दमक, १५ माघ। बिहीबार (आज) बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाको दमकमा ५ ओटा विद्यालयमा केन्द्रबाट एक हजार ७३७ जना विद्यार्थी सामेल हुने भएका छन् ।

सबै केन्द्रमा परीक्षाको सवै तयारी भइसकेको दमक नगरपालिका क्षिक्षा शाखा अधिकृत सोमनाथ गुरागाईले बुधबार पूर्व सन्देशलाई जानकारी दिएका छन् । एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको र सबै केन्द्रमा निरीक्षक र सहनिरीक्षक खटाइसकिएको बताएका छन् । उनका अनुसार दमकमा १ हजार ७ सय २७ जना विद्यार्थी सहभागी भएर परीक्षा दिनेछन् ।

दमक २ स्थित हिमालय माध्यमिक विद्यालयमा सबैभन्दा बढी ५ सय २९ जना परीक्षार्थी सहभागी हुने केन्द्राध्यक्ष द्रोण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सो केन्द्रमा ११ वटा विद्यालयबाट परीक्षार्थी सहभागी हुनेछन् । ‘भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु ।’– उनले भने ।

यसैगरी, दमक ३ को ढुकुरपानी माविमा ३४० जना विद्यार्थी सहभागी हुने केन्द्राध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनले परीक्षाकालागि आवश्यक पूर्वतयारी गरिसकिएको जानकारी दिए ।

दमक ८ को पशुपति संस्कृत विद्यालयलाई अर्को केन्द्र तोकिएको छ । जसमा १७८ जना परीक्षार्थी सामेल हुने केन्द्रध्यक्ष सन्तोष धमलाले जानकारी दिए ।

यसैगरी, दमक ९ को सरस्वती माविमा ३८८ परीक्षार्थी सामेल हुने केन्द्राध्यक्ष सीताराम ढकालले बताए । दमक ९ मा नै रहेको पाणिनी माविमा अर्को केन्द्र तोकिएको छ । जसमा ३०२ जना विद्यार्थी परीक्षामा सामेल हुने केन्द्राध्यक्ष रत्नमान श्रेष्ठले बताए ।

(एसईई) मा झापाबाट १५ हजार ८ सय २२ विद्यार्थी सहभागि हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई झापाले चैत १५ देखि २७ सम्म हुने इसईई परीक्षाको तयारी पूरा भएको जनाएको छ ।

देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ ।

राष्ट्रिय परिक्षा वोर्डले परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने जनाएको छ । कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि कार्यालयले देशभर दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षा सञ्चालनका लागि आवश्यक बजेट भने सातवटै प्रदेशका प्रदेश सरकार, सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ ।

Author

You may also like