देश–समाज राष्ट्रिय लेख शिक्षा

एसईई परीक्षाको नतिजा र सुधारगर्नुपर्ने पक्षहरु

शिक्षा अधिरचना र संस्कृतिको चेतना विकास गर्ने मार्ग हो । शिक्षा आजीवन चलिरहने प्रक्रिया हो । यो व्यक्तिको जन्मेदेखि मृत्युपर्यन्त निरन्तर चलिरहन्छ । एक व्यक्तिले जीवनकालसम्म जेजति सिकाई वा अनुभव गर्छ, ती सबै शिक्षा अन्तर्गत पर्छन । अर्को अर्थमा शिक्षा मानवले सामाजिक रुपान्तरणका लागि समाजमा र बाच्न प्रकृतिसङ्ग गरिने संघर्षबाट प्राप्त गर्ने अनुभव पनि हो । शिक्षाविद एवम् दार्शनिक जोन डिवेले शिक्षालाई जीवन र जीवनलाई शिक्षाका रुपमा हेरेको पाइन्छ । उनका अनुसार शिक्षा जीवन हो, जीवन भनेको वृद्धि हो, त्यसैले शिक्षा भनेको बुद्धि हो । मानवले वर्षौदेखिको अनुभवद्वारा संस्कृतिको निर्माण गरेको हुन्छ । त्यही संस्कृतिभित्र शिक्षाका विविध संरचना बनेका हुन्छन । त्यसैको संयोजनमा राजनीति, सान्सकृतिक र शैक्षिक क्षेत्र एक आपसमा सङगठित हुन्छन ।
शिक्षाको उद्देश्य मानवीय ज्ञान र प्रविधिको क्षेत्रलाई सर्वब्यापक रुपमा विकास र विस्तार गर्नु पनि हो । वर्षौदेखि मानवले भोगेका अनुभव तथा नयाँ – नयाँ क्षेत्रमा गरिएका खोज र अनुसन्धानले ज्ञानको क्षेत्रलाई सु–सूचित गरिरहेको हुन्छ । आजको बैज्ञानिक युगमा बिज्ञान र प्रविधिको बिकासले मानवको जीवनशैलीमा व्यापक परिवर्तन ल्याएको छ । शिक्षाले एकैपटक ब्यक्तिगत र सामाजिक उदेश्य पूरा गरिराखेको हुन्छ । शिक्षा अनवरत रुपमा परिवर्तन, प्रयोग र परिमार्जनतर्फ उन्मुख हुनुपर्छ । शिक्षाले समाजको प्रगतिका लागि कार्य गर्नुपर्छ । शिक्षण संस्थाहरु प्रयोग र परिवर्तनको थलो बन्नुहँुदैन । समाज राष्ट्रमा आउने परिवर्तनको साथसाथै शिक्षा गतिशील हुनुपर्छ । अर्को अर्थमा भन्ने हो भने–अहिले हाम्रो शिक्षा प्रणाली सामन्तवादी जगमा टेकेको साम्यवाद र पूजीवादको खिचडिमा आधारित शिक्षा नीति बनिरहेको छ । यो क्रम अहिलेपनि जारी छ, शिक्षा क्षेत्रमा कुनै परिवर्तननै छैन । यहाँ जसले जतिसुकै भाषण गरुन, यहाँ जनवादी शिक्षा लगायत अन्यकुनै शिक्षाको गुन्जायसै छैन । अन्तरिम संविधान २०६३ मा शिक्षा मौलिक अधिकार हो भनिएको छ तर राज्य शिक्षाको दायित्वबाट पन्छिदै छ । शिक्षा नीतिसङ्गै राजनीतिक परिवर्तनका कारण बर्सेनि शिक्षा क्षेत्रमा व्यापक भ्रष्टीकरण बढदो छ । राज्य संचालनगर्ने शक्तिहरुले दिनानुदिन फेरबदल गरि शिक्षा, सीप, सिर्जना र स्वरोजगार विपरीत दिशामा क्रमभङ्ग गरिरहेको छ । शैक्षिक क्षेत्रलाई यो अवस्थासम्म पुर्याउने सबैभन्दा ठूलो हात शैक्षिक माफियाहरुको हात छ । शिक्षामा अरबौ, खरबौको बजेट बिनियोजन हुन्छ तर सबै भ्रष्टीकरणका कारण शिक्षा क्षेत्र अस्तब्यस्त छ । शिक्षा क्षेत्रको माथिल्लो माध्यमिक तह खासगरिकन ९ र १० कक्षाको प्रत्येक बिषयको नतिजामा किन सुधार आएन ? के – केमा सुधार गर्नु जरुरी छ, यो सङ्ग सम्बन्धित काम अहिलेसम्म कसैले गर्नै सकेको छैन ।
