राजनीति

इलाम २ मा रास्वपाले उम्मेदवार खोज्दै

दमक, ०३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा स्थानीय व्यक्तिलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
उम्मेदवार छनोटमा स्थानीय व्यक्तिलाई प्राथमिकता दिने महामन्त्री मुकुल ढकालले जानकारी दिए । कोशीमा प्रदेश नामकरणको मुद्धा विवादमा परेको छ । त्यसैले इलाममा बाहिरका व्यक्ति उम्मेदवार बनाउँदा नकारात्मक सन्देश जान सक्ने महामन्त्री ढकाल बताउँछन् ।
उम्मेदवार बनाउनका लागि पार्टीले केही अनुहारलाई ‘नोटिस’मा राखेको ढकालले जानकारी दिए । उनका अनुसार रास्वापाबाट उम्मेदवार हुने आकांक्षा राखेर सम्पर्कमा आउने व्यक्तिहरु पनि छन् । उपनिर्वाचनलाई ध्यानमा राखेर रास्वपाले इलाममा पार्टी गतिविधि गरिरहेको छ । महामन्त्री ढकाल दुई दिन इलामको कार्यक्रममा सहभागी भएर फर्किएका छन् ।यसअघि भएको उपनिर्वाचनमा रास्वपाले स्थानीय उम्मेदवार बनाएको थिएन ।
सो क्षेत्रबाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएपछि उपनिर्वाचन हुँदैछ ।
यसअघि चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेल उम्मेदवार बन्दा तीनै जना स्थानीय उम्मेदवार थिएनन् । लामिछाने र वाग्लेले चुनाव जिते पनि बाराका उम्मेदवार खरेलले निकै कम मत पाएका थिए ।

You may also like