समाचार

गौरादह खानेपानीको साधारणसभा सम्पन्न

गौरादह, ८ पुस।

गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संविधानसभा सदस्य दिपक कार्कीले साधारणसभाको उद्घाटन् गर्दै गौरादह खानेपानीले गौरादह क्षेत्रमा नागरिकहरुलाई सुद्द खानेपानीको सेवा पु¥याउन सफल भएकोमा संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । खानेपानी उपभोग गर्ने उपभोक्ता पनि सुद्व खानेपानी उपभोग गर्ने बारेमा चनाखो हुनुपर्ने धारणा राखेका थिए ।
साधारणसभामा खानेपानी संस्थाका अध्यक्ष तथा साधारणसभाका सभापति नगेन्द्र कार्कीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाले साविक गौरादहमा सुद्व खानेपानीको सेवा दिदै आएकोमा चालु आर्थिक वर्षबाट गौरादह नगरपालिका ४ र ९ तथा कमल गाउँपालिकाको वडा नम्बर १ मा खानेपