मुख्य शिक्षा

पढाउँदै खेती सिकाउँदै कमला मदन मावि

क्याम्पा / शिक्षालय अव घोकन्ते शिक्षाबाट मुक्त हुनुपर्ने अवधारणा अघि बढेको छ । यस मर्मलाई व्यवहारमा उतार्न झापाको कमल गाउँपालिका वडा नम्बर २ क्याम्पामा अवस्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय लागिपरेको छ ।

पढाईमा जिल्लामा राम्रो नाम कमाएको सो विद्यालय विद्यार्थीलाई पढाउनुसँगै व्यवहारिक सीप सिकाउन समेत तल्लिन छ । जहाँका विद्यार्थीहरु कुखुरा पालनका लागि दाना, पानी लगाउने तथा उनीहरुको हेरचाह गर्ने गर्छन् । अनि तरकारी खेतीका लागि खन्ने, विरुवा/ बीउ रोप्ने, मल र पानी लगाउने गर्छन् । विद्यालयमा पढ्न गएका उनीहरु विद्यालय पोशाकमा विद्यालयमै खेती किसानीको काम गरेको देखेर धेरैजसोले अनौठो मान्छन् । जहाँका विद्यार्थीहरु कितावको पढाई जत्तिकै व्यवहारिक सीपमा पनि उत्साहित छन् । कक्षा १० का राजु बस्नेतले शिक्षा व्यवहारिक हुनुपर्छ भन्ने कुरा बुझेका छन् । उनी भन्छन् ‘मलाई सीपमूलक काम गर्न मन पर्ने भएकाले कुखुरापालन र तरकारी खेतीमा ध्यान दिएर सिकिरहेको छु ।’

उनी मात्र होइन उनकै कक्षाका सौरभ पोखरेल सहितका विद्यार्थीहरुले ध्यान दिएर खेती किसानीको काम सिक्दै गरेका छन् । कक्षा ६ देखिमाथिका विद्यार्थीहरुलाई त्यसखाले सीपमा सामेल गराइएको छ । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत राखेर शुक्रबार र टिफिनको समयमा समेत उनीहरुलाई विषय शिक्षकले खेतीको सीप सिकाउँछन् र अभ्यास गराउँछन् । ग्रामीण क्षेत्रको विद्यालयमा अधिकांश खेती किसान गर्ने परिवारका छोराछोरी अध्ययन गर्छन् । जसका कारण उनीहरुको केहि मात्रामा देखे जानेको कृषि पेशानै रोजेर त्यसको सीप प्रवद्र्धन गर्ने काममा विद्यार्थीलाई सहभागि बनाइएको प्रधानाध्यापक हिमप्रसाद दहालले पूर्वसन्देशलाई सुनाए । जीवनको प्रमुख आधारका रुपमा रहेको खेतीप्रति युवापुस्ताले रुचि घटाएको अवस्थामा यस क्षेत्रको मर्म बुझाएर रुचि जगाउन समेत यसखाले विषय उपयुक्त भएको उनको ठहर छ । ‘अवको शिक्षा पढाई होइन सिकाई हो । त्यही अन्तर्गत विद्यालय लागिपरेको छ ।’– उनले आजको शिक्षाको आवश्यकता दर्शाउँदै भने ।

सरकारको राष्ट्रिय युवा परिषदले नमूना विद्यालय र प्राविधिक धारको शिक्षा सञ्चालन गरेको विद्यालयका लागि प्रदान गर्ने ‘एक विद्यालय एक उद्यम’ कार्यक्रममा नमूना विद्यालयतर्फको यस विद्यालयले सहभागिता जनाउने अवसर पायो । त्यसपछि विद्यार्थीका लागि व्यवहारिक सीप समेत सिकाउने कामको ढोका खोल्ने काम सहज बन्यो । परिषदले प्रदान गरेको ५ लाख २५ हजारको कोषबाट क्षय नहुने हिसावले शैक्षिक गुणस्तर बृद्धि र विद्यालयको व्यवस्थापनमा सहयोग पुर्याउन उद्यम सञ्चालन गर्न अनुदान दियो । विद्यार्थी वचत क्लब गठन भई कार्यक्रम अगाडि बढाइयो । त्यसबाट आएको मुनाफाले गरिब तथा जेहेन्दार विद्यार्थीको पोशाक, पुस्तक, कापी कलम सहितका सामग्री प्रदान गरेर पठनपाठनमा सघाउने काम भएको छ । जस अन्तर्गत आर्थिक वर्ष ०७९÷८० मा सो विद्यालयमा कार्यक्रमको अनुदान प्राप्त भएपछि पहिलो वर्ष स्थानीय जातका २ सय कुखुरा पालन गरियो । जसबाट ३० हजार रुपैयाँ मुनाफा भएको र यो वर्ष भनें तरकारी खेती गरेको प्रधानाध्यापक दहालले बताए । ‘विद्यालयसँगै जोडिएको जग्गामा अहिले टमाटर खुर्सानी खेती गरेका छौं । अव च्याउ खेती समेत गर्ने योजनामा छौं ।’– दहालले उत्साहित हुँदै भने । झापामा सो विद्यालयले मात्र यसखाले कार्यक्रम पाएको पनि उनले जानकारी गराए ।

विक्रम सम्बत २०१९ साल चैत १५ मा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्मको पढाई हुँदै आएको छ । ११ र १२ मा कम्प्युटर साइन्स, व्यवस्थापन, शिक्षा विषय छन्् । ३ वर्षअघिबाट नमूना विद्यालय ठहर भएपछि यसले सरकारबाट शैक्षिक तथा व्यवस्थापकीय योजनाको कार्यक्रम प्राप्त गर्दै आएको छ । ०७८÷८९ मा प्राप्त १ करोड भवनका लागि तथा ५० लाख फर्निचर र प्रविधि (आइसीटी) मा लगानी भएको छ । ०७९÷०८० मा भवनका लागि १ करोड र शैक्षिक सामग्रीका लागि ५० लाख आएको छ । जसबाट हालसम्म १६ कोठे भवन निर्माण सम्पन्न भइसकेको छ । ०८०÷०८१ मा भवनको लागि १ करोड र शैक्षिक व्यवस्थापनका लागि ३० लाख बजेट परेको छ । जसको ठेक्का आव्हान भइसकेको छ । कक्षा ९ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको विद्यालयमा दरबन्दी बाहेक निजी स्रोतबाट २ जना शिक्षक व्यवस्थापन गरिएको छ । आर्थिक कठिनाईका बाबजुद केहि तल्लो कक्षाको दरबन्दी भएकालाई केहि रकम थपेर माथिल्लो कक्षामा अध्यापन गराइरहनु परेको विद्यालयको वाद्यता छ । सो विद्यालयमा हाल ५ सय ३५ जना विद्यार्थी अध्ययनरत छन् ।

Author

You may also like