देश–समाज विचार/वहस स्थानीय

राजनीतिमा देखिएको निराशाको परिणाम !

आराम
लुटखसौट
अदुरदर्शी
चलखेल
सत्ताको होडबाजी
जनतालाई दास
मैमत्ता
बिदेशी चलखेलको एजेण्ट
भ्रष्टाचार
बेथिति
बिकृति
नातावाद
कृपावाद
नेताहरूको पेवा भएको कारणले गर्दा आज देशको अवस्था दयनीय छ । जताततै – जतासुकै ब्रह्मलुट, लुछाचुडी, भागबण्डा मिलिजुली मिलाउने खाने कारणले गर्दा नेपालमा शान्ति खोज्नुपर्ने अवस्था छ । बिगतदेखि बर्तमान अवस्थासम्म जहाँ हेर्यो त्यहीँ लुटखसौट भइरहेको कारणले गर्दा नेपाली राजनीतिमा बितृष्णानै बितृष्णामात्रै छ । कहिँ शान्ति खोजेर पाउनुपर्ने अवस्थै छैन । “शान्ति” कुन चरीको नाम हो ? कहाँ खोज्दा पाइन्छ ? खोज्ने कसरी ? अब खोजौ कहाँ ? चौतर्फी खोजेर खोजि नसक्ने अवस्था बिद्यमान छ । अब बिगतलाई बिर्सौ भन्दापनि बिर्सने अवस्था छैन, धेरै ठूला – ठूला घटनाहरु नेपालमा घटे । यही आँखाले सशस्त्र जनयुद्ध देख्यो, राजा रजौटाहरुको प्रत्यक्ष साशनसत्ता देख्यो । मानौ हाम्रो पुस्ताले नभोगेको र नदेखेको कुनै ठाउँनै छैन । हामीले त देख्यौ, भोग्यौ तर हिजो भर्खरै जन्मिएको शिशुले समेत बर्तमान अवस्थाका तीता घटना र परिघटनाहरु शिशु आँखाले समेत देख्यो । शान्ति चाहने ती मायालु आँखाले हिजोका दृश्यहरु मोबाइलमा हेर्दा कस्तो कारुणिक लाग्दो हो त्यो बालकलाई । हामी आफै नजरअन्दाज सोझै गर्न सकिन्छ कि हामीलाई गाँस, बास र कपासको ब्यबस्थापन गरिदिने ती देख्दै लाजमर्दो अनुहार हाम्रा नेताको हेर्दा आफैलाई हाउगुजी लाग्न थालेको छ । एउटा ब्यक्ति जो बूढो हुन्जेलसम्म पटकपटक मन्त्री र संसद भएर बर्षौसम्म रहिरहँदा र पार्टीको नेतृत्व नि तिनैले ओगटदासम्म अनि उनीहरूलाई नै हामीले पुज्नुपर्दा सबैभन्दा दोषी हामी हौं, हामीले आफ्नो खुट्टामा आफै बञ्चरो हान्दैछौ दिनप्रतिदिन । हामीलाई नीति होइन, भ्रष्ट नेता चाहियो । सबै राजनीति दलहरुका आ–आफ्नै घोषणापत्रहरु छन, दस्तावेजहरु छन, सबैका राम्रै मात्र छन तर त्यसलाई कुल्चिएर देशमा कमाउतन्त्रमा लागेर देश दोहन गर्नेहरुको हुल बढी भयो, हामी माझ । नेता र तिनका असफल नेतृत्वहरुको हावी भयो आज । जे जसरी भएपनि रकम कमाउ, नातावाद, कृपावादलाई शिरोधार्य गरेर अघि बढनुपर्छ भन्ने बाक्लो भीड हामीसामु उभिएको छ । हामीलाई मादरीले बादर नचाएझै नचाइरहेको छ, हामी बुझ्दैनौ । उनीहरूकै पछिपछि दगुर्दैछौ । हो, आज यही बितृष्णा जनजनमा बढेर बिश्वभर “जेन–जी” हरुको बाक्लो उपस्थिति देखियो । हिजोसम्म नेपालको राजनीति यतिसम्म नराम्रो सन्देश दिएर सबैतिर फैलिएको थियो कि अचम्म यो