देश–समाज राष्ट्रिय समाचार स्थानीय

प्रतिपक्षको अडान यथावत, लेखकको राजीनामा आउने संकेत

दमक/ भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद चल्न नदिने प्रतिपक्ष दलको अडान मंगलबार पनि यथावत् रह्यो । प्रतिपक्षको अडानले संसद चल्न नसकेपछि बुधबार १ बजे पुनः बैठक बस्ने गरी संसद बैठक स्थगित भएको सूचना संसद सचिवालयले टाँस गरेको छ । मंगलबार विहान बसेको प्रतिपक्षी दलको बैठकले गृहमन्त्रीको राजीनामा र ०६४ यताका सबै गृहमन्त्रीको छानविनका लागि निष्पक्ष उच्चस्तरीय समितिको मागसहित प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएका थिए । सोही विषयमा सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्रीको राजीनामाको विषय नजोडे पनि उनले प्रतिपक्षको मागलाई वार्ताबाट सम्बोधन गर्न प्रधानमन्त्री जिम्मेवार रहनुपर्ने बताए । संसद भवन नयाँ बानेशवरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षी दलको कर्तव्य भएकाले उनीहरुले राखेको विषयलाई प्रधानमन्त्रीले गम्भीर भएर संवाद गर्नुपर्ने बताएका हुन । उनले भिजिट भिसा प्रकरणको गहिरोसँग अनुसन्धान हुन पनि आवश्यक रहेको औल्याए ।
राजीनामाको संकेत
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा घोषणा गर्ने संकेत देखिएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । मंगलबार संघीय संसद् भवनमा सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलहरूको बैठकपछि लेखकले राजीनामा दिने संकेत देखिएको हो । सत्ता गठबन्धन र प्रतिपक्षी दलहरूको बैठकमा लेखकले राजीनामा अस्वीकार गरे पनि दलहरूले उनको राजीनामा नभएसम्म संसद् चल्न नदिने अडान लिएपछि लेखकले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् । लेखकले राजीनामा दिने भएपछि संसद्मा बोल्नसमेत नदिने अडान लिएका प्रतिपक्षी दलहरूले उनलाई बोल्न दिने भएको जनाइएको छ ।
लेखकले राजीनामा दिने, भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन गर्ने र आयोगले २०६४ यताका भिजिट भिसाअन्तर्गत आवागन र सम्भावित आर्थिक लेनदेनसँग सम्बन्धीत अनुसन्धान हुने पनि दलहरूबीच एक प्रकारको सहमति भएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
ती सदस्यले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले लेखकको बचाउ गर्दै आएको र लेखकले राजीनामा घोषणा गर्ने वा नगर्ने ती दुई शक्ति केन्द्रबाट निक्यौल हुने पनि बताए ।
बजेट पारित गर्नका लागि सदन विधिवत चल्नुपर्ने बाध्यतालाई ध्यानमा राख्दै ओलीले लेखकलाई बिदा गर्ने आशयको विभिन्न दलहरूलाई अनौपचारिक सहमति दिएका छन् । कांग्रेस र एमालेका केही प्रभावशाली नेताहरूले पनि छानबिन हुनैपर्ने र त्यसका लागि लेखकले राजीनामा दिनुपर्ने आ–आफ्ना शीर्ष नेताहरूलाई दबाब दिएका थिए । सोमबार प्रधानमन्त्री ओलीले एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरूबीच भएको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लेखकलाई आफूले नबोक्ने स्पष्ट धारणा पारेका थिए ।

Author

You may also like