दमक/ मानवसेवा आश्रमले चाडपर्व लक्षित सहयोगापेक्षी सडकमानवहरुको उद्धार अभियान ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ सोमबारबाट औपचारिक रूपमा सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न उक्त समारोहमा बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले १२ वर्ष सम्म निःस्वार्थ सहयोगापेक्षी सडक मानवमुक्त अभियान चलाएका मानवसेवा आश्रमका १०१ अभियन्तालाई सरकारले जीवनयापन गराउन सुविधा दिनुपर्नेमा ध्यानाकर्षण भएको बताएका छन् । २०८२ सालमा मुलुकलाई सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र बनाउने हो भने मुलुकका ६ हजार ७ सय ४३ वडाले सहयोगापेक्षी सडक मानव खोज्न आश्रमलाई सघाउनु पर्ने उनको धारणा छ । सरकारले गर्नुपर्ने काम आश्रमले गरिरहेकाले मुलुकलाई सडक र साङ्ला मानव शून्य बनाउन सबै पालिकाले काम गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याएका छन् ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली पत्नी (प्रथम महिला) राधिका शाक्यले आश्रममा आश्रित १८९० सहयोगापेक्षी सडक मानवहरूको मानसिक अवस्था सवल नरहेकाले उनीहरूको स्वास्थ्य स्याहार र हेरचाह गर्नु सामान्य कार्य नभएको बताइन । शाक्यले भनिन्, ‘मुलुकमा मानवीय भावना उँभो लाग्नु पर्नेमा झन् झन् ओरालो लागेको छ, कसरी हुन्छ समाजलाई परनिर्भर बनाउन, हाम्रो समाज नै लागि पर्दा दुःख लागेको छ’ मानव सेवा आश्रमको सेवा भाव देखेर आफूमा उत्पन्न वितृष्णा हट्ने गरेको उनको धारणा छ ।
त्यस्तै समारोहमा सम्बोधन गर्दै पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आश्रमले गरिरहेको सहयोगापेक्षी सडक मानव उद्धार कार्य प्रशंसनीय रहेको बताए । उनले भने– ‘मानवसेवाका अभियानकर्ताहरूले रातदिन सेवा गर्नु अकल्पनीय र असाधारण कार्य हो । एक पैसा पनि विदेशीको सहयोग नलिईकन सेवा गर्नु यो आफैमा पुण्य काम हो । एउटा संस्थाले सहयोगापेक्षी सडक मानव मुक्त कार्यक्रम घोषणा गर्न सक्छ भने सरकारले किन नसक्ने ? म सरकारमा छँदा मानवसेवा आश्रमका अभियानलाई सघाउन विभिन्न कार्यक्रम घोषणा गरे पनि त्यसको लागि स्रोत साधनको व्यवस्था अझै हुन सकेको छैन ।
सात वटै प्रदेशलाई उद्धारका लागि सवारी साधन दिने भनिए पनि उपलब्ध गराउन अझै सकेको छैन । सरकारले प्रतिबद्धता अनुसार
सातवटै……. काम गर्नु पर्दछ । आश्रमले थालेको २०८२ साललाई सहयोगापेक्षी सडक मानव मुक्त घोषणालाई सरकारले आफ्नै ठानेर सहयोग गर्नु पर्छ ।’ उनले आफू सरकारमा छँदा आश्रमलाई दिन्छु भनिएको ७५ लाख समेत सरकार परिवर्तन हुँदा पनि आश्रमले पाउन नसकेको तितो यथार्थ पोखे । त्यस्तै आश्रमका सद्भावना दूत मह जोडीको तर्फबाट कलाकार हरिवंश आचार्यले आफ्नो एउटै मात्र मन्दिर भएको र त्यो मानव सेवा आश्रम भएको बताए । कालाकार आचार्यले सातै प्रदेशका सरकारले मानव सेवा आश्रमलाई सहयोग गर्नु पर्ने आवश्यकता औंल्याए । मानव सेवा आश्रमका लागि आर्थिक सहयोग जुटाउन १० वर्ष पछि मानव सेवा आश्रमका लागि आश्रमको सहयोगको लागि मंगलबार प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आफूहरूले मह जात्रा आयोजना समेत गरिएको छ ।
समारोहमा काठमाडौँ महानगरपालिकाकी उप मेयर सुनिता डङ्गोलले मानवसेवा आश्रमको साथमा महानगरको साथ रहेको बताइन् । उनले सहयोगापेक्षी सडक मानव मुक्त बनाउन ८ करोडको बजेट कामनपाले छुटाएको पनि जानकारी गराइन् । उपमेयर डङ्गोलले नागार्जुनमा सहयोगापेक्षी सडक मानव स्क्रिनिङ सेन्टरका लागि पहल भइरहेको यसले सहयोगापेक्षी सडक मानव मुक्त नेपाल बनाउन थप टेवा पुग्ने विश्वास समेत व्यक्त गरिन् ।
समापन समारोहमा आश्रमका अध्यक्ष रामजी अधिकारीले उद्धार अवधिका प्रगति विवरण प्रस्तुत गरे । अध्यक्ष अधिकारीले ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका राष्ट्रिय उद्धार टोलीले देशका सातै वटा प्रदेशका ४४ जिल्लामा ३८ दिनको उद्धार अवधिमा २३६ जना उद्धार गरिएको बताए । उद्धार गरिएकामा १ सय ७९ जना पुरुष र ५७ महिला मध्ये ५ जना बालिका र ४ जना बालक रहेका छन् ।
समापन समारोहमा वसन्त आचार्यद्वारा लिखित पुस्तक आमा लोकार्पण समेत गरिएको थियो । पुस्तक विक्री बापतको रकम मानव सेवा आश्रमका लागि प्रदान गरिने गरी पैरवी बुक हाउससँग सम्झौता समेत गरेको छ । कार्यक्रममा मानवता प्रवर्द्धन अभियन्ता, तथा आनी छोइङ ड्रोल्माले २०८२ सालसम्म सहयोगापेक्षी सडक मानव मुक्त बनाउने संकल्प रहेको बताइन् । मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ का लागि आनी छोइङ ड्रोेल्मा फाउन्डेसनकाको आर्थिक सहयोग रहेको छ । समापन समारोहको अवसर पारेर कार्यक्रममा ३ सय जना भन्दा बढी भारतीय सहयोगापेक्षी सडक मानव (नागरिक) लाई पारिवारिक पुनर्मिलन गराउन अहोरात्र खट्नु भएका हेटौँडा उप महानगरपालिकाका स्वास्थ्य विभागमा कार्यरत भोला चौलागाई सम्मानित भएका छन् ।
उक्त समारोहमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ को उद्धार अनुभूति सहितको वृत्तचित्र प्रदर्शनी गरिएको थियो । वृत्तचित्रले सहभागी सबैलाई भावुक बनाएको थियो । समापन समारोहमा कार्यक्रममा संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर, सांसदहरु, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।