छ कि कसैले जेन–जीको यो आन्दोलनले यस्तो रुप लेला भन्नेकुरा चिताएकै थिएन । भित्रभित्रै उनीहरूको संजालले देशभर संगठन निर्माण गरेको रहेछ भन्ने प्रमाणित गरेर देखाएको छ । आखिर किन जेन–जी जन्मियो ? के कारणले जन्मेको हो त ? जन्मिनै पर्ने कारण के थियो त ? अब के होला ? भोलि के होला ? भन्ने संशय हामी तमाम नेपालीहरुमाझ छ । नेताहरूलाई त पटक्कै पिर छैन यदी छ नै भने बरु भोका, नाङ्गा, गरिब, किसान, मजदुर, अल्पसंख्यकहरुलाई मात्र छ किनकि उनीहरूमात्र सच्चा देशभक्त नागरिक हुन् जो श्रम गरेर खान्छ, अरुको आशामा बाँच्दैन । नेपाली राजनीतिको वर्तमान हिजोको अवस्था हेर्ने हो भने शान्ति भन्ने खोजेर पाउन सकिने अवस्था नभएकै कारणले चौथो पुस्ता भित्रभित्रै उग्र भएर उठेको रहेछ । यो आन्दोलन अकास्मात एक्कासी फैलियो, झाङ्गियो गत भदौ २३ गते सेप्टेम्बर ८ तारीखका दिन नेपालभर जेन–जीको आन्दोलन । उनीहरूको आन्दोलनको औचित्य के थियो भने – “सामाजिक सन्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको आन्दोलन रेडिट र डिस्कड मार्फत् आन्दोलन, मुलुकमा जेलिदै गएको अनियमितता, नातावाद, कृपावाद, सत्तामा बस्नेहरुले गरेको अनियमितताको अन्त्यको माग सहित जेन–जीले काठमाडौको संसद भवन अगाडि, माइतीघर मण्डला आसपासका क्षेत्र अनि अन्य गरि पोखरा, हेटौंडा, धरान, चितवन, झापा लगायतका देशभरकै मुख्य सहरहरुमा लगायत सरकारी कार्यलय अघि सबैभन्दा ठूलो क्षति पुग्ने गरिको आन्दोलन गर्यो, यसको प्रत्यक्ष र परोक्ष सूचना प्रवाह नेपालका अनलाइन खबरहरुले बारम्बार गर्दै गए । लाखौं युवाहरु संगठीत भएका तथ्य र तथ्याङ्क बाहिरिरहेका थिए । अब मानौ कि युवाहरूको सफल नेतृत्वले भित्रभित्रै कति युवाहरू संगठित गरेको रहेछ भन्ने प्रतित हुन्छ । तर यसको नेतृत्वकर्ता प्रमुख को हो ? कसले गरिरहेको छ ? र कसरी गरिरहेको होला भन्ने बिषयमा देशभर भएका अपुरणिय क्षति भए जसमा सिंहदरबार, संघीय संसद सचिवालय, मन्त्रालय, सर्वोच्च निकाय, राजनीतिक रुपमा पदीय जिम्मेवारीमा रहेर चर्चा कमाएका व्यक्तिका घर लगायत धेरै सम्पदाहरुको क्षति भयो । यसको जिम्मा कसले लिने ? जेन–जीले लिनेकी घुसपैठ गर्नेहरूले लिने हो ? यतिमात्र होइन जेन–जी समूहका नेतृत्व पंक्ति हामी हौ भनेर सुदन गुरुङ, अभियान क्षेत्री लगायतका अन्य धेरै युवाहरुले अग्र पङतिमा अन्तर्वार्ता त दिए तर को चाहिँ यसको नेतृत्व दिने हो भन्ने कुरा स्पष्ट हामीले ठम्याउन सकेनौ । आज उनीहरूको समूह – समूह बिचको हानाहानका कारण असली कुन समूह हो भन्ने प्रश्न गरिरहँदा