:— बिमल लामिछाने —: अहिले साउन महिना हो, यो महिना ब्रत र ब्रतालुले विशेष महत्व राख्ने महिनामा पर्दछ  धार्मिक शास्त्रअनुसार साउन महिनाको महत्वबारे धेरैले चर्चा गर्ने गरेका पनि छन् तथापि यो महिनाको ब्रतले विज्ञानसँग कति सम्बन्ध राख्छ भन्ने जिज्ञासालाई केही तथ्यका आधारमा धर्म र विज्ञानसँगको सम्बन्ध विश्लेषण गर्ने प्रयत्न गर्नु सान्दभिक हुन्छ ।
साउनमा ब्रत बस्ने परिपाटी अलि पुरानै रहेको पाइन्छ  विशेष गरेर ब्रतलाई परम्परा र धर्मसँग जोडेर हेर्ने गरेको पाइन्छ  तर कुनैपनि ब्रतको बैज्ञानिक तत्थ्य के छ भनेर खोजी गर्ने चलन कमैमात्र हुन्छ ।
शिव पुराणमा भगवान शिवले सनत कुमारलाई चन्द्रमा, सूर्य अनि आगो यी तीन मेरा आँखा हुन् भनेका छन् । ज्योतिषशास्त्र अनुसार चन्द्रमा कर्कट राशिको स्वामी हो, सूर्य सिंह राशिको स्वामी  अनि कर्कट राशिबाट सिंह राशिमा सूर्यको संक्रान्ति यही श्रावण महिनामा हुन्छ, त्यसैले श्रावण महिना भगवान शिवको प्रिय महिनाको रुपमा चिनिन्छ भन्ने मान्यता रहँदै आएको छ ।
शास्त्रीय मान्यताअनुसार साउने सोमबार ब्रत बसे आइपरेका कठिन समस्याहरुबाट मुक्ति पाइन्छ  श्रावण महिनामा भगवान शिव पृथ्वी भ्रमण गर्ने भएकाले यो महिना शुभ मानिन्छ । यस महिनामा ब्रत बस्नु, दान गर्नुलाई पुण्य मानिन्छ  हिन्दु धर्ममा मात्र हैन सबै धर्ममा दानको विशेष महत्व छ । दानमा ‘दा’ को अर्थ संस्कृतमा धातु भन्ने हुन्छ भने ‘न’ को अर्थ ‘न’ नकार्ने भावना जस्तै दान मैले दिएँ, अर्थात म भन्ने भावलाई त्याग्नुपर्ने बताइन्छ  जब हामी कसैलाई दान दिन्छौँ त्यसबेला दान दिएँ भन्ने भावना नराख्न शास्त्रीय मान्यता छ  । साउने सोमबार भगवान शिवलाई समर्पित गरेर बसिने ब्रत सूर्योदयदेखि सूर्यअस्तसम्म राखिन्छ 
साउने सोमबारको ब्रतलाई विभिन्न धर्म शास्त्रमा विभिन्न कथाका माध्यामबाट थप प्रस्टाइएको पाइन्छ  एक गरिब ब्राम्हणले साउने सोमबारको ब्रत बसेकाले उनलाई धनलाभ भएको कथा । त्यस्तै साउनको ब्रतकै प्रभावका कारण एक व्यवसायीलाई पुत्रलाभ भएको कथा पनि सुन्न पाइन्छ  शुद्ध भावनामा ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वास बढ्दै गएको धार्मिक पक्षलाई अध्ययन गर्ने अध्ययेताहरुले तर्क गर्दै आएका छन् ।
विज्ञानले के भन्छ ? ः
पृथ्वीका हरेक वस्तु र विधि विज्ञानमा आधारित छन्  हरेक धर्ममा विज्ञानका आधार भने पक्कै हुन्छन्, आखिर किन ब्रत बसिन्छ त ? किन माछा मासुको सेवन यस महिनामा बर्जित गरिएको छ त ? यसका पछाडि पनि वैज्ञानिक कारणहरु रहेका छन् । श्रावण महिना मनसुन अर्थात बर्षायामको मुख्य महिना हो । यो महिना ओसिलो हुन्छ जहाँ सूर्यको प्रकाश कम पाइन्छ  त्यस्तै वर्षाको पानी दुषित भई विभिन्न किटाणु सक्रिय भएका हुन्छन्  मासु खानेहरुका लागि पनि जनावर, जीवजन्तु हिलाम्मे, झुत्रे, लुते र रोगी भएका हुन्छन् । यस्तो मासु खाँदा प्रत्यक्ष असर गर्छ । रोगी मासु खाए पाचन प्रणाली कमजोर हुन जान्छ  त्यसैले कोही यो मनसुनको पुरै ४ महिना ब्रत्त बस्ने गर्छन् भने कोही श्रावणभरी एक छाकमात्रै ताजा खाना फलाहारको रुपमा खाने गर्छन्  वर्षायाम भएकाले पानीबाट सर्ने रोग छिट्टै फैलिने कारणले पनि कयौँ खाने कुराहरु बर्जित गरिएको वैज्ञानिक मान्यता छ ।
अर्को तर्क यस्तो पनि छ, मनसुन महिना, अकस्मात मौसमको बदलाबले हाम्रो पाचन प्रणाली कमजोर हुनुका साथै रोग प्रतिरोधात्मक क्षमतापनि कमजोर हुन्छ त्यसकारण यस महिनामा हलुका भोजन गर्नुले शरीरलाई शुद्धीकरण गर्दछ ।
