३ असार, दमक । दमक नगरपालिकाले १० वडाका लागि कुल १६ करोड सहितको बजेट असार ९ गते सार्वजनिक गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सदाका वर्ष झैं जनसंख्यालाई ४५ प्रतिशत, क्षेत्रफललाई ३५ प्रतिशत, गरिबीलाई १० प्रतिशत र वडागत आम्दानीलाई १० प्रतिशतका दरले वडागड बजेट सिलिङ निर्धारण गरिएको छ । ती मापदण्डका आधारमा सबैभन्दा बढी क्षेत्रफल समेत रहेको वडा नम्बर ३ लाई सबैभन्दा बढी २ करोड ९ लाख ९४ हजार २५५ रुपैयाँको सिलिङ प्रदान भएको छ । दोस्रो बढीमा वडा नम्बर ९ लाई १ करोड ८२ लाख ४९ हजार ४१३ र तेस्रोमा वडा नम्बर २ लाई १ करोड ८० लाख ७६ हजार ६६ रुपैयाँ विनियोजनको खाका बनेको छ । सबैभन्दा कम वडा नम्बर ६ लाई १ करोड २१ लख ४१ हजार ९७१ रुपैयाँको सिलिङ तय भएको दमक नगर उपप्रमुख एवं बजेट योजना तर्जुमा समिति संयोजक रेगिना भट्टराई प्रसाईंले बताइन् । त्यसमध्येबाट वडागत बजेटमा पनि पूर्वाधारमा सबैभन्दा बढी ६० प्रतिशत छुट्याइएको छ । त्यसपछि सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधारमा २० प्रतिशत, आर्थिक विकासमा १० प्रतिशत, मर्मत संभार र वातावरण तथा विपद् व्यवस्थापनमा ५५ प्रतिशत बजेट खर्च गर्नुपर्नै प्रावधान बनाइएको प्रसाईंले उल्लेख गरिन् ।

उपप्रमुख प्रसार्ईले आर्थिक वर्ष २०८१/८२ को वजेटका सन्दर्भमा शनिबार स्थानीय पत्रकारहरुसँग सुझाव माग्दै अन्तरक्रिया गरेकी छन् । बजेट तर्जुमा समिति संयोजक समेत रहेकी उनले बजेट तथा योजनाहरुको छनोटका लागि वडा वडाका टोल बस्तीहरुमा भेला भइरहेका बेला बजेट निर्माणको सन्दर्भलाई लिएर पत्रकारहरुसँग अन्तरक्रिया गरेकी हुन् ।

अन्तरक्रियामा पत्रकारहरुले स्थानीय सरकारलाई संविधानतः सञ्चार नीति ल्याएर समग्र सञ्चार जगतलाई सम्बोधन गर्न उपप्रमुख भट्टराईको ध्यानाकर्षण गराए । पत्रकारहरुले स्थानीय सरकारलाई योजना तथा बजेट, कार्यक्रमहरु टुक्रे खालका नल्याई ठोस उपलब्धि हुने किसिमका योजनाहरु ल्याउन सुझाव दिए । उनीहरुले नगरपालिकाको आन्तरिक आम्दानीका स्रोतहरुको भरपुर उपयोग गर्न, विभिन्न व्यवसायिक पसल कवलहरुको भाडा सम्झौता पुनरावलोकन गरेर बिचौलिया राज हटाउन, तालिमका नाममा भइरहेको फर्जी खर्चलाई कटौती गर्न, खोला नदीहरुको गिटी, बालुवा निकासीको ठेक्का पारदर्शी ढंगबाट लगाउन, अमानतमा राजश्व संकलन बन्द गरी पारदर्शीता प्रस्तुत गर्न, ठूला र महत्वपूर्ण योजनाहरुलाई परिणाममुखी बनाउन तर्फ स्थानीय सरकार अग्रसर हुनुपर्ने लगायतका सुझावहरु राखेका छन् । सो अवसरमा उपप्रमुख भट्टराईले सबै वडाहरुलाई बजेटको सिलिङ वितरण गरिएको र सोको आधारमा वडाहरुलाई योजना तथा कार्यक्रमहरु पेश गर्न सुझाइएको पनि बताइन् । उनले सञ्चार नीति सहित पत्रकारका रचनात्मक सुझावलाई नगरबाट पारित गराउन पहल गर्ने जनाइन् । विभिन्नखाले टिकाटिप्पणी भइहेपनि उनले दमकका लागि संघीय सरकारले प्रदान गरेको सवैभन्दा ठूलो योजना दमक भ्यू टावरलाई नगरले सञ्चालन गर्नुपर्ने दायित्वबाट हट्न नमिल्ने समेत जनाइन् ।

नगरका विविध विषयहरुमा नागरिकस्तरबाट उठिरहेका गुनासा र जिज्ञासाहरुको समाधान गर्ने गरी बजेट तथा कार्यक्रम ल्याइने, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिने पनि उपप्रमुख भट्टराईले सार्वजनिक गरिन् । उनले यस बर्ष सबै वडामा सुत्रका आधारमा बजेट विनियोजन गर्ने जनप्रतिनिधिहरुबीचको सहमति भएकाले वडागत बजेट सिलिङ समान नहुने प्रष्ट्याइन् । उनले वडामा जाने बजेटको आकार बढाइएको पनि अन्तरक्रियामा उल्लेख गरिन् ।

बजेटका बारेमा छलफल नै जारी रहेका आकार निश्चित भइनसकेको बुझिएको छ । चालु आर्थिक वर्षमा १ अर्ब ४९ करोड १२ लाख ३९ हजार रुपैयाँको बजेट बिनियोजन गरिएको थियो । आर्थिक वर्ष ०७९/८० मा १ अर्ब ४६ करोड २४ लाख ८३ हजार ७३१ रुपैयाँको बजेट प्रस्तुत भएको थियो ।

Author

You may also like