हिजो उनीहरूलाई साथ दिएर अघि बढ्ने समूहसमेत अलमलमा परेको देखिन्छ । त्यही समूहभित्र उनै गुरुङको समूह आन्दोलनको सफलतापछि बढी चर्चा आयो र गैरजिम्मेवार ढंगका गतिविधिमा संलग्न पनि सोही पंक्ति देखिएको छ । सुशिला कार्कीको नेतृत्वको सरकार बनेको केही दिनमै त्यो समूहले राजीनामा समेत माग्यो ? यस कारणले पनि त्यो आन्दोलनको सहि नेतृत्व पंक्ति को थियो भन्नेमा अझै आम समुदाय अनभिज्ञ नै देखिएको छ ।
आन्दोलनका दिन भाद्र २३ र २४ गतेका दिन अग्रभागमा आन्दोलित भएका युवाहरू अहिले नामोनिसान भए  । हराएका हरायै भए । त्यसम ापनि हाम्रो देशका अल्पज्ञान भएका अलपत्रकार र सिङ्गाने युटुबरे जो भ्यूज कमाउने उद्देश्यले आएकाले त झनै कुन सक्कली, कुन नक्कली छुट्ट्याउन गाह्रो बनाइदियो । अहिले सर्वत्र चिन्ता र सरोकारको बिषय बनेको छ । हिजो आन्दोलन गर्दा भ्रष्टाचार र नातावादको अन्त्य हुनुपर्ने सत्तापक्ष र सत्तामा रहँदा सरकारका प्रतिनिधिहरुद्वारा गरिएका सृङखलाबद्द भ्रष्टाचारको बिरोध र सरकारको नयाँ नियम अन्तर्गत दर्ता हुन आएका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, ट्विटर, युट्युब सहित २६ प्रमुख सामाजिक संजालहरु माथि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रतिबन्ध लगाउनु नै अनिष्टको संकेत देखा परेकै हो । ओलीको दम्भ र हठ प्रवृत्तिले गर्दा ७२ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन । हजारौं हजार घाइते, अपांग भए, कति घरबारबिहिन हुनुपर्यो । अहिले बिगतको सरकारका मन्त्री र तिनका ठुटे नेताहरू अरु जनतालाई उकास्ने भाषण र भेला गरिरहेका छन भने बर्तमान राष्टूपति रामचन्द्र पौडेलले अन्तरिम नेपालको प्रधानमन्त्रीको रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रथम प्रधानमन्त्री बनाइसकेको अवस्था बिद्यमान छ । प्रधानमन्त्री सङसङ्गै अरु थप सम्बन्धित क्षेत्रका विज्ञ मन्त्रीहरु कुलमान घिसिङ्ग, रामेश्वर खनाल, ओमप्रकाश अर्याललाई आ–आफ्नो मन्त्रालयको जिम्मेवारी समेत बहाल गरेको स्थिति छ । जिम्मेवारी सहित महत्वपूर्ण काम समेत गरिरहेका छन र गर्ने क्रम जारी छ । उनीहरूलाई दिएको जिम्मेवारीलाई बेफ्वाकका कुतर्क हिजोका राजनीतिक झोलेहरुले अहिले पनि सामाजिक संजाल रंग्याइरहेका छन, सङसङ्गै चिन्ता र चासो लिइरहेका छन । चिन्ता नलिउन पनि कसरी ? देशकै सबैभन्दा ठूलो निकायमा आसिन गरेका ब्यक्तिहरुले पिटाइ खाए, अंगभङ्ग हुनेगरि । पिटाइ खाएका दृश्य र परिदृश्य हेर्दा हामीलाई दया जागेर आउँछ कि पिटाइ नखानु पथ्र्यो तर खाए । यतिमात्र होइन