:— बाबुराम क्षेत्री —:
दमक । भोलिदेखि हुने सुरु हुने कक्षा १२ परिक्षा अघिल्लो दिनसम्म अन्योलमा छ । सरकार र शिक्षकको चेपुवामा परेको कक्षा १२ को परिक्षा निर्धारित समयमै हुने राष्ट्रिय परिक्षा बोर्डको तयारी छ । निजमति कर्मचारी खटाएर भएपनि परिक्षा हुन्छ, लोकसेवा आयोगको परिक्षा गराउने कर्मचारीले कक्षा १२ को परिक्षा गराउन नसक्ने कुरै आउँदैन भन्दै बोर्डले तयारी थालेको हो । बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले विद्यालय र विद्यार्थीहरूले परीक्षा समयमै गर्न अनुरोध गरेको बताए । यसरी सरकार गरेरै छाड्ने र सम्बन्धित अन्य निकायहरु सहभागी नहुने बीचमै अघिल्लो दिन विद्यार्थीलाई तनावमा राखियो । परिक्षा दिन जाने कि नजाने अन्योलमा रहेका विद्यार्थी प्रधानमन्त्रीको ठाडो आदेशमा वैशाख २१ गते सारिएको परीक्षा कति विद्यार्थीले थाहा पाए कतिले थाहा पाएनन् राती सूचना जारी भयो ।
त्यो अगाडि नै यता शिक्षक महासंघले भने सरकारको परीक्षा गराउने सरकारको जोडबललाई निस्तेज तुल्याउन कक्षा १२ को केन्द्रका केन्द्राध्यक्षलाई समेत आन्दोलनमा बोलाएको छ । शिक्षा ऐन जारी गर्नुपर्नेलगायत माग राखी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको शिक्षक महासंघले कुनै पनि शैक्षिक गतिविधिमा सहभागी नहुन शिक्षकहरूसँग आग्रह गरेको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षाका क्रममा केन्द्राध्यक्षसमेत नबन्न शिक्षकहरूलाई आग्रह गरेको हो ।
शिक्षक आन्दोलनका कारण २ वैशाखमा सुरु भएको विद्यार्थी भर्ना अभियानसमेत रोकिएको छ । शिक्षक आन्दोलनकै बीचमा शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिइसकेकी छन् ।
सरकारले निजामती कर्मचारीलाई प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको बेला निजामती कर्मचारी ट्रेड युनियनले असन्तुष्टि जनाएको छ । मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा युनियनका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । समितिका सभापति रामहरि खतिवडाका अनुसार बैठकमा युनियनका अध्यक्ष लगायत अन्य नेताहरूले आफूहरूलाई कक्षा १२ को परीक्षामा सहभागी गराउन नमिल्ने बताएका छन्।
यता नेपाल विद्यालय कर्मचारी परीषद्ले २४ घण्टाभित्र विद्यालयको चावी लिएर काठमाडौँको आन्दोलनमा अनिवार्य सहभागी हुन सबै प्रदेश, स्थानीय कार्यसमिति र कर्मचारीहरूलाई निर्देशन दिएको छ । परिषद्ले मंगलबार विज्ञप्ति जारी गरी कक्षा १२ को परीक्षामा सहभागी हुन लागेको जानकारी आएको भन्दै उनीहरूलाई यस्तो निर्देशन दिएको हो । यो शिक्षक कर्मचारीहरूको आन्दोलनमा कसैलाई छुट नहुने पनि परिषद्ले जनाएको छ ।
‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको हुँदा जारी प्रेस विज्ञप्तिमार्फत सूचना प्राप्त भएको २४ घण्टामा चावी लिएरै काठमाडौँमा जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ।
यता राजनीतिक नेताहरुले समेत आन्दोलन नछाड्न शिक्षकहरुलाई आग्रह गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालले शिक्षकहरूका माग सम्बोधनमा सरकार गम्भीर नभएकाले आन्दोलन नछोड्न आग्रह गरेका छन् । उनले धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन उनको आग्रह छ । ‘रुतपाईंहरूले पटक–पटक आन्दोलन गर्नुभएको छ, पटक–पटक सम्झौता भएको छ र पटक–पटक धोका भएको छ । यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ,’ दाहालले भने ।