खेल

बुद्ध माविले जित्यो रनिङ सिल्ड

पथरी, २२ माघ। मोरङको पथरीशनिश्चरे १ को पञ्चायत माविमा सम्पन्न भएको ५ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा वडा नम्बर ८ को बुद्ध माध्यमिक विद्यालय च्याम्पियन बनेको छ ।

तीन दिवसीय प्रतियोगिताका विभिन्न विधाहरूमा ९ स्वर्ण र ३ वटा रजत पदक जित्दै सो विद्यालय विजेता बन्न सफल भएको हो । बुद्धले छात्रा तर्फको सटपुट, छात्र तर्फबाट १ सय, २ सय र लङ जम्प तथा छात्रा तर्फका ४ सय, १५ सय , ४÷४ सय सय मिटर रिले दौड र ज्याभलिन थ्रो र कबड्डी स्पर्धामा स्वर्ण पदक जितेको छ भने छात्रको ३ हजार दौड, छात्रा तर्फको ४ सय मिटर रिले दौड र छात्र– ट्रिपल जम्प सहित ३ रजत पदक जितेको छ ।

यसैगरी, १० को सिंह बाहिनी मावि सो प्रतियोगिताको उपविजेता बन्न सफल भएको छ । ४ स्वर्ण र ५ रजत पदक जित्दै सिंह वाहिनी उप विजेता बन्न सफल भएको हो । सिंहवाहिनीले छात्र तर्फबाट ३ हजार, ८ सय र ४ सय मिटर रिले सहित दौड र छात्रा तर्फको लङ जम्पमा स्वर्ण पदक जितेको हो भने छात्राको ज्याभलिन, छात्राकै २ सय र ४×४०० मिटर रिले दौड तथा छात्रको लङ जम्पमा रजत पदक जितेको छ ।

त्यस्तै, आयोजक पञ्चायत माविले सटपुट ( छात्र), ज्याभलिन थ्रो, ट्रिपल जम्प र १५ मिटर दौड ( छात्र) सहित ४ स्वर्ण र भलिबल ( छात्र ) , हाई जम्प ( छात्र) र ४०० मिटर दौड ( छात्रा) सहित ३ रजत पदक जितेको छ । उता, जनता माविले १६ सय मिटर दौड र हाई जम्पमा २ स्वर्ण र सटपुट,१०० मिटर दौड, ज्याभलिन थ्रो र ट्रिपल जम्प सहित ४ रजत पदक जितेको छ ।

संस्थागत विद्यालयहरुको तर्फबाट एभरेष्ट माविले सो प्रतियोगितामा छात्र र छात्रा तर्फका दुवै भलिबल प्रतियोगिताको स्वर्ण पदक जित्दै उपाधि उचाल्न सफल भएको छ । वाल्मीकि माविले छात्रा तर्फका २ सय मिटर र ३ सय मिटर दौडमा स्वर्ण पदक जितेको छ भने छात्र र छात्रा तर्फका ४÷४ सय मिटर दौडमा रजत पदक जितेको हो। त्यस्तै, रेडस्टार माविले ट्रिपल जम्पमा १ स्वर्ण पदक जित्दै छात्रा तर्फको १५ सय मिटर दौड, छात्रको ४ सय मिटर रिले दौड र भलिबल प्रतियोगिताको उपविजेता बन्न सफल भएको हो ।

प्रतियोगितामा अम्मर सिंह माविले ३ स्वर्ण र १ रजत पदक जितेको छ भने सुनाखरी माविले हाईजम्पमा १ स्वर्ण र लङ जम्पमा १ रजत पदक जित्दै चित्त बुझाउनु परेको छ । अन्नपूर्ण माविले भने ८ सय मिटर दौडमा १ वटा रजत पदक जितेको थियो ।

प्रतियोगितामा १५ संस्थागत तथा ११ सामुदायिक विद्यालय गरी जम्मा २६ विद्यालयहरूले रनिङ, भलिबल, छेलो, सटपुट, कबड्डी, लङ जम्प, हाईजम्म ज्याभलिन थ्रो, लगायतका विभिन्न खेलहरूमा सहभागिता जनाएका थिए । प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक समेत रहेका नगरप्रमुख तुम्वापोले सो प्रतियोगिताका विजेता तथा उपविजेता विद्यालयका सहभागिता खेलाडीहरूलाई सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका छन्

You may also like