देश–समाज राजनीति समाचार स्थानीय

वर्गीय मुक्तिका लागि जातीय मुक्ति आवश्यक : प्रचण्ड

दमक/ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जातीय मुक्ती नभई बर्गीय मुक्ती नहुने बताएका छन् । उनले अहिले लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयनको समय भएकाले सबै जाति र वर्गको अपनत्व हुन सकेमात्रै गणतन्त्रले सार्थकता पाउने बताए ।
सनिवार झापाको दमकमा जातीय मोर्चाहरुको संयुक्त सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मुलुकको विकासमा सबैले हातेमालो गर्नुपर्ने बेला आएको बताएका छन् ।
कोचिला राष्ट्रिय मुक्ति मोर्चा, धिमाल राष्ट्रिय मुक्ति मोर्चा, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा, झागड राष्ट्रिय मुक्ति मोर्चा र मेचे राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रीय सम्मेलन उद्घाटन कार्यक्रममा विभिन्न जातीय झाँकीहरुसहितको टोलीले प्रचण्डलाई स्वागत गरेका थिए ।
सनिवार नै दमकस्थित दाहाल प्रतिष्ठानमा आयोजित कार्यक्रममा बन्धु एकत्वको भाव दिन आफूले विगतमा चालिएको योजना अनुसार प्रतिष्ठानको हितार्थ काम गर्न प्रतिवद्ध रहेको बताए । उनले भने– प्रतिष्ठानको थप विकासको निम्ति पहल गर्नेछु ।’ उनले माओवादी केन्द्र दमक नगर समितिले चालेको दमकमा एक लाख फलफूलका बिरुवा रोप्ने अभियान अन्तर्गत प्रतिष्ठान परिसरमा विरुवा रोपेर हरित नगर अभियानमा सहभागिता जनाएका थिए ।
दमक आउनु अघि अध्यक्ष दाहालले मोरङको उर्लावारीमा विभिन्न राजनीतिक दलहरू परित्याग गरी पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए । विभिन्न पार्टी परित्याग गरी ३७० जना नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति जनविश्वास दिनप्रतिदिन बढिरहेको उल्लेख गरे । पार्टीप्रति जनविश्वास बढेसँगै घेराबन्दी गर्न र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको उनको भनाई छ ।
“हामीले सरकारमा रहेर सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेका छौँ । राम्रो काम गर्दा गर्दै शडयन्त्रपूर्वक सरकारबाट बाहिरिनु परे पनि हामी हाम्रो अभियान लिएर जनताको घरघरमा पुग्यौं, उनीहरूसँग बसेर दुःख–सुख बाँड्यौं’ उनले भने, ‘यही कारणले माओवादी केन्द्रप्रति जनताको विश्वास झनै बलियो बन्दै गएको छ ।
पूर्वी नेपालका झापा र मोरङ जिल्लामा माओवादी केन्द्रले अघिल्लो स्थानीय चुनावमा उल्लेखनीय सफलता हासिल गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पार्टीले अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले प्रतिक्रियावादी शक्तिहरू माओवादीको बढ्दो जनआधार देखेर आत्तिएको कारण षड्यन्त्रहरू भइरहेका बताए । मोरङ र झापाका विभिन्न कार्यक्रम सम्बोधन गरेर प्रचण्ड सनिवार नै काठमाण्डौ फर्किसकेका छन् ।

Author

You may also like