पोखरा । पर्यटकीय राजधानी पोखरामा ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ जारी छ । यो फेस्टिभलको बुकवर्म फाउन्डेसनको आयोजना गरेको हो ।
नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार फेस्टिभलको उद्धघाटन गरेका हुन् । यो फेस्टिभलको उद्घाटन समारोह अघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले विद्वत्व प्रवचन दिएका थिए । उनी इन्दिरा गान्धी ओपन युनिभर्सिटीको प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । उनले नेपालको अर्थतन्त्रको बारेमा आफ्नो प्रवचन दिए ।
फेस्टिभलको उद्घाटन समारोहमा मन्त्री गुरुङले परिवर्तनका लागि साहित्य एकदमै सशक्त माध्यम भएको बताए । यो कार्यक्रम सृजनात्मक समेत भएको पनि गुरुङले कार्यक्रममा बताए । ‘यो इनोभेटिज, क्रियटिसन हो र कार्यक्रम धेरै प्रकारका छन् । पोखरा नेपालमा भइराखेको कार्यक्रममध्ये यो एउटा नौलो कार्यक्रम हो,’ उनले भने ।
पर्यटन प्रवद्र्धन र विकासका लागि यो फेस्टिभलले महत्वपूर्ण भूमिका खेल्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले बताए । त्यस पछि भूमि लक्ष्मी पराजुलीद्वारा लिखित ‘मर्मेड ह्वेल प्रिन्सेस’ नामको चित्र कथा पुस्तक विमोचन गरियो ।
बिहीबार दिउँसो महोत्सवमा कान्ति शेरचन र कविता शेरचनसँग वसन्त थापाले संवाद गरे । सोही क्रममा महोत्सवमा अलि मियाँ कक्षमा दिउँसो २ बजेदेखि ३ सम्म सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङसँग विजय तिमल्सिनाले सञ्चार क्षेत्रमाथि केन्द्रित संवाद गरे । मन्त्री गुरुङले सञ्चार ऐनदेखि साईवर सेक्युरिटीसम्मको योजना सो क्रममा सुनाए ।
यो महोत्सवमा बिहीबार दिउँसो भूपी शेरचन कक्षमा अध्यात्म र संघर्षमाथि ‘अलि अलि हार हो, अलि अलि जित जित !’ शीर्षकमा अभिनेत्री मनीषा कोइरालाले लेखक एवम् पत्रकार विजय कुमारसँग संवाद गरिन् । उनले क्यान्सरमाथि आफूले गरेको विजयको कथा सुनाइन् । बलिउडमा संघर्षदेखि सफलतासम्मको कथा पनि उनले सो क्रममा सुनाइन् ।
भूपी कक्षमा दिउँसो ३ बजेदेखि ४ बजेसम्म मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भरत कोइरालाले प्रदेश सरकारका गतिविधि, अवसर र चुनौतीलगायत विषयमा संवाद गरे। बार्ताको क्रममा पाण्डेले प्रदेशको फाइदाको बढी चर्चा गरे ।
सोही क्रममा महोत्सवमा अलि मियाँ कक्षमा ‘रैथाने ज्ञानको विज्ञान’ सत्रमा सीता मादेम्बाले सुभाष नेपाली, गीता चौधरी र सुरेश ढकालसँग संवाद गरिन् । उनीहरूले रैथाने उत्पादनदेखि संस्कृतिसम्मलाई जोगाउने ’दयगत आफ्ना भनाई राखे ।
महोत्सवमा नेकपा (एमाले) नेता एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले भूपी कक्षमा दिउँसो ४ बजेदेखि ५ बजेसम्म एकल संवाद अन्तर्गत राजनीतिका सुख–दुःखका कुरा सुनाए । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मासँग अधिकारीले बार्ता गरेका हुन् ।
अलि मियाँ कक्षमा सोही समयमा केशव शरण लामिछानेले प्रेम र साहित्यमाथि केन्द्रित रहेर भावेश भुमरी र प्रणिता चाम्लिङसँग संवाद गरे ।
भूपी कक्षमा साँझ ५ बजेदेखि ६ बजेसम्म ओमविक्रम विष्टको सांगीतिक प्रस्तुति गरियो । उनले आफ्ना पुरानादेखि नयाँ गीतहरु सुनाए । सोही समयमा उता अलि मियाँ कक्षमा गौरी तमुले प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापासहित विष्णु सिञ्जाली र जुनाकुमारी गुरूङले गण्डकीका गुरुङ र मगर भाषाको विषयमा आफ्ना बिचार पोखे ।