विराटनगर/ जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीले क्षति भएका सार्वजनिक सम्पत्तिको प्रारम्भिक विवरण आउन थालेको छ । कोशी प्रदेश सरकारले आफ्नो मातहतका कार्यालय भवन, सवारीसाधन, कम्प्युटर, फर्निचर लगायत सामान जलेर नष्ट हुँदा करिब डेढ अर्ब रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । यद्यपि यसको यकिन विवरण अझै सार्वजनिक भएको छैन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता तथा सचिव एकदेव अधिकारीले दिएको प्रारम्भिक तथ्यांक अनुसार प्रदेश अन्तर्गतका १८ वटा भवन पूर्णरुपमा नष्ट भएका छन् भने २४ वटामा आंशिक क्षति पुगेको छ । यस्तै चारपाङ्ग्रे सवारीसाधन ६४ वटा जलाइएको छ भने १२ वटा क्षतिग्रस्त बनेका छन् । दुईपाङ्ग्रे सवारीसाधन १४४ वटा जलाइँदा १७ वटा क्षतिग्रस्त बनाइएको तथ्यांकमा उल्लेख छ ।
जसमा मुख्यमन्त्री कार्यालयको चारवटा भवन, १९ वटा सवारीसाधन, पर्यटन वन तथा वातावरण मन्त्रालयको ५ वटा भवन र २९ वटा सवारीसाधन, प्रदेश लगानी प्राधिकरणको १ वटा सवारीसाधन, खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालयको १४ वटा सवारीसाधन, उद्योग कृषि तथा सहकारी मन्त्रालयको ३८ वटा सवारीसाधन क्षति भएका छन् ।
यस्तै प्रदेशसभा सचिवालयको ४ वटा भवन र २१ वटा सवारीसाधन, प्रदेश योजना आयोगको ५ वटा सवारीसाधन, आर्थिक मामिला तथा योजना मन्त्रालयको १ वटा भवन र ११ वटा सवारी साधन, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको २ वटा भवन र २८ वटा सवारी साधन, सामाजिक विकास मन्त्रालयको २ वटा भवन र २ वटा सवारीसाधन, भौतिक पूर्वाधार विकास मन्त्रालयको ३१ वटा सवारीसाधन र स्वास्थ्य मन्त्रालयको १० वटा सवारी साधन पूर्णरुपमा नष्ट भएको छ ।
प्रवक्ता अधिकारीले सम्पत्तिको मूल्यांकन हुन भने बाँकी छ । कानुनअनुसार क्षतिको मूल्यांकन गरेपछि कति मूल्य बराबरको सम्पत्ति नष्ट भयो भन्ने विषयमा जानकारी हुने उनले बताए । यद्यपि मुख्यमन्त्री कार्यालय स्रोतले झण्डै डेढ अर्ब बराबरको सम्पत्ति नष्ट भएको हुनसक्ने अनुमान रहेको एक कर्मचारीले बताए ।
प्रदेश प्रहरीका ५७ वटा
भवनमा क्षति
यसैबिच, आन्दोलनका क्रममा सुरक्षामा खटिएको प्रहरीले नै ठूलो क्षति व्यहोर्नुपरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार प्रदर्शनकारीहरूले ५७ वटा प्रहरी भवन र ८४ वटा सवारीसाधनमा तोडफोड र आगजनी गरेका छन् । एक सयभन्दा बढी प्रहरी घाइते भएका छन् ।
एसएसपी पोखरेलका अनुसार क्षति भएका ५७ वटा प्रहरी भवनमध्ये २४ वटा भवन पूर्णरूपमा क्षति भई काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । ३३ वटा भवनमा आंशिक क्षति पुगेको छ । यी भवनहरूमा तोडफोड, आगजनी वा दुवै तरिकाले क्षति पु¥याइएको पोखरेलले बताए । इटहरीको प्रदेश ट्राफिक प्रहरी कार्यालय पूर्णरूपमा क्षति भएको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरमा आंशिक क्षति पुगेको छ ।
यसैगरी, प्रदर्शनका क्रममा प्रहरीका ८४ वटा सवारीसाधनमा क्षति पुगेको छ । जसमध्ये ७९ वटा सवारीसाधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । ५ वटामा आंशिक क्षति छ । क्षति भएका सवारी साधनमा ७ वटा हेभी गाडी, १९ वटा साना गाडी, ४७ वटा मोटरसाइकल, ४ वटा साइकल र २ वटा तीनपाङ्ग्रे छन् ।
पोखरेलले प्रहरी कार्यालयको कम्पाउन्डभित्र रहेका प्रहरी कर्मचारीका व्यक्तिगत सवारीसाधन तथा कारबाहीका लागि राखिएका अन्य सवारी साधनमा पनि क्षति पुगेको र त्यसको विवरण संकलन भइरहेको बताए ।
आन्दोलनका क्रममा झडप हुँदा ठुलो संख्यामा सुरक्षाकर्मी र प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीतर्फ कुनै .मानवीय क्षति नभए पनि ११४ जना प्रहरी घाइते भएका छन् । तीमध्ये ५ जना गम्भीर, ५२ जना सामान्य र ५७ जना मध्यम घाइते भएका थिए । गम्भीर घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार भइरहेको तर खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यस्तै प्रदर्शनकारी तथा सर्वसाधारणतर्फ ४६ जना घाइते भएका छन् । जसमध्ये ६ जना गम्भीर, ५ जना मध्यम र ३५ जना सामान्य घाइते रहेको पोखरेलले बताए ।
प्रहरी कार्यालयहरूमा क्षति पुगेपछि सेवाप्रवाहमा गम्भीर असर परेको छ । एसएसपी पोखरेलका अनुसार क्षति भएका युनिटहरूबाट प्रदान गरिने सेवा नजिकका अन्य कार्यालयहरूबाट व्यवस्थापन गरिएको छ । दमकको प्रहरी सेवालाई झिलझिले र गौरादहबाट तथा बिर्तामोडको सेवालाई भद्रपुर र चारआलीबाट सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा क्षतिको मूल्यांकन गर्न एक समिति गठन भएको र त्यसले विस्तृत विवरण संकलन गरिरहेको पोखरेलले जानकारी दिए । प्रदेश सरकारका मन्त्रालयहरूमा भएको क्षतिको विवरण पनि सोही समितिले संकलन गरिरहेको छ ।
१०० बढी कार्यालयमा क्षति, ८ पार्टी कार्यालय जले
आन्दोलनका क्रममा मोरङ जिल्लाभित्र मात्रै एक सयभन्दा बढी सरकारी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय मोरङको तथ्यांक अनुसार मोरङमा रहेका कुल ६३ संघीय कार्यालयमध्ये २१ वटामा क्षति पुगेको छ । त्यसैगरी ३९ वटा प्रदेश कार्यालयमध्ये १४ वटामा क्षति भएको छ ।
जिल्लाका १७ वटा स्थानीय तह (पालिका भवन) मध्ये १० वटामा र १५९ वटा वडा कार्यालयहरुमध्ये ५८ वटामा क्षति पुगेको विवरणमा उल्लेख छ ।
सरकारी कार्यालयबाहेक अन्य निजी तथा संस्थागत संरचनाहरुमा पनि क्षति पुगेको छ । तथ्यांक अनुसार १५ वटा निजी घर, ३ वटा व्यापारिक भवन, ४ वटा अन्य संघसंस्था र ८ वटा राजनीतिक पार्टीका कार्यालयहरुमा क्षति पुगेको छ । संस्थानतर्फ सञ्चयकोषको एउटा भवनमा क्षति भएको जनाइएको छ । यसैगरी, सुरक्षा निकायका संरचना पनि प्रभावित भएका छन् । जनपद प्रहरीका १७ वटा पोस्ट तथा कार्यालय र सशस्त्र प्रहरीका ४ वटा पोस्टमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो क्षतिको प्रारम्भिक विवरण मात्र भएको र क्षतिको पूर्ण मूल्यांकन हुन बाँकी रहेको प्रशासनले जनाएको छ ।
मृत्यु हुनेको संख्या १० पुग्यो
कोशी प्रदेशमा जेनजी आन्दोलनका क्रममा भएको झडप र आगजनीमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । जसमध्ये ५ जनाको सनाखत भएको छ भने अन्य ५ जनाको शवको जिम्मा लिन कोही नआएको प्रहरीले जनाएको छ । हालसम्म झापाको विर्तामोडमा मृत्यु हुने ३ जना र सुनसरीको इटहरीमा मृत्यु हुने २ जनाको सनाखत भएको हो । इटहरीमा मृत्यु हुनेमा इटहरी १६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी १४ का ४० वर्षीय चंखे भनिने मोहन सरदार छन् । यस्तै झापाको विर्तामोडमा २३ गते भएको झडपमा परी मृत्यु हुनेहरुमा अर्जुनधारा ११ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा ८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथर हिलिहाङका ३० वर्षीय कमल भण्डारी छन् ।
भदौ २४ गते धरानको भाटभटेनीमा भएको आगजनीमा परेर मृत्यु भएका ४ जनाको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले बताए । आन्दोलनका क्रममा भाटभटेनी सुपरस्टोरमा आगलागी भएको थियो । सोही क्रममा भित्रै जलेर नचिनिने अवस्थामा गत २७ गते चार जनाको शव भेटिएको थियो । यस्तै विराटनगरको भाटभटेनी सुपरस्टोरमा सोमबार भेटिएको एक शवको पनि पहिचान खुल्न सकेको छैन ।
