पंकज दाहाल
दमक/ दमक नगरपालिकाका मेयर राम कुमार थापाले नगरपालिका क्षेत्रमा रहेको भूमि सम्बन्धी समस्या समाधानको कार्य चाँडै अघि बढाइदिन भूमि आयोग झापालाई अनुरोध गरेका छन् । आइतबार एक अनुरोध पत्र लेख्दै दमक नगर प्रमुख थापाले यस्तो अनुरोध गरेका हुन् । भूमि आयोग झापाको अध्यक्षमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य मदन अधिकारी नियुक्त भइसकेका र आयोगले पूर्णता पाएको भन्ने सुन्नमा आएको छ । यस्तो अवस्थामा अब काम थाल्न आग्रह गर्दै दमक नगर प्रुमख थापाले विशेष चासो राखेका हुन् ।
यसअघि तिलक पाण्डेको नेतृत्वको आयोगले दमकका मेयर थापा सँगको समन्वय र सहकार्यमा वडा नं. १० का ३४ भूमिहीनलाई जग्गा धनीपूर्जा वितरण गरिसकेको छ । वडा नं. ४ र १० मा नाप जाँचको कार्य भइसकेको र जग्गा धनीपूर्जा वितरणका लागि दमक सेवा केन्द्रबाट आवश्यक सिफारिस समेत भएको थियो । तर केन्द्रमा सरकारको हेराफेरी हुँदा पाण्डे आयोग विघटन भएपछि गत जेठ महिनादेखि भूमिहीनलाई जग्गा धनीपूर्जा बाँड्ने काम रोकिएको थियो । मेयर थापाले विशेष चासो र सक्रियता देखाउँदा दमकमा शीघ्र काम भएको थियो । दमक नगरपालिकाले भूमिहीनहरुलाई सकेसम्म चाँडो जग्गाको धनीपूर्जा बाँड्न कार्यालय हाताभित्रै सेवा केन्द्र स्थापना गरेर सहजीकरण गरेको थियो । त्यसका लागि प्राविधिक कर्मचारीको व्यवस्था गरी केही बजेट समेत खर्च गरेको थियो ।
दमक नगरपालिकाले केही प्राविधिक कर्मचारी र भूमि आयोगको कामलाई द्रूत गतिमा अघि बढाउन सकेको सहयोग, सहकार्य र समन्वय गरेको थियो । सोही अनुसार सहयोग गर्न अहिले पनि तयार रहेको कुरा दमक नगर प्रमुख थापाले बताएका छन् । तर कामको थालनी हुनुप¥यो, भूमिहीन र अव्यवस्थित बसोबासीले जग्गाको धनीपूर्जा पाउनुप¥यो भनेर भन्छन्, मेयर थापा । यसका लागि नै उनले भूमि आयोग झापालाई औपचारिक रुपमा पत्र लेखेका हुन् । दमकको वडा नं. १ मा पनि जग्गा नाप जाँचको कार्य अन्तिम चरणमा पुगेको थियो ।
दमक नगरपालिकाले जानकारी गराएअनुसार पालिकामा जम्मा ५ हजार ९५० जनालाई जग्गाको निस्सा वितरण गरिसकिएको छ । निवेदन भने ६ हजार १५० जनाको परेको थियो । भूमि आयोग झापामा ९१ जनाको जग्गा धनीपूर्जा वितरणका लागि आवश्यक प्रकृया पुगेर अन्तिम चरणमा रहेको बुझिएको छ । थप ३ सय वटा फायर सहजीकरण समितिमा पेश भइसकेका छन् । तर बाँकी रहेको र पहिले अघि बढेको कार्यलाई अहिले बनेको अधिकारी नेतृत्वको आयोगले अब कसरी अघि बढाउने हो त्यो भने हेर्न बाँकी नै छ । तर दमकका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा धनीपुर्जा दिने कार्य सकेसम्म चाँडै अघि बढाउन र त्यसका लागि आवश्यक सकेको सहयोग, सहकार्य र समन्वय गर्न नगरपालिका तयार रहेको कुरा नगर प्रमुख थापाले बताए । दमकमा ५५७ भूमिहीन दलित, २ हजार ४५६ भूमिहीन सुकुम्बासी र ३ हजार १३७ अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ । यि सबै भूमिहीन सुकुम्बासीहरुको समस्या चाँडै समाधान गर्न पनि नगर प्रमुख थापाले आग्रह गरेका छन् ।
भूमि…..यसअघिको आयोगले दमक नगरपालिकाको सहयोगमा यो क्षेत्रका भूमिहीनहरुलाई जग्गा धनीपुर्जा बाँड्ने कार्य र प्रकृया तीव्र गतिमा अघि बढाएको थियो ।
यतिबेला फेरी आयोगले नयाँ नेतृत्व पाएपछि दमकका भूमिहीन सुकुम्बासी लगायत दिनहँु आफ्नो सम्पर्कमा आइरहेको दमक नगर प्रमुख थापाको भनाई छ । उनीहरुले सकेसम्म चाँडो पहिलाकै गतिमा काम अघि बढाउन पहलकदमी गर्न भनिरहेको पनि उनले खुलासा गरेका छन् । दमक लगायतको क्षेत्रमा दशकौंदेखि भूमिहीन सुकुम्बासीहरुको समस्या ज्यूँ का त्यूँ रहेको छ । केहीले जग्गा धनीपूर्जा पाएपनि धेरैजसोले अझै पनि आफूहरुले भोग गरिरहेको जग्गाको स्वामित्व पाउन सकेका छैनन् । त्यसो हुँदा हजारौं भूमिहीनहरु पीडामा रहेका छन् ।