आगलागी भएको घरभित्र लुकाएर राखेका बण्डल – बण्डल रकमहरु र सुनचाँदीका गहनाहरु हेर्दा ती कहाँबाट आए र किन राखिए ? त्यो एउटा लज्जाजनकका दृश्यहरु नयाँ र पुराना पिडीँहरुले भिडियोहरु देखे । ती भिडियो अहिलेपनि पटकपटक देखाएर भाइरल बनाइदैछ । अर्को कुरा हिजो नाम चलेका सामाजिक अभियन्ता, युटुबरेहरुले सुन भेटिएका असत्य समाचार भिडियो र कताकता ठूल्ठूला आगलागीका घटनाहरु फलानोले गराएको हुन भन्ने सार्वजनिक गरेका कुरा सत्य हो असत्य हो भन्ने कुरा द्विविधापूर्ण रहे । अहिले नेपालभर क्षती भएका स्थानहरुमा पुनः निर्माण हुनेकाम सामाजिक ब्यक्ति र अभियान्ताहरु अनि युवाहरुको समूहले गरिरहेको छ , यसले पनि के सन्देश दिन्छ भने हिजो जे हुनुथ्यो भै गयो, रोकेर सकिने अवस्था रहेन अब भने हाम्रा नेताहरू सच्चिनुपर्यो, देशको नेतृत्व युवाहरुलाई सुम्पिनुपर्यो । युवा पनि त्यस्ता युवाहरुको बोलावला रहनु प¥र्यो जुन युवाले पार्टी पंक्तिमा उभिएर देश र जनताका पक्षमा वकालत गरेका छन् । सत्ता र शक्तिका लागि स्वार्थको रोटी सेक्न नेतृत्वको खुट्टा मोल्ने र मोलिरहेका नेताहरु अबका पार्टीको रोजाई बन्नुहुन्न ? तिनीहरु स्वाट्टै हटाएर तेस्रो पुस्ता बढी हावी हुनुपर्दछ । हाम्रो देशमा इन्जिनियर, डाक्टर, कानुन पढेका लाखौलाख युवाहरु बेरोजगार भएर बसेका छन । उनीहरूलाई यही देशमा रोजगार दिलाउन सरकार लाग्नुपर्यो । रहरले बिदेशी ढोका अहिलेका युवाहरूले ढकढक्याएका भने होइनन् । आगामी दिनमा हिंसा, हत्या, आगजनी कसैले पनि गर्नुगरेको देख्न नपरोस् । नेताहरूको दिमागमा कुसाग्रबुद्धि पलाउन सकोस् । बर्तमान प्रधानमन्त्री पूर्वप्रधानन्यायधीश सुशिला कार्कीको नेतृत्वको सरकारले पुनः निर्माणको कामसङ्गै हिजो आन्दोलनमा ज्यान गुमाएका सहिदहरुलाई उचित रुपमा सम्मान गर्दै आज असोज १ गते देशभर शोक दिवस मनाउदै एकदिने शोक बिदा समेत दिने सरकारले घोषणा गरेसङ्गै राहतको ब्यबस्थापन र घाइतेहरुलाई यथाशीघ्र निःशुल्क उपचारको ब्यबस्थापन गरेर अघि बढन सकोस् । प्रधानमन्त्री तथा मन्त्रीहरुले पदीय जिम्मेवारमा बस्दै गरेका निर्णय सुशासनमुखी र जनमुखी देखिएका छन् । त्यसको निरन्रता कायम रहोस् । छिटै शान्ति सुव्यवस्था र अमनचयन कायम गर्न सुरक्षा निकायलाई पुर्नस्थापित गर्ने सन्दर्भमा पहिलो प्राथमिकता दिइयोस् । जताततै शान्ति छाउन सकोस, ज्यान गुमाएका एन – जी समूहबाट देशका सशादत्त प्राप्त युवाहरुप्रति हार्दिक – हार्दिक भावपूर्ण श्रद्धाञ्जली । आउ मिलाउ हाम्रा हातहरु, आउ सुनाउ हाम्रा स्वरहरु ।

Author

You may also like