स्वास्थ्य

नेपालमा क्यान्सरको बढ्दो जोखिम

विश्व क्यान्सर (अर्बुद) विरुद्धको दिवस मनाइरहँदा नेपालले प्राणघात क्यान्सरबाट झनै जोखिमको सामना गर्नु परिरहेको तथ्यांक बाहिर आएको छ ।

हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइने क्यान्सर दिवस सोमबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको सन्दर्भमा आएको तथ्यांकले नेपालीलाई झनै झस्काएको छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका दिवस मनाइएको छ ।

विश्व क्यान्सर दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (ईएआरसी–डब्ल्यूएचओ)’ ले फेब्रुअरी १ मा सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार विश्वभर २० मिलियन (२ करोड) नयाँ क्यान्सरका बिरामी पत्ता लागेका छन् भने ९.७ मिलियन मानिसहरुको मृत्यु क्यान्सरबाट भएको पाइएको छ । सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु सो रोगका कारण भएको छ । डब्लुएचओका अनुसार क्यान्सर रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ । सबैभन्दा धेरै फोक्सोको अर्बुद रोग देखिएको छ । स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा अर्बुद रोग बढी हुने गरेका छन् ।

विश्व स्वास्थ्य संगठन, फ्रान्समा कार्यरत नेपाली वैज्ञानिक डा. दिपेन्द्र सिंहका अनुसार क्यान्सर निदान भएका व्यक्तिहरुको संख्या विश्वमा विगत ५ वर्षभित्र करिब ५३.५ मिलियन थियो । क्यान्सर लागेकामध्ये हरेक ९ जनामा १ जना पुरुष र १२ जनामा १ जना महिलाको मृत्यु भएको पाइएको छ ।

नेपालमा भने सन् २०२२ मा अनुमानित २१ हजार ७६६ क्यान्सरका विरामी रहेका तथा १४ हजार ६०० जना क्यान्सरले गर्दा मृत्यु भएको पाइएको डा. सिंहले बताए । उनका अनुसार हरेक १ लाख नेपालीमध्ये ८१ जनामा क्यान्सर निदान भएको र क्यान्सर निदान भएकामध्ये ५५ जनाको मृत्यु भएको पाइएको छ । नेपालमा हाल रहेका करिब २२ हजार क्यान्सर रोगीहरुको संख्या सन् २०५० सम्ममा ९१ प्रतिशतले बढ्ने अनुमान समेत गरिएको छ । ‘सन् २०५० सम्ममा नेपालमा क्यान्सर रोगीहरु ९१ प्रतिशतले वृद्धि हुँदै करिब ४२ हजार हुनेछन्,’ डा. सिंह भन्छन्, ‘रिपोर्ट अनुसार क्यान्सर निदान भएकामध्ये ९९ प्रतिशतमा क्यान्सरको मृत्युदर बढ्ने अनुमान गरिएको छ । मृत्युदर पुरुषमा १०८ प्रतिशत र महिला ९० प्रतिशत हुनेछ ।’

यो अनुमान जनसंख्या वृद्धिको अनुपातको आधारमा गरिएको बताउँदै उनले भने, ‘यद्यपि क्यान्सर गराउने सामाजिक जोखिम तत्वहरुलाई आधार मान्दा २०५० सम्ममा अनुमान गरिएभन्दा क्यान्सर रोगीको संख्या अझै धेरै हुनसक्छ ।’

पुरूषभन्दा महिला धेरै

नेपालमा क्यान्सरका मुख्य प्रकारहरुमा फोक्सोको क्यान्सर, स्तनको क्यान्सर र पाठेघरको मुखको क्यान्सर रहेका छन् । साथै नेपालमा मृत्यु गराउने प्रमुख क्यान्सरहरुमा फोक्सोको क्यान्सर, पेटको क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर देखिएका छन् ।

अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरी रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार गर्न सकिन्छ ।

सचेतना कार्यक्रम

क्यान्सर दिवसका अवसरमा क्यान्सर रोगविरुद्ध सचेतना जनाउने उद्देश्यका साथ झापाको बिर्तामोडमा आइतबार साइकल यात्रा गरिएको छ । साइकल यात्रामार्फत क्यान्सरको जोखिम घटाउने तथा मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहन साइकल यात्रा गर्न प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको हो । ‘हेरचाह अन्तर बन्द गर्न सवारी गरौँ’ भन्ने नाराका साथ साइकल यात्रा आयोजनाको गरिएको यात्रा व्यवस्थापन गरिरहेका प्याक एन्ड प्याडलका सञ्चालक आकाश श्रेष्ठले जानकारी दिए ।

बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट सुरु भएको यात्रा मातामन्दिर शनिश्चरे हुँदै चारपाने भएर पुनः हस्पिटलमै आएर टुंगिएको छ । पूर्वाञ्चल क्यान्सर हस्पिटल, नेपाल क्यान्सर फाउण्डेसन, रोट्र्याक्ट क्लब अफ बिर्तामोड मिड टाउन र प्याक एन्ड प्याडलसँगको सहकार्यमा १८ किलोमिटर साइकल यात्रा भएको हो ।

यसैबीच, झापाको दमकमा पछिल्लो ४ वर्षको अवधिमा क्यान्सरपीडितको संख्या १ सय २६ रहेको नगरका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले जनाए । उनले आर्थिक वर्ष ०७९÷८० मा सरकारको दीर्घरोगीले पाउने १ लाख रुपैयाँको आर्थिक सहायता पाउने क्यान्सर रोगीको संख्या ६९ रहेको उल्लेख गरे । सो आर्थिक वर्षमा क्यान्सर रोगीको संख्या बढी देखिएको हो ।

You may also like