देश–समाज लेख शिक्षा

सामुदायिक विद्यालय सुधारका मापदण्ड

सामुदायिक विद्यालय सुधारमा शैक्षिक बुद्धिजीवी, विद्यालय व्यवस्थापन समिति, पूर्व विद्यार्थी, प्रधानाध्यापक एवम् शिक्षकवर्ग वा स्थानीय तहले केही प्रयास गरिरहेका छन् । त्यसबाट केही सुधारका परिणाम पनि आउन थालेका छन् ।
अक्सर सामुदायिक विद्यालय सुधारको मापदण्ड विद्यार्थी संख्या वृद्धिलाई मान्ने गरिएको छ । तर, त्यसले मात्र विद्यालय सुधारको स्तर निर्धारण हुन सक्दैन । अझ विद्यालय नजिकका विद्यार्थी विश्वास नलागेर टाढाटाढाका र महँगा विद्यालयमा जाने अनि परपरका विपन्न विद्यार्थी आएर संख्या वृद्धि हुने अवस्थामा सामुदायिक विद्यालयको स्थितिमा खासै सुधार आएको मान्न सकिन्न । त्यसैले विद्यालय सुधार भए नभएको जाँच गर्न निम्न विषयवस्तुलाई आधार बनाउन सकिन्छ ः
१. उत्तरदायी शिक्षक
शिक्षकले समयको परिपालना गर्नुपर्छ । विद्यालय पुग्ने र फर्किने, कक्षा प्रवेश गर्ने र छाड्ने, बिदा लिने वा नलिने सन्दर्भमा समयको ख्याल भइरहेको छ भने त्यसलाई ‘बिहानीको सङ्केत’ मान्न सकिन्छ । फुर्सद घण्टी, विद्यालय समयअघि र पछि, बिदाको समय शिक्षकले सदुपयोग गर्दा स्वतः सुधारका लहर देखिन्छन् । केही शिक्षकको हकमा कहिल्यै पुस्तक नपढ्ने प्रवृत्ति देखिन्छ । कसैमा विद्यालय सुधारलाई बोझ ठान्ने सोच भेटिन्छ । विद्यालय सुधारमा शिक्षकको अपनत्व र उत्तरदायित्व अपरिहार्य शर्त हो ।
शिक्षकले पेशालाई जागिर मात्र होइन कि कर्तव्य सम्झेर अघि बढ्नुपर्छ । समाज र देशका कर्णधार तयार पार्ने कामलाई हल्काफुल्का लिँदा त्यसको असर सामुदायिक विद्यालय कमजोर हुने र देशले योग्य नागरिक नपाउने अवस्थासम्म पुग्छ । एउटा भनाइ छ कि शिक्षकले विद्यार्थीलाई छोराछोरी सम्झिनुपर्छ । आफ्ना छोराछोरीको शिक्षाप्रति चिन्तित हुने तर आफूले पढाइरहेका विद्यार्थीलाई बेवास्ता गर्ने गरेको पाइएकाले यस्तो भनाइ स्थापित गरिएको होला । फेरि, छोराछोरी त सम्झिने तर मीतका छोराछोरी सम्झिनु भनेको झन् खतरा हुन्छ भन्ने पनि छ । मीतका छोराछोरीप्रति मानिस साह्रै ढुक्क हुन्छन् रे । राम्रो गरेमा आफ्नैले गरे भन्ने तर राम्रो गर्न नसक्दा मेरा आफ्नै होइनन् भन्ने, दुवै अवस्थामा ठिक । त्यसैले विद्यार्थीलाई आफ्नै छोराछोरी ठान्नैपर्छ । शिक्षकमा बालमनोविज्ञान र विद्यार्थीसँग रमाउन सक्ने गुण हुनैपर्छ । शिक्षकको क्षमतामा विकास, भाषामा दक्षता र बोलीमा मिठास, कम्प्युटर तथा प्रविधिको ज्ञान, विषयवस्तुमा अद्यावधिक हुने गुणले शिक्षकको स्तरवृद्धि गरिरहेको हुन्छ ।
२. पठनपाठनमा सुधार
स्तरीय शिक्षकको सम्पूर्ण क्षमता कक्षाकोठामा पोख्ने वातावरण हुनुपर्छ । कार्यशाला वा तालिमका विषयवस्तु कक्षाकोठासम्म नपुगी बाटैमा हराउने गरेका गुनासा पनि छन् । शिक्षण विधि र सामाग्रीको तयारीसहित कक्षामा प्रवेश अनिवार्य हुन्छ । विद्यार्थीको सिकाइ क्षमतामा वृद्धि गर्न व्यवहारिक र खोजमूलक शिक्षण विधि अपनाउन सकिन्छ । खेल, कृयाकलाप र परियोजना कार्यमा आधारित शिक्षण विधि अभ्यास गर्नुपर्छ । परीक्षाले विद्यार्थीको सैद्धान्तिक तथा व्यवहारिक ज्ञानलाई प्रभावकारी ढंगले मापन गरेको हुनुपर्छ । नियमित कक्षाकार्य, गृहकार्य र खोजमूलक सामाग्रीलाई मुख्य आधार बनाउनुपर्छ । विद्यालयले क्यालेण्डरमा आफ्ना सबै कृयाकलाप समेटी कार्यान्वयन गनुपर्छ ।
३. शैक्षिक पूर्वाधारमा विकास
सुरक्षित, सरसफाइयुक्त र प्रविधिमैत्री कक्षाकोठा भएका विद्यालय भवन निर्माण भएको हुनुपर्छ । डिजिटल शिक्षालाई प्रबद्र्धन गर्न स्मार्ट बोर्ड र अनलाइन सामाग्री अनिवार्य भएका छन् । प्रयोगात्मक सिकाइलाई अभिवृद्धि गर्ने प्रयोगशाला र पुस्तकालय एवम् बुक कर्नरको व्यवस्था गरेको हुनुपर्छ । खेलकुद र वातावरण सरसफाइ, खानेपानी र शौचालयको उचित प्रबन्ध भएको हुनुपर्छ ।
४. समुदाय र अभिभावकको सहभागिता
विद्यालयको रेखदेख, अनुगमन र मूल्याङ्कन तथा स्रोत सङ्कलनका लागि समुदाय र अभिभावकको सहभागिता भइरहेको हुुनुपर्छ । विद्यालयका प्रत्येक गतिविधिमा उनीहरुको नियमित र सक्रिय सहभागिता अपेक्षित हुन्छ । यसबाट हरेक निर्णय प्रक्रियामा पारदर्शिता ल्याउन र विश्वास जित्न सफलता मिल्ने गर्छ । यसको आधारमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन हुने गरेको छ भने त्यसले विद्यालयलाई सुधारको दिशामा अग्रगमनतर्फ लैजान्छ ।
५. स्थानीय सरकारको प्राथमिकता
सामुदायिक विद्यालय सुधारका लागि सर्वप्रथम स्थानीय तह नीतिगत रुपमा प्रष्ट छ कि छैन भन्ने कुराले धेरै हदसम्म परिणाम निर्धारण गरेको हुन्छ । स्थानीय तहको प्राथमिकताको क्षेत्रमा सामुदायिक शिक्षा नरहेसम्म विद्यालय सुधारको दिगोपनप्रति विश्वस्त हुन सकिन्न । यसको अर्थ मुख्यतः बजेटको प्राथमिकता नै हो । बजेट अभावको कारण सञ्चालन खर्चको अभाव, शिक्षकको अभाव, न्यूनतम पूर्वाधारको अभाव स्वतः हुन जान्छ । त्यस्तो अवस्थामा विद्यालय सुधारमा जति प्रयास गरिएको भए पनि परिणाम आउन सक्दैन । शिक्षा सुधारको परिणाम देखिन धेरै वर्ष लाग्छ । तत्काल परिणाम खोजेर विद्यालय सुधारको मूल मुद्दा ओझेलमा पार्नु ठूलो भूल हुनेछ ।

Author

You may also like