आयुर्वेदको मान्यता अनुसार यो समयलाई ‘वाथ दोष’ मानिन्छ जसका कारण शरीरका जोर्नीहरु, घुडा दुख्ने, कम्मर र जोनीहरु दुख्ने जस्ता समस्या हुन्छन्  गाईले घाँस खाँदा उनीहरुको शरीरमा आएका यस्ता समस्याका कारण यो महिना दुधको सेवनलाई बर्जित मानिन्छ  पछिल्लो समय त वर्षा याममा गाईको छालामा आउने लम्पी स्किन जस्ता रोगहरुबाट ग्रसित गाई भैँसीको दूध स्वास्थ्यकोलाई खतरा पनि मानिन्छ 
यसैगरी मसलायुक्त खाना  आयुर्वेदका अनुसार यो समय हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जसका कारणले मसलायुक्त खानेकुरालाई शरीरले पचाउन सक्दैन । यो वेला पालिएका जनावारहरुलाई खुवाइने दानापानी घाँसमा यस्ता खतरानक किटाणुको सम्पर्क हुने भएकाले यो समयमा माछामासु भोजन गर्नाले हैजा, झाडापखाला जस्ता रोग लाग्न सक्छन्  यसैले यो बेला शाकाहारी भोजन उत्तम भन्नु तर्कसंगत देखिन्छ ।
सहवास र सयनको पक्षः
श्रावण महिना पानीको महिना भएकाले यो महिना बिभिन्न कीरा प्रजातीहरुको प्रजनन हुने समय पनि हो  वर्षाको समयलाई विशेषत जलचर प्राणीमा सम्भोग सक्रियताको समय भनिन्छ  यो समयमा प्रेमभाव बढ्ने भएकाले यही समय सुक्ष्म जीवाणुहरु सहवासमा अधिक सक्रिय हुने विज्ञहरुको तर्क पनि छ 
धर्मग्रन्थ अनुसार, साउन महिनासँग देवताहरुका पनि देवता महादेवबीच गहिरो सम्बन्ध छ । साउन महिना भगवान शिवको अत्यन्त प्रिय महिना मानिन्छ  हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिन्छन् ।
त्यस्तै, सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात साउनबाट दक्षिणायन सुरु हुन्छ  त्यसैले यस समयमा ग्रहहरु कमजोर हुनुका साथै वर्षाका कारण विभिन्न रोगव्याधीले संक्रमण लाग्ने सम्भावना भएकाले पनि भगवान् शिवको आराधना गर्दै व्रत बस्ने चलन छ । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरे बराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ ।
विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्व दिन्छन् ।
साउनको महिना ब्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास पनि छ  महिनाको अरू दिन नसके पनि सोमबार ब्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ 
ज्योतिष शास्त्रअनुसारः
सोमबारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमबार गरिने शिवको ब्रत पूजा विशेष फलदायी हुने मान्यता छ  यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै ब्रत बस्ने परम्परा छ  हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।
भड्किलो ब्रत र बोलबमः
यो महिनामा कुनै पवित्र नदीमा स्नान गरी शुद्ध भएर जल उठाई बोलबमको नारा लगाउँदै डाकबम र बोलबम बनेर पहेँलो वस्त्रधारी भक्तजनले खाली खुट्टा पैदल हिँडेर शिवालयमा जल अर्पण गर्ने र बोलबम जानेहरुको पनि उतिकै तामझाम देखिन्छ।
साउने सोमबारमा ब्रत बस्ने र भगवान शिवभक्तहरुको ब्रत उपासनाले सोचेका मनका योजनाहरु सिद्धी हुने अपेक्षा ब्रतालुमा हुने गरेको छ । ब्रतलाई देखासिकी गर्ने भन्दापनि आफू र च्यापु अनुसारको बनाउने प्रयत्न गर्नु राम्रो हुन्छ । भड्किलो, अतिरञ्जित हुनबाट जोगाउँदै स्वास्थ्यको ख्याल गरेरमात्र ब्रत बस्नु उपयुक्त हुन्छ  ब्रतलाई भड्किलो र खर्चालु हुनबाट जोगाउन सकिएन भने विकृतिको रुप लिन पनि सक्छ, विकृति हुनबाट रोकेर संस्कृतिलाई जोगाउनु अहिलेको आवश्यकता हो ।

Author

You may also like