थकर जङ्कफुडहरूलाई बन्द गर्नु जरूरी हुन्छ । तेस्रो कुरा विद्यार्थीहरुमा पुस्तक पढ्ने अभ्यास छैन जसले उनीहरुलाई दिनानुदिन दिनानुदिन अपरिपक्क र शब्द चयनमा समस्या देखिन्छ । भन्न खोजेको कुरा र लेख्न खोजेको वाक्य पूर्ण नहुनु पनि अभ्यासमा कमि हुनु हो । धेरै जसो अभिभावकहरु आफ्ना बालबच्चाको पढाई प्रति भन्दा आफ्नो पेशा, ब्यवसाय प्रति बढि दत्तचित्त भएका कारण पनि बच्चाको राम्रो प्रतिफल नदेखिएको हुन सक्छ ।
सुधार कसरी गर्ने त ? रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु उत्तम मानिन्छ । मेरो विचारमा लत लागि सके छुटाउनु भन्दा लत बस्न नदिनु राम्रो जस्तो लाग्छ । जसका लागि सबै अभिभावकहरूले सानै उमेरबाट नै बच्चालाई घरायसी व्यवहार (बोली चाली) राम्रो गर्नु, नैतिक शिक्षाको ज्ञान दिनु, खानपानमा ध्यान दिनु, सानै देखि आफ्ना बच्चालाई आफै बसेर पढ्न, लेख्न बारम्बार अभिपे्ररित गर्नु, अभ्यास गराउनु, झर्केर रिसाएर नबोल्नु, समय अनुसार उनीहरूमा आउने मानसिक, शारिरीक, व्यवहारिक समस्या वा परिवर्तनका बारेमा सरल तरिकाले बुझाइदिनु आदी कार्य गर्न सकियो भने बच्चामा सकारात्मक सोच आउन सक्छ ।
विद्यालयका तर्फबाट पनि विद्यार्थीका हरेक गतिविधीलाई मनोवैज्ञानिक रूपमा अध्ययन गरेर मनोवैज्ञानिक तरिकाले नराम्रो पक्षलाई समाधान गरिदिने र राम्रा पक्षहरुलाई धेरै हौसला, प्रेरणा दिदै आवश्यक सहयोग र सुझाव दिनु राम्रो हुन्छ । अनावश्यक रुपमा विद्यार्थीहरूलाई तनाव दिने, गृहकार्यमा समस्या गराउने, अनावश्यक दण्ड दिने भन्दा पनि सिकाईमा जोड दिनु आवश्यक हुन्छ । यसरी विद्यालय, अभिभावक र विद्यार्थी तीन पक्षको सहज समन्वयले मात्र बालबालिकाको भविश्य उज्वल बन्न सक्छ र राष्ट्रले सच्चा जनशक्ति प्राप्त गर्न सक्छ । दमक झापा ।

Author

You may also like