विगत वर्षहरुमा झै यो वर्ष पनि देशभर धान दिवश मनाइएको छ । हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । यस वर्ष पनि २२ औँ राष्ट्रिय धान दिवस नेपालको कृषि क्षेत्रमा धान बालीको महत्वलाई उजागर गर्दै ‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ मनाइयो ।
नेपालको खाद्य सुरक्षामा धान बालीको भूमिका र आत्मनिर्भरता हासिल गर्ने दिशामा गर्नुपर्ने कामलाई केन्द्रमा राखेर दिवस मनाउने गरिएको छ ।
धान नेपालको भौगोलिक विविधताका कारण तराईदेखि उच्च पहाडी क्षेत्रसम्म फरक फरक किसिमले उत्पादन गरिन्छ । विश्वमै सबैभन्दा अग्लो स्थानमा धान खेती हुने पनि नेपालमै छ ।
नेपालका सात वटै प्रदेशमा धान उत्पादन गरिन्छ तर उत्पादन मात्रा र उत्पादकत्वमा भिन्नता छ । नेपालमा खाद्य सुरक्षाको दृष्टिकोणले धान बालीको भूमिका महत्वपूर्ण छ । हाल नेपालमा धान उत्पादन र मागमा क्षेत्रीय असन्तुलन छ । तराई क्षेत्रमा बढी उत्पादन हुन्छ भने पहाडी क्षेत्रमा कमी छ । जलवायु परिवर्तनको प्रभावले धान उत्पादनमा नकारात्मक असर पर्न थालेको छ । अनियमित वर्षा, बढ्दो तापक्रम र प्राकृतिक प्रकोपले धान उत्पादनमा चुनौती सिर्जना गरेको छ । भविष्यमा बढ्दो जनसंख्या र खाद्य मागलाई पूरा गर्न धान उत्पादन र उत्पादकत्व बढाउनु आवश्यक छ ।
नेपालको धान तथा चामलको आयात निर्यात अवस्था हेर्दा यो आयातमुखी नै छ । वर्षेनी चामल आयात गरिन्छ । आयात हुने मुख्य ठाउँ हेर्दा भारत देखिन्छ । बर्सेनि ५० अर्बसम्मको धान÷चामल आयात भएको अवस्था छ, यो कृषिप्रधान भनिएको देशकोलागि दुखद् पक्ष हो ।
धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न नीति, प्रविधि, लगानी र किसानमुखी कार्यक्रमबिच समन्वय अपरिहार्य छ । कृषि विकास रणनीति, आवधिक योजना, वार्षिक बजेट कार्यव्रmम तथा स्थानीय तहको नीति र योजना सबैले एउटै दिशामा काम गर्नुपर्ने आवश्यकता छ । संघीय शासन प्रणालीमा संघ, प्रदेश र स्थानीय सरकारबिच स्पष्ट कार्यविभाजन र स्रोत बाँडफाँट गरी समन्वयमा आधारित योजना लागु गर्नु आवश्यक छ ।
धान खेतीलाई व्यावसायिक बनाउन यान्त्रिकीकरण अनिवार्य छ । यसकासाथै सिँचाइ र मलको सुलभता धान उत्पादनको मेरुदण्ड हो । हाल पनि धान खेतीको ठुलो हिस्सा वर्षामा आधारित छ, जसले उत्पादनमा अस्थिरता ल्याउँछ । भूमिगत जलको सदुपयोग, लिफ्ट सिँचाइ, ट्युबेल र आधुनिक सिँचाइ प्रणाली जस्ता उपाय अपनाउनु आवश्यक छ । धान बालीको गुणस्तर वृद्धि तथा निर्यात सम्भावना बढाउन बिउ प्रतिस्थापन दर बढाउनु आवश्यक देखिन्छ । धान दिवश नारामा सिमित नहोस् ।

Author

You may also like