मुख्य राजनीति

पहिचान पक्षधर र मुख्यमन्त्रीबीच सम्बाद

दमक, १८ पुस। मुख्यमन्त्री केदार कार्कीले प्रदेश निर्माणका लागि सम्पूर्ण प्रदेशवासी सँगसँगै हिड्ने वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् । कोशी प्रदेशको नाम परिमार्जन गरी पहिचानसहितको नामकरण गर्नुपर्ने माग गर्दै आएका प्रदेश नम्बर १ पुन नामकरण संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुबाट ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले सरकार र पहिचानको पक्षमा आन्दोलनरत दुवै पक्ष सँगै बसेर समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

आफू किरात भूमिमै जन्मिएको र किरात सभ्यताप्रति सम्मान गर्ने व्यक्ति भएको भन्दै मुख्यमन्त्री कार्कीले पहिचानविरोधीको रुपमा नलिन संघर्षरत पक्षलाई आग्रह पनि गरे ।

नामकरणपछि देखिएको असन्तुष्टिका बारेमा आफू जानकार रहेको भन्दै वार्ता र सम्वादको माध्यमबाट समस्या समाधान गर्न मुख्यमन्त्री कार्कीले संघर्ष समितिलाई आग्रह गरेका हुन् । ‘हामी यसरी नै टेबलमा आमनेसामने बसेर छलफल गरौं, तपाईँहरु पहिचान र इतिहासका बारेमा धेरै जानकार हुनुहुन्छ, प्रदेश सरकार सबैको पहिचानको सम्मान गर्न तत्पर नै छ । त्यसैले छलफलबाट अगाडि बढौं र सबै मिलेर यो प्रदेशको विकास गरौं ।’ उनले भने ।

अहिलेको सरकारले पहिचानलाई लल्कार्ने, होच्याउने वा नकार्ने काम गर्दैन भन्दै मुख्यमन्त्री कार्कीले शान्तिपूर्णरुपमा नै सबै समस्याको समाधान गर्न सकिन्छ भन्ने विश्वासका साथ अघि बढ्न आग्रह गरे । ‘नामाकरण भएपछि असुन्तुष्टीहरु पनि आएका छन्’ मुख्यमन्त्री कार्कीले भने, ‘लोकतन्त्रमा विरोध गर्नेहरुको पनि यो सरकार हो । त्यसैले विरोध गर्नेहरुको सुरक्षा यही सरकारले गर्छ, यो सरकार शान्तिपूर्ण आन्दोलनलाई दमन गर्दैन, त्यसैले तपाइँहरु आउँदा कतै तारबार लगाइएन ।’

नामकरणको विवादलाई देखाएर संघीयता नै खारेज गर्नेहरु पनि सक्रिय भएकाले आन्दोलनका क्रममा हुनसक्ने घुसपैठलाई रोक्न पर्ने भन्दै मुख्यमन्त्री कार्कीले घुसपैठले दुवै पक्षमा अविश्वास पैदा गरिदिने खतराप्रति सचेत रहन आग्रह गरे । मुख्यमन्त्री कार्कीले सरकार पहिचानका आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्ने, मुद्दा फिर्ता लिने र वार्ताको वातावरण बनाउनका लागि सकारात्मक रहेको सन्देश दिँदै वार्तामा बसेर समस्या समाधानका लागि अपिल समेत गरे ।

एकल गोत्रीय नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नाम राख्नुपर्ने मागसहित पहिचानवादीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउँदै पहिचानको मुद्दालाई नजरअन्दाज नगर्न संघर्ष समितिले आग्रह गरेका थिए । यसअघिको सरकारले दस्ताबेजसहितको पहिचानको मुद्दालाई नजरअन्दाज गरेकै कारण प्रदेशमा आन्दोलन र विद्रोहको वातावरण निर्माण भएकोले प्रदेश १ को असन्तुष्टिलाई सरकारले हल्का रुपमा नलिन समितिका संयोजक डकेन्द्रमान सिंह थेगिमले चेतावनी दिए ।

उनीहरूले प्रदेशसभा नियमावली संशोधन गरी हटाइएको नाम सम्बन्धी प्रावधान पुनः थप गरी पहिचानको आधारमा नामकरणको प्रक्रिया अघि बढाइदिन मुख्यमन्त्री कार्कीलाई आग्रह समेत गरे । ज्ञापनपत्रमा आन्दोलनलाई बेवास्ता भए मुक्तिका लागि संघर्ष अनिवार्य रहेको बताउँदै जनताको भावना विपरित जबरजस्ती कोशी नाम टिकाउन लागिएमा संयुक्त संघर्ष समिति चाँडै निर्णायक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ ।

प्रदेशको नाम कोशी खारेजीको आन्दोलनका कारण पहाडी जिल्लाहरूमा जनताले कालो झण्डा प्रदर्शन, बन्द हडताल लगायत विभिन्न प्रकारका घटना भइरहेकाले समस्या समाधान नभएसम्म मुख्यमन्त्री तथा मन्त्रीहरू साथै प्रदेशसभामा प्रतिनिधित्व गर्ने ८२ सांसदहरू कुनै पनि कार्यक्रममा सहभागिता नभइदिन आग्रह गरेका थिए । जनताले कालो झण्डा मात्रै प्रदर्शन गर्दा तपाईँहरूको आत्मसम्मानमा ठेस पुग्छ,’ ज्ञापनपत्र बुझाउँदै थेगिमले भने, ‘नामको कारणले आन्दोलन चर्किएको छ त्यसैले मुख्यमन्त्री ज्यु स्वयम्ले पनि कुनै पनि औपचारिक कार्यक्रममा सहभागिता नजनाइदिन हुन अनुरोध गर्दछौँ ।’

सरकारसँग छलफलमा रहेकै बेला प्रदेशको नाम छापामार शैलीमा एकलौटी ढङ्गबाट राखिएको हुनाले त्यो स्वीकार्य नरहेको पहिचान पक्षधरहरुको आरोप थियो । उनीहरुले वार्ता र छलफलबाट बहुपहिचानयुक्त नाममा सहमति जुट्न सकिने सन्देश पनि दिए ।

ज्ञापनपत्र बुझाउँदै उनीहरूले गएको पुस २ गते झापाको बुद्धशान्ति संयुक्त संघर्ष समितिका संयोजक बुलेट किराँतीलाई प्रहरीले झुटा मुद्दामा पक्राउ गरी राखेको विषयप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनीहरूले इलामको पशुपतिनगर प्रहरीको हिरासतमा रहेका किरातीलाई तत्काल रिहाइ गर्नुपर्ने माग गरेका थिए । तत्कालीन एमाले नेतृत्वको सरकारले दुई तिहाइ बहुमतको समर्थनका साथ २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो । नामको पक्षमा भने नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा सहितले कोशीको पक्षमा मतदान गरेका थिए भने एकीकृत समाजवादी र जसपाले विपक्षमा मतदान गरेका थिए ।

You may also like