दमक/ विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक सुचारु गर्न लिएको अडान यथावत् राखेको छ । प्रतिपक्ष दल नेकपा माओवादीले सरकारसँग २ बुँदे सहमति गरेर सरकारमाथिको अवरोध हटाए पनि रास्वपाले भने निरन्तर जारी राखेको हो । शुक्रबारको बैठकमा पनि रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै वेल घेराउ गरेको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले सदनमा उठेका विषयमा जवाफ दिन गृहमन्त्री लेखकलाई बोल्न समय दिएपछि रास्वपा नाराबाजीसँगै वेल घेराउमा उत्रिएको हो ।
रास्वपाको नाराबाजी र वेल घेराउका बीच गृहमन्त्री लेखकले भने जवाफ दिए । शुक्रबारको बैठकमा दलीय आधारमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राप्रपा र रास्वपालाई बोल्न सभामुख घिमिरेले समय दिएका थिए । रास्वपाको तर्फबाट बोल्दै सांसद मनिष झाले संसदीय छानबिन समिति नबनेसम्म आन्दोलन जारी रहेको बताए । झाले बोलेपछि रास्वपाका सांसदहरूले नाराबाजी र वेल घेराउ सुरु गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि गृहमन्त्री रमेश लेखकले आक्रोश पोखेका छन् । संसद्को बैठकमा रास्वपाका सांसदहरूले सरकारलाई प्रश्नको घेरामा पारेपछि गृहमन्त्री लेखक अत्यन्त आक्रोशित बनेका हुन् । सांसद झाले उर्दू शेर ‘तू इधर उधर की न बात कर, ये बता कि काफिले क्यूँ लुटे’ भन्दै सरकारलाई प्रश्न गरेपछि सभामुखले गृहमन्त्री लेखकलाई बोल्न समय दिएका थिए। तर गृहमन्त्री बोलिरहँदा रास्वपाका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरेका थिए । आफूले श्रममन्त्री हुँदा चार वटा देशसँग श्रम सम्झौता गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले रास्वपाबाट श्रममन्त्री बनेका डिपी अर्याललाई ‘तपाईंले कतिवटा देशसँग श्रम सम्झौता गर्नु भयो?,’ भनेर प्रश्न गरेका थिए । उनले वैदेशिक रोजगारको क्षेत्रमा आफूले गरेका कामहरूको जिकिर गर्दै दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार र बहराइन सरकारसँग आफ्नै हातले सम्झौता गरेको दाबी गरेका छन् ।
गृहमन्त्री लेखकले रास्वपाका सांसदहरूको अनुभवमाथि समेत व्यङ्ग्य गरेका थिए । ‘केही मैले देखेका साथीहरू सानो सानो बस्ता काँधमा बोकेर कुनै स्कुलमा पढिरहनु भएको थियो होला’ लेखकले टिप्पणी गरे ।
उनले २०६४ सालको वैदेशिक रोजगार ऐन पहिलो पटक आफ्नै हातले ड्राफ्ट गरेको र सो ऐनले १८ वर्षसम्म काम गरिरहेको बताएका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै रास्वपाले आफ्नो आन्दोलन जारी राख्ने घोषणा गरेको छ ।