मुख्य

आफनो जग्गामा दुःख दिएको गुनासो

दमक, २० फागुन। दमक १ आर्दश टोलका एक कुमाल परिवारले आफनो जग्गामा अनाधिकृत व्यक्तिले दुःख दिएको गुनासो गरेका छन् ।

आइतवार स्थानीय बुद्धिमाया कुमालका परिवारले पत्रकार सम्मेलन गरी आफनो नाममा दर्ता कायम गरेको कित्ता नम्बर ३८१२२ को ९ कठा १३ धुर जमीन मध्ये एक कठठा जमीनमा भने सोही वडाका शेरवहादुर योङहाङले दावी गर्दै जग्गा हड्प्ने प्रयास गरिएको बताए । परिवारले सत्यतथ्य सार्वजनिक गरी न्यायको लागि पहल गरिदिन भन्दै सञ्चारकर्मीहरुसंग गुहार मागेका हुन् ।

दुई दिन अघि योङहाङकै अगुवाईमा सो जमिन शिवालय मन्दिरको भएको भन्दै त्यहाँ हुलहुज्जतकासाथ ध्वजा गाडेर शिलान्यास गरिएको थियो । योङहाङ र कुमालबीच सोही जग्गाको विषयमा झापा जिल्ला अदालत हँुदै उच्च अदालतसम्म मुद्धा पुगेको थियो ।

पत्रकार सम्मेलनमा बुधमायाका छोरा अम्बरबहादुर धिमालले आफनो बाबुको पालादेखि जोतभोग गरिआएको सो जमिन आफनो पैत्रिक सम्पत्ति भएको दावी गरे । उनका अनुसार आफना दिवंगत बुबा चारमाने कुमाल भनिने सानेबल कुमालले दमक १ देवान चौंकमा बस्दैआएका स्व. जयबहादुर माखिमलाई वार्षिक एक मन धान दिने भनेर राखेको जानकारी दिए । उनी त्यहाँ २०५६ देखि २०७५ सालसम्म कटेरो बनाएर सेवापात गर्ने सर्तमा बसेका थिए । पछि उनी पाको भएका र आफनै गाउँघर फर्कने भन्दा उनका आफन्त पर्ने शेरवहादुर योङहाङले सोही जमिन कहिले मन्दिरको त कहिले सार्वजनिक जमिन भएको बहानाबाजी गरी दुःख दिएको आरोप छ । सो जमीनको स्वामित्व आफ्नोमा ल्याउन योङहाङ्ले जिल्ला अदालतसम्म मुद्धा दायर गरी आफना पक्षमा फैसला गराएका थिए ।

जमिनमै पत्रकार सम्मेलन गराएका उनले उच्च अदालत इलाममा पुनरावेदन गराइएको र विस २०७९ फागुन १६ गते जिल्ला अदालतको यसअघिको फैसलालाई उल्टाएर सम्मानित अदालतबाट न्याय पाएको उल्लेख गरे । फैसलामा सो जमिन मन्दिर तथा सार्वजनिक जमिन भएको भन्ने प्रमाण नपुग्ने ठहराएको उल्लेख छ । तर यतिका समय हुदाँसम्म तिनैले फेरि पनि बलजफ्ती गरेर आफूहरुको व्यक्तिगत सम्पत्ति कव्जा गर्न खोज्ने काम गरेर दुःख दिदै आएको उनले पत्रकार सम्मेलनमा जिकिर गरे ।

पत्रकार सम्मेलनमा दमक १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, पूर्व वडाध्यक्ष ताराप्रकाश अधिकारी, टोल विकास संस्थाका प्रतिनिधिहरु, स्थानीयको सहभागिता रहेको थियो ।

Author

You may also like