देश–समाज मुख्य राजनीति राष्ट्रिय समाचार

माओवादी केन्द्रले सुरु ग¥यो सरकार विरुद्धको खबरदारी, खबरदारीसभा देशव्यापी बन्ने

काठमाडौं/सरकार चौतर्फी रुपमा घेराबन्दीमा परिरहेका बेला माओवादी केन्द्रले खबरदारी सभाका नाममा सरकारका विरद्धमा आन्दोलन छेडेको छ । प्रतिपक्षसँग राम्रो सम्बन्ध नभएको सरकारले यतिबेला संसदको आँखा छलेर अनेकन विधेयक ल्याएर कानुन बनाउने रणनीति गर्दै गर्दा माओवादीले उक्त खबरदारी सभाको आयोजना गरेको हो । सरकार विरोधी नेता तथा कार्यकर्ता छानी छानी जेल हाल्ने र कुनै न कुनै मुद्दा लगाएर उसलाई उठ्न नदिने रणनीति बनाएको सरकारका विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र अब निरन्तर लागिरहने पनि बताएको छ । माअ‍ोवादीले केन्द्रले शनिबार काठमाडौं बृहत खबरदारी सभाको आयोजना गर्दै उक्त कुराको खुलासा गरेको हो ।
सो खबरदारी सभाका प्रमुख वक्ता तथा पूर्वप्रधानमन्त्री समेत रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थीलगायतका विभिन्न काण्डका मुद्दाका सवालमा सरकारलाई गम्भीर चुनौती दिएका छन्  । सरकार नसुध्रिए सडकदेखि संसद्सम्मै प्रतिरोध गर्ने चेतावनी दाहालले दिएका हुन्रु । खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले नक्कली भुटानी शरणार्थी, बाँसबारी, गिरीबन्धु, बालमन्दिर लगायत काण्डबारे प्रश्न गरेका हुन् । उनले भने–‘प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किन भने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने । आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले सत्ता पक्षीय दलका नेताहरूलाई सच्चिन सुझाव दिए ।
‘नत्र संसद् र सडकमा तपाईंहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ । जसको तपाईंहरूले कल्पना गर्नुभएको छैन,’ दाहालले भने, ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ । यो हर्कत सरकारका लागि महँगो पर्ने छ ।’
सम्बोधन गर्ने क्रममा सो पार्टीका अध्यक्ष ‘प्रचण्ड’ले खबरदारी सभालाई देशव्यापी बनाउने पनि बताएका हुन् । दहालले शनिबारको खबरदारी सभाकै प्रकृतिका सभा आयोजना गर्ने कार्यतालिका बनाएर पार्टीका तल्लो तहलाई परिपत्र गर्ने तयारी गरिएको बताए । ‘यो खबरदारीसभालाई अब देशका सबै पालिकामा, देशका सबै वडामा हामी कार्यक्रम बनाएर पठाउने उद्घोष पनि गरे । प्रचण्डले अब सरकारविरुद्ध वडा तहसम्म कार्यक्रम गर्ने र सरकारले गम्भीरतापूर्वक नलिए खबरदारी सभा, विरोध सभा र आन्दोलनमा परिणत हुने चेतावनी पनि दिए ।
विशेष अधिवेशन माग
खदरदारीसभा…..‘देशभरी विशाल खरबदारीसभा गरेर, अनि अन्तिममा जरुरी परेर सरकारले निहुँ खोज्यो भने हामी सदनभित्र विशेष अधिवेशन माग गर्नेछौँ,’ उनले भने, ‘हामी संवैधानिक तरिकाले उनीहरूका विरुद्ध संघर्षमा जानेछौँ । उनीहरूले हाम्रो कुरालाई गम्भीर रूपले लिएनन् भने यो खबरदारीसभा विशाल विरोध सभा र आन्दोलनमा परिणत हुनेछ । अब हेक्का राख्ने जिम्मा सरकारकै हो ।’ माओवादी अध्यक्ष दाहालले जनतासँग मिलेर माओवादीले नयाँ अभियानमार्फत् समाजवादी क्रान्तिको आधार तयार पर्ने संकल्प गरेको भन्दै यसलाई कसैले खेलाँची नठान्न पनि सुझाव दिए । छोटो समयको सूचनाबाट अपार उपस्थिति र उत्साहले नयाँ आन्दोलनका निम्ति, नयाँ अभियानका निम्ति हामीलाई नयाँ ऊर्जा दिएको बताए । दाहालले भने, ‘तर, जनतासँग मिलेर एउटा नयाँ अभियानमार्फत् समाजवादी क्रान्तिको आधार तयार पर्ने संकल्पमा छौँ । यसलाई कसैले खेलाँची नठानोस् ।’