बिशेषत ः राजनीतिक कारणले गर्दा प्रत्येक बर्ष एसईईको परीक्षा नतिजाको परिणाम बढदो त कहिले घटदो अवस्थामा छ । यसमा किन शैक्षिक सुधार सम्बन्धित निकायले गर्न सकेन ? अनुगमन तथा नियमन राज्यले गर्न नसकेको कारणले गर्दा आज सामुदायिक बिधालयको नतिजा ह्रास हुँदै गएको छ । कति फेल, कति पास , कति जीपीए ल्यायो भन्नेमामात्रै ध्यान केन्द्रित रहेकै कारणले आज शैक्षिक स्तरोन्नति हुन सकेको छैन । यसै सन्दर्भको वरिपरि रहेर अनेकन बहस हुन सकेन, ग्रेडिङ्ग प्रणाली भएको के हो ? जीपीए भनेको के हो ? भन्ने सम्म जानकारी छैन हाम्रा शिक्षकहरुलाइ ? अनि कसरी बुझ्न र बुझाउन सकिन्छ त, विद्यार्थी र शिक्षक बर्गहरुलाइ ? यो सम्बन्धि न तालिम छ न गोष्ठी न सेमिनार । शिक्षामा देखिएका बग्रेल्ती समस्याहरुलाइ कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बिषयमा बृहत छलफल र बहस अहिलेसम्म हुनसकेको छैन । शिक्षकहरुलाइ तालिममा सहभागिताको लागि पठाइन्छ तर तालिमबाट आएका शिक्षकहरुले त्यही अनुसारको पठन संस्कृतिको बिकास गर्न ढिला गरेकै हुनाले ग्रेडिङ्ग प्रणालीको जीपीए बुझ्न नसकेकै हुन धेरै शिक्षक र विद्यार्थीहरुले  । कति बिधालयमा त विशिष्टिकरण तालिका अनुसार विद्यार्थीलाई नपढाएको पाउन सकिन्छ । पढाएपनि विद्यार्थी केन्द्रित बिषयगत बिषय अध्यापन नगराएको देखिन्छ । जसरी शिक्षकहरुले विद्यार्थीलाई पढाउछन त्यसरीनै स्वअध्ययन विद्यार्थीले घरमा गर्दै गर्दैन ।
अर्को कुरा घरमा अभिभावकले आफ्ना छोराछोरी पढछन या पढदैनन या के गर्दैछन सम्म वास्ता नगर्दा धेरैजसो बालबालिकाहरुको अध्ययनमा रुचि नबढेको देखिन्छ । एउटा बालकले शिशुदेखि माध्यमिक तह कक्षा १० सम्म पढिसक्दा लगभग १३ बर्षको अवधि सम्म पढ्दा अझैपनि उसको शैक्षिक स्तरोन्नति न्यून अवस्थामा देख्न सकिन्छ । त्यो त प्रत्येक बर्षको एसइइ परीक्षाको उत्तिर्णाङक प्रतिशत हेर्दा सामाजिक , नेपाली, गणित, बिज्ञान बिषयमा धेरैजसो अनुत्तीर्ण भएका छन । बिगतदेखि बर्तमान सम्मको एसइइको नतिजा मुल्यांकन गरौ त, कहिले कम त कहिले बढीमात्रामा एसइइको परीक्षाको नतिजा अदलबदल छ । अब मुल्यांकन गरौं कि गत बर्षको चैत्र ७ देखि संचालन भएको एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नतिजा प्रकाशन गरेको छ । एसइइको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएका छन । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थी मध्ये ३.६ देखि ४ जीपीए ४८ हजार ११७, ३.२ देखि ३.६ जीपीए सम्म ९९ हजार १२४ जना , २.४ देखि २.८ जीपीए सम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ४ हजार १२६ जना, १.६ देखि २ जीपीए सम्म ८ जना छन । परीक्षा नियमित तर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडेड वृद्धि तर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी गत सालको एसईई परीक्षामा थिए । यो नतिजा र ग्रेडेड प्रणालीसङ्गै आएको लब्धाङक पत्रको प्रत्येक बिषयको जीपीए हेर्दा धेरैजसो सामाजिक बिषयमा जीपीए कम आएर अनुत्तीर्ण भए । खासगरिकन राजनीतिक, सामाजिक, धार्मिक, राष्ट्रिय – अन्तर्राष्ट्रिय, बिश्वको भूगोल, हावापानी, रहनसहन, रीतिरिवाज जस्ता अनेकन बिषयको प्रश्न हेर्दा लाग्छ विद्यार्थीको ज्ञानबोध सो बिषयमा कमजोर देखिन्छ अनि सो बिषयको शिक्षकनै कमजोर देखिएर होला विद्यार्थीहरु धेरै अनुत्तीर्ण भएका छन । यस बिषयतर्फ आगामी दिनमा व्यापक सुधार ल्याउनुपर्ने देखिएको छ । बृहत अन्तरक्रिया, बहस, सामूहिक छलफल गरेर अघिबढ्न सके प्रत्येक बिषयलाई सुधार गर्न सकिन्छ । अहिले प्रविधिको व्यापक प्रयोग हुँदै गएकोले विद्यार्थीहरु गुगल सर्च गर्ने आफै दिन नसक्ने नोट सबै गुगलबाटै सार्ने आफ्नो क्षमता अनुसारको उत्तरै दिन नसक्ने भएका कारणले पनि विद्यार्थीहरु कमजोर रहे । एसईई परीक्षालाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दवाब दिने, उनीहरूको आहारबिहारलाई स्वस्थ्यकर बनाउने, पढने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातावरण बनाई सहजता प्रदानगर्ने एवम् उत्साह र ढाडस दिएर मर्यादित रूपमा परीक्षा दिन प्रोत्साहित गर्ने एक असल अभिभावकको लागि पनि जिम्मेवारी भित्र पर्दछ । यस मानेमा एसईई अभिभावकको लागि एक समझदार अभिभावक भए नभएको जाचिने परीक्षा हो भन्दा अन्यथा नहोला । आफ्नो विद्यार्थीको उपलब्धि स्तर उच्चतम बनाउन विद्यार्थीका प्रतिभाको आधिकारिक अविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरूको विकास र विस्तार गर्ने खालको बिधालय गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको एकिन गर्ने परीक्षा पनि हो एसईई परीक्षा । यसकारणले माध्यमिक तहको उपल्लो तहको खुडकिलो समेत भएकाले आगामी दिनमा शैक्षिक सुधारका निम्ति एसईई परीक्षाको ग्रेडेड प्रणाली अनुसारको विद्यार्थी उत्तीर्ण प्रतिशत अझै उकास्नका निम्ति सरोकारवाला निकाय अझै सशक्त भएर लाग्न सक्नुपर्छ । गुणस्तरीय शिक्षा र सबैका लागि शिक्षा आजको आवश्यकता हो ।

Author

You may also like