मुख्य शिक्षा

उर्लाबारी क्याम्पसमा अनुदान आयोगसँग सहमति

उर्लाबारी, २८ माघ। उर्लाबारी बहुमुखी क्याम्पसमा गुणस्तरीय मापदण्ड ‘क्युएए’ प्राप्तिका लागि विश्वविद्यालय अनुदान आयोग नेपाल (युजीसी) को पहिलो चरणको अवलोकन टोलीसँग क्याम्पसमा ३ दिने अनुगमन पश्चात दुई पक्षबीच सहमतिको दस्तावेज तयार भएको छ ।

टोलीका संयोजक प्रा.डा. बासुदेव काफ्ले र नविना चौंलागाईंबाट क्याम्पसमा तेस्रो दिन शुक्रबार अनुगमन, छलफल, अन्तरक्रिया सकेर मूल्यांकन गर्दै सुझाव सहितको सहमतिको दस्तावेजमा दोहोरो हस्ताक्षर भएको छ । समापन समारोहमा दुवै पक्षबाट हस्ताक्षर भएको दस्तावेज हस्तान्तरण गरिएको हो । सो अवसरमा दस्तावेजमा भएका रिपोर्टका बारेमा जानकारी आयोगको टोली संयोजक प्रा. डा. काफ्लेले ३ दिनको सहकार्य राम्रो भएको र दुई पक्षबीच भएको २१ पानाको सहमति दस्तावेज बनेको बताएका छन् । उनले अवस्था, अवसर र चुनौतीको विश्लेषण गरिनुपर्ने, नीति निर्माणमा ध्यान दिनुपर्ने, रणनीतिक योजनालाई पुनरावलोकन, पूर्णकालीन प्राध्यापकको बाहुल्यता, कक्षा ११ र १२ को अध्यापन ÷ व्यवस्थापन ÷ अलग पुस्तकालयको व्ययवस्था हुनुपर्ने, व्यवस्थित लेखाप्रणाली, श्रोतको खोजी, व्यवस्थित क्यालेन्डर, पाठ्यक्रममा भएका अप्ठ्यारोका बारेमा जानकारी गराउने, सेमिनार ÷ छलफल हुनुपर्ने सुझाव दिइएको छ । साथै व्यबहारिक कोर्स सञ्चालन गर्नुपर्ने, सिकाइ उपलब्धिको उल्लेख हुनुपर्ने, शिक्षण अभ्यासमा ध्यान दिनुपर्ने, शैक्षिक विकासको योजना बनाउनुपर्ने,उपचारात्मक शिक्षा हुनुपर्ने, रिसर्च बढाउनुपने, वैज्ञानिक सूचना प्रणाली, स्थानीयको चासो र सरोकार अध्ययन जस्ता योजना बनाउने विषयमा सुझाव दिएका छन् । गुणात्मक शिक्षाका सूचक बारेमा पनि प्रष्ट पारिएको छ ।

क्याम्पसमा कार्यरत कर्मचारीहरूसँग‚ अभिभावक र नागरिक समाजका प्रतिनिधिहरु, प्राध्यापक , विद्यार्थी ,व्यवस्थापन समिति , विभागीय प्रमुख, कर्मचारी, विद्यार्थी नेताहरू लगायत अन्य सरोकारवाला लगायतसँग टोलीले छलफल र अन्तरक्रिया गरेर सुझाव दिएको छ । टोलीले क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखहरूसँग पनि बैठक गरेको छ । विश्व विद्यालय अनुदान आयोगको यस मुल्यांकन अनुगमन भ्रमणबाट शैक्षिक गुणस्तरमा वृद्धि हुने प्राध्यापकहरुले बताएका छन् ।

शैक्षिक सुनिश्चितता र प्रत्यायनका बारेमा प्राप्तिका लागि सो क्याम्पसले बिगत ७÷८ वर्षदेखि काम सुरु गरेता पनि पूर्व तयारी भ्रमण भने यसपटक भएको हो । आयोगले उत्कृष्टता, सन्तुष्टि, पारदर्शिता, समान पहुँच, जवाफदेहिता भएमामात्र गुणस्तरीय शिक्षा दिन सकिने भन्दै १२० सूचक पार गर्नुपर्ने बताएको छ । यस्ता सुझावहरु कार्यान्वयन गरेमा काउन्सिलको अर्को अनुगमनले अगाडि बढ भनेपछि मात्र आयोगको बोर्डले निर्णय गरेपछि मात्र क्यूएए प्राप्त हुने जनाइएको छ ।

कार्यक्रमको सुरुको दिनमा बोल्दै उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले क्याम्पस स्थापना र सञ्चालनका विभिन्न समयमा आएका चुनौतीको चर्चा गरेका थिए । उनले क्याम्पसको व्यवस्थापनका बारेमा यथार्थ बुझिदिन आग्रह गरेका थिए । क्याम्पसमा हाल १ हजार ६ सय १२ विद्यार्थी रहेका छन् । त्यस्तै क्याम्पस प्रमुख खेमराज कार्कीले गुणस्तर प्रत्यायन तथा सुनिश्चितता विभागमा स्वअध्ययन प्रतिवेदन पेस गरेपछिका नवीनतम प्रयासहरु क्याम्पसमा विभिन्न क्षेत्रमा विकास भएको, उपलब्धि, गतिविधि, सहयोग, सरोकारवालासँग अन्तरक्रिया, दिगो श्रोत खोज्ने, दिवा शैक्षिक कार्यक्रमा, ८६ लाखको अक्षय कोष, भावी कार्यक्रमको बारेमा समेत जानकारी गराएका थिए । उनले संस्थागत प्रतिबद्धता जनाउँदै प्राप्त सुझाव नमूनाको रुपमा कार्यान्वयन गर्ने बताएका छन् । क्याम्पसका अध्यक्ष पुष्पलाल ढकालले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा क्याम्पसमा प्राप्त सुझाव अनुसार काम गर्न सबैलाई अनुरोध गरेका छन् । । उनले तत्काल बस्ने समितिको बैठकबाट सुझाव कार्यान्वयनमा खरोरुपमा उत्रिने संकेत पनि गरेका छन् ।

Author

You may also like