सम्बोधनमा प्रचण्डले भने– ‘तपाईंहरू जसरी भ्रष्टाचारीको रक्षाका निम्ति सुशासनको विपक्षमा, बिचौलियाहरूको पक्षमा जाँदै हुनुहुन्छ,’ प्रचण्डले भने, ‘तपाईंहरू आफैं कुहिएर झर्नुहुनेछ ।’
सरकार भ्रष्टाचारीको रक्षाको निम्ति बिचौलियाको पक्षमा गइरहेको आरोप लगाउँदै दाहालले सत्ता पक्ष कुहिएर झर्दा माओवादीलाई दोष दिन नपाइने भन्दै सरकार ढाल्नका लागि खबरदारी सभा आयोजना नगरिएको दाबी पनि गरे । दाहालले असोज दोस्रो साता परेको अविरल वर्षापछि देशका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानका बेला सरकारले राहत तथा उद्दारमा देखाएको गैरजिम्मेवारीपना आगामी दिनमा नदोहो¥याउन पनि सुझाव पनि दिए ।
उनले बाढीपहिरोका क्रममा सरकारले चरम लापरवाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनस्र्थापनामा लापरवाही नगर्न खबरदारी गरे । ‘हिजोको लापरवाही फेरि नदोहोरियोस् । राहत र पुनस्र्थापनाको काम जिम्मेवारीपूर्वक निभाइयोस्,’ दाहाल भने ।
वर्तमान सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पङ्क्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सय दिन पुग्दा–नपुग्दै आफूहरूले गरेको आशंका सरकार आफैँले पुष्टि गरेको बताए । उनले माओवादी केन्द्रले खबरदारी सभा राख्नेबित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको बताए । ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौँ, बरु सरकार ढल्छ भनेर, थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो,’ दाहालले भने । माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उनले आफूहरूले दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए ।
प्रचण्डको आरोप– अपराधलाई उत्सवको रुपमा मनाउने
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । खबरदारी सभामा बोल्दै उनले प्रधानमन्त्री ओलीको स्वभावमाथि प्रश्न उठाउँदै ओलीले अपराधलाई पनि उत्सवको रुपमा मनाउने गरेको आरोप लगाएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीको बारेमा मैले भन्नुभन्दा बढि तपाईहरूले बुझ्नुभएको छ । उहाँको खास स्वभाव छ । अरुले गर्नुहुन्न भनेपछि त्यो काम गरीहाल्नुहुन्छ । उहाँले आत्मसमीक्षा गर्नुहुन्न । अपराधलाई पनि उहाँले उत्सवको रुपमा मनाउनुहुन्छ, त्यो पनि उहाँको विचित्रको स्वभाव छ ।’ उनले अहिलेको सरकार प्राकृति विपत्तिमा नदेखिने र नराम्रा काममा देखिने गरेको पनि बताए। उनले भने,‘ सरकार कहाँ देखिन्छ त दल विभाजन गर्न, कुलमान हटाउन, उपसभामुख हटाउन । त्यस्ता ठाउँमा देखिन्छ सरकार ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई बचाउनका लागि बनेको आरोप लगाएका छन् । उनले अहिलेको सरकार जालझेल गरेर बनेको बताएका हुन् ।

Author

You may also like