देश–समाज विचार/वहस

बेथिति र भ्रष्टाचार रोक्ने कसले ?

नसुनौ भन्दा सुन्नै पर्ने । नलेखौ भन्दा लेख्नैपर्ने । केही गर्दा नरोकिने भो यो स्वतन्त्र कलम , लेख्नै पर्ने भो । देखेर केर्नै पर्ने भो । जीवनकालको यो घडीसम्म आइपुग्दा हजारभन्दा बढी यथार्थ दृष्टिकोण लेखिएछ, यो मङ्सिर महिनासम्ममा । म कहिले बिर्सन्न यो महिना, जुन महिना जाडो थियो, यही मौसमका बेला छाना, नाना र दानाका निम्ति आफ्नो योग्यताको ठेली बोकेर राजधानी जागिरको निम्ति हिडेको नि आज २६ औं वसन्त पार गरिसकेछ, थाहै नपाई । समयले हामीलाई कति छिटो छलाङ्ग मार्न सिकायो । यही समयसङ्गै जीवनका आरोह – अवरोह पार गर्न केही न केही कर्म गर्नैपर्दो रहेछ, जीवन ज्यूनै पर्दोरहेछ ।
यसै क्रममा साहित्य र कलाकारितालाई आफ्नो सङ्गी सम्झेर यही दमक भूगोलको हिमाबि स्कुलमा पढदा ताका आदरणीय गुरुदेवहरु र कलाकारितामा लागेका मित्रहरुबाट धेरै कुरा सिकियो, रङ्गमंचले धेरै थोक सिकाउदोरहेछ । यही विविध बिषय सिकियो सिकाईको पाठशाला हिमावी स्कुलबाट । हिजोका दिन सम्झदा कति यादगर लाग्छ यो जिन्दगी । यो जिन्दगी खै के जिन्दगी ? जिन्दगीका स्वप्निल घुम्टोहरुमा रमाइला तीतामीठा यादहरु एउटा अतीत बनेर आउँदो रहेछ, ती अतित सबै यादमा आउँदा रहेछन । यी सबैलाई अक्षर – अक्षरमा गास्नै पर्दोरहेछ ्र लेख्ने त हामी हौं, जसले समाजभित्रका सामाजिक, धार्मिक, राजनीतिक बिषय बस्तुहरुलाइ शब्द – शब्दमा उन्दो रहेछ, त्यही धरातलमा उभिएर हामी यथार्थ बिषय उठान गर्छौ । तर बिडम्वना अचम्मको छ, लेख्नेहरुलाई घोचपेच अलि बढी हुँदो रहेछ त्यो नै कलमजीवीले जीत मान्नुपर्दो रहेछ । हो, आज एउटा यस्तो विषयवस्तु तपाईंहरु माझ उठान गर्दैछु जुन यथार्थपरक छ ।
आजको बिषय छ, बेथिति र भ्रष्टाचार रोक्ने कसले ? यही पेरिफेरिमा आजको मेरो स्वतन्त्र कलमले यथार्थ टिपोट गर्दैछ । जतिजति देशमा राजनीतिक संकट छ, त्यतित्यतिनै हरेक क्षेत्रमा भ्रष्टाचारी र घुसखोरी दिनकादिन बढिरहेको छ । मौकामा चौका दाउ हान्नेहरु बढिरहेका छन । विचौलिया र भूमाफियाको झुण्डहरुको तालमेल यति मिलिरा छ, यहाँ गणना गरेरै सकिन्न । जहाँपनि जतापनि राजनीतिक संरक्षण दलहरुले दिएकै कारणले गर्दा बेथिति बढदो छ । तपाईंहरु हरेक क्षेत्रमा हेर्नुस्, बुझ्नुस् कहीं कतैपनि भ्रष्टाचार अनि घुसखोरी नभएको क्षेत्रै देख्नुहुन्न । कुनै सरकारी कार्यलयमा जानुहोस् १० बजे अगावै उनीहरूले तपाईंलाई देख्ने बित्तिकै नमस्कार गर्छन, काम लिनका लागि । यसका लागि तपाईं तम्तयार हुनैपर्छ, रकमको दलाल बढाबढ । साना भुँइ मान्छेहरु जो सिधासाधा छन, उनीहरूको काम कहिल्यै छिटो हुन्न किनकि दाम नचढाएरै हो । यो बिकृति हिजो थिएन, आज छ । यो हुनु भनेकै लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाउनु हो, हिजोको एकतन्त्रीय पन्चायती ब्यबस्थामा तानाशाहहरुले राज्य गर्थे उतिबेला राम्रो शासन पद्धति थिएन भनेर हिजो कुर्लिने आजका लोकतान्त्रिक सत्ताधारीहरुलाई लज्जाजनक हुनुपर्ने हो तर त्यो सम्म हुन्न, उनीहरूलाई ।
यतिसम्म नालायक छन मिलिजुली खाने नेताहरु, जब कि अनेकन काण्डमा मुछिएकाहरु अहिलेपनि सबैभन्दा ठूलो मन्त्रालय सम्हालेर बसिरहेका छन तिनकै पछि लागेर हिडने कार्यकर्ताहरु उनीहरूकै भजन गाइरहेका छन, उनीहरूले भ्रष्टाचार गरेपनि सुनपानीले कर्तुत पखालिरहेका छन । यो क्रम तीन तहमै जारी छ, भ्रस्टाचार गर्ने ब्यक्तिलाई पुरस्कार पाउने र समयसेवक ब्यक्तिलाई पाखा लगाएर गुण्डाराजहरुको झुण्डलाई हाईहाई गर्ने परिपाटी अहिले पनि जस्ताको त्यस्तै छ । आज स्वयं हामीले हामीलाई नै धिक्कार गर्नुपर्ने हो त्यो सम्म गर्दैनौ हामी  । आज “दलाल“ “बिचौलिया“हरुलाई दाम चढाउन हतारहतारमा तिनकै पछिपछि दगुर्छौ । भाषण गर्नुपर्दा तिनको उछित्तो काढ्छौ अनि तिनकै आम्नेसाम्नेमा मिलिभगतमा दामको कारोबारी गर्न अघि बढिरहन्छौ । हाम्रा नेताहरू भ्रष्ट ब्यक्तिहरुलाई दण्डित गर्दैनन बरु प्रश्रय दिन्छन । यस्ता भ्रष्ट ब्यक्ति र घुस लिनेदिने ब्यक्तिलाई सिढी चढाउने काम तपाईं हामीले गरेका छौं किनकि हामीलाई काम छिटो चाहिएको छ ।
