दमक, १८ पुस। लागुऔषध ओसार पसार, बिक्री वितरण र प्रयोगमा नियन्त्रण, रोकथाम र न्यूनीकरण गर्न झापाको दमक नगरपालिका वडा नम्बर १ का सरोकारवालाहरुले साझा प्रतिवद्धता जनाएका छन् ।
लागुऔषध दुव्र्यसनमा दमक हब बनेको भन्दै उनीहरुले त्यसलाई जरैदेखि उखेल्न अब टोल टोल र घर घरबाट निगरानी सहितको अभियान संचालन गर्ने भन्दै यस्तो प्रतिवद्धता जनाएका हुन् । १ नम्बर वडा कार्यालयको आयोजनामा नगरपालिकाको सभाहलमा सम्पन्न वडास्तरीय वृहत् अन्तरक्रियामा यस्तो अभियानका लागि घरैदेखि र मनैदेखि लागी पर्ने भन्दै सामूहिक साझा प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरे ।
नगरपालिकाले भने सोमबारदेखि वडा नम्बर १ बाट सुरु गरेको सो सचेतना र अन्तरक्रियाको अभियान पुस २६ गतेसम्म सबै १० वटै वडामा संचालन गरिने जनाएको छ । अभियानबाट दमक लागुऔषध दुव्र्यसनीको अखडा भन्ने गलत पहिचानलाई हटाएरै छाड्ने प्रण गर्नुपर्ने र त्यसमा सबै नगरवासीको साथ सहयोग रहने कार्यक्रमका प्रमुख अतिथि रहेका नगर प्रमुख राम कुमार थापाले विश्वास व्यक्त गरे ।
१ नम्बरका वडाध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमख मनोजकुमार लामा, इलाका प्रशासन कार्यालय दमकका प्रतिनिधि सुरेन्द्रराज दाहाल, नेकपा माओवादी केन्द्र दमक नगर अध्यक्ष रवि बस्नेत, महिला अधिकारकर्मी सुमित्रा प्रसाई लगायतले लागुऔषध दुव्र्यसनको समस्या समाधानका विषयमा बोलेका थिए । कार्यक्रममा सहभागीहरुले पनि स्थानीय सरकार, प्रहरी, प्रशासन र समुदायको संयुक्त प्रयासबाट मात्र समस्याको समाधान गर्न सकिने भन्दै त्यसका लागि नगरपालिकाले ल्याएको योजना र कार्यक्रम राम्रो भएको भन्दै त्यसलाई व्यवहारमा रुपान्तरण गर्ने कुरामा आपूmहरुको सक्दो सहयोग रहने बताएका थिए ।
लागुऔषध दुव्र्यसन तथा सामाजिक कुरीति बारे वडास्तरीय समिति र सरोकारवालाहरुसँगको अन्तरक्रियामा टोल विकास संस्थाका पदाधिकारी, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकहरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।