मौसम परिवर्तन भएको छ । गर्मीबाट चिसो मौसम भित्रिएको छ । खास गरेर ज्येष्ठ नागरिक र बालबालिकाहरुलाई चिसोबाट बचाउन निकै सकस पर्दछ । चिसोबाट हुने र बढ्ने खतरा त छँदै छ । यो चिसोको समयमा मौसमी स्वास्थ्य समस्याले झनै सताउने गर्दछ । मौसम परिवर्तन भएर चिसो बढेसँगै अहिले धेरैलाई रुघाखोकी लाग्न थालेको छ । सामान्य कुरामा समेत ख्याल गरिएन भने हामीलाई चिसोले सताउँछ । मौसम फेरिँदा रुघाखोकी लाग्नु सामान्य भए पनि यसमा ख्याल गरिएन भने स्वास्थ्य अवस्था जटिल बन्न सक्छ । सामान्य रुघाखोकी त हो नि भनेर हामीले हेलचेक््रयाइँ गरेको अवस्थामा निमोनियासमेत नहोला भनेर भन्न सकिँदैन । हामीले हाम्रो आहारबिहारमा ध्यान पुर्याउन सकियो भने चिसोबाट सजिलै जोगिन सकिन्छ ।
चिसो मौसमका कारण हुने मौसमी रmघाखोकी तथा अन्य भाइरसजन्य सङ्क्रमणबाट जोगिन हामीले स्वास्थ्य सावधानी अपनाउनु नै उपयुक्त हुन्छ । हामीले हाम्रो खानपान तथा दैनिक जीवनमा थोरै मात्रामा सावधानी अपनाउन सकियो भने पनि हामीलाई मौसमी रुघाखोकीबाट छुटकारा मिल्न सक्छ । मौसमी रुघाखोकीबाट जोगिनका लागि हामीले दैनिक रुपमा पानी उमालेर खाने, चिसो खाने कुराको सेवन नगर्ने, बाक्लो तथा चिसो नछिर्ने खालका लुगाहरु लगाउने गर्नु नै उपयुक्त हुन्छ । खानामा समेत झोलिलो तथा स्वास्थ्यवद्र्धक खानेकुरा खान सकियो भने चिसोको कारण हुने सङ्क्रमणबाट हामी सजिलै जोगिन सक्छौँ ।
भाइरसका कारण लागेको रुघाखोकी सञ्चो हुनका लागि औषधि खाएमा एक हप्ता नखाएमा सात दिनमा निको हुन्छ भनेर चिकित्सकहरु स्वयंले भन्ने गरेका छन् । चिसोको समयमा मौसमी रुघाखोकीका बिरामी बढ्दै जाँदा स्वास्थ्य संस्थाहरुमा समेत बिरामीहरुको भिड लाग्ने गर्दछ । रmघाखोकीको उपचार गर्न स्वास्थ्य संस्थामा जाँदा त्यहाँबाट अन्य सङ्क्रामक रोगहरुले समेत आक्रमण गर्न सक्छन् । सामान्य रुघाखोकी लागेको अवस्थामा स्वास्थ्य संस्थामा जानुभन्दा घरमा नै उपलब्ध हुने जडिबुटीजन्य वस्तुहरुको सेवन गर्न सकेमा फाइदा पुग्दछ ।
चिसोको कारण रुघाखोकी लागेको अवस्थामा पानीमा तुलसी पत्र, अदुवा, बेसार लगायतका जडिबुटीजन्य पदार्थहरु हालेर उमालेर पिउँदा चिसोका कारण हुने रmघाखोकीबाट छुटकारा पाउन सकिन्छ । त्यस्तै राति सुत्नु अगाडि तातो पानीको बाफ लिएर सुत्दा समेत यसले आराम प्रदान गर्दछ । अतः सामान्य रुघाखोकी भनेर खेलवाड गर्नुको साटो यसबाट जोगिने उपायहरु अपनाउँदै स्वास्थ्यप्रति सचेत हुनु नै अहिले श्रेयष्कर हुनेछ ।