कामहुनुभन्दा अघिल्लो दिनमै हामी उनीहरूलाई घुस दिन्छौ र तुरुन्तै हाम्रो काम भइसकेको हुन्छ या त तपाईंकै घरमा ती घुसखोरीहरु आएर फायल दिएर जान्छन । देशमा लोकतान्त्रिक गणतन्त्र त आयो तर छाडातन्त्र दिनदिनै मौलाइरहेको छ । अर्को लाजमर्दो कुरा के पनि छ भने ट्रान्स्परेन्सी नेपालले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार उल्लेख गर्नुपर्दा – सेवाग्राहीले कार्यलयका श्रोत ब्यक्तिलाई सोझै नभेटी तेस्रो पक्षको सहयोगबाट सेवा लिने क्रममा घुस खुवाउनुपर्ने अवस्था धेरै भेटिएको छ । कतिपय कार्यलयका कर्मचारीहरु त दलालहरुको ढोकैमा गएर कागजात मिलाई दिएर रकम लाने गरेको प्रत्यक्ष भिडियो हामीले विभिन्न संचार मिडियाबाट अवगत भएकै छ । मालपोत लगायतका अन्य कार्यलयहरुमा जाने एकतिहाईले घुस दिनैपर्ने बाध्यता हिजोपनि थियो यो क्रम अहिलेपनि जारी छ । नापी र भूमिसुधार कार्यलयमा पनि ३० प्रतिशत सेवाग्राहीले अतिरिक्त खर्च गर्नुपरिरहेको छ । सर्वेक्षणका क्रममा २० प्रतिशत भन्दा बढी घुसखोरी हुनेमा नापी, मालपोत, भूमिसुधार, कर कार्यलय, जिविस, यातायात कार्यलय परेका छन ।
अदालतमा समेत १३ प्रतिशत सेवाग्राहीले १०० देखि १००० रुपैयाँ सम्म रकम खुवाउनु परेको अवस्था बिधमान छ । सेवा र प्रक्रियाबारे पर्याप्त सूचना संप्रेषणको अभाव, शिक्षाको कमी लगायतका कारणले सार्वजनिक सेवा प्रवाह सहज र सुलभ हुन नसकेको प्रतिवेदनले औल्याएको छ । विगतका दिनमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको सर्वेक्षणमा ९० प्रतिशतले सेवाग्राहीले लेखनदास मार्फत घुस दिने गरेको खुलासा बिगतमै गरिसकेका छन । सेवा लिने मध्ये ८ प्रतिशतले सोझै कर्मचारीलाई घुस दिने गरेको भेटिएको थियो । सेवाग्राहीहरुको जनसम्पर्कमा आउने लेखनदासले घुस लिने र त्यो रकम कर्मचारीसम्म पुर्याउने गरेको सम्म भेटिएको छ । यस्तो बेथितिको जडनै राजनीतिक अस्थिरता, खिचातानी, प्रजातान्त्रिक पद्धतिको अभावलाई लिन सकिन्छ । लोकतान्त्रिक शासन पद्धतिमा सरकारी निकायबाट प्राप्त गर्ने सेवाका निम्ति आमनागरिकले घुस बुझाइरहनुपर्ने परिपाटीको अन्त्य कहिले हुने ?
कसैको कर्णकान खुलेको छ अहिलेसम्म ? आज सत्य निष्पक्ष रूपमा समाचार लेख्दा, यथार्थ भिडियो सामाजिक संजालका भित्ता भित्तामा राख्दा सम्म राजनीतिक दल र प्रशासकहरुको घैटोमा घाम लागेर त्यस्ता अबैध कामगर्ने घुसखोरीलाई कार्वाही सम्म हुन्न । यतिमात्र होइन हामी हरेकजसो सरकारी कार्यलयमा जाऔ त त्यहाँ नागरिक बडापत्रका ठूला – ठूला बोर्डहरु कार्यलय परिसर भित्र राखिएको हुन्छ त्यतिमात्र होइन “भ्रष्टाचारीलाइ निषेध“ सम्म लेखेको पाइन्छ । तर त्यही नारा र बोर्डभित्र बसेर कामगर्ने कर्मचारीलाई हामी आँखाको इशाराले दाम चढाई काम गर्छौ, हामीलाई छिटो काम चाहिएको छ । काम छिटो भएपछि भइ गयो हामीलाई । अनि हामी भ्रष्टाचार रोक्छौ उनीहरूलाई कारवाही गर्छौ भन्छौ, हामीलाई अलिकति पनि लाज छैन, बुझेर बुझ पचाइरहेका छौं । यी सबैको निराकरणका निम्ति हामी सुतेर होइन जुटेर अघि बढौ । अनिमात्र भ्रष्टाचारमुक्त देश बन्नेछ, नेपाल ।

Author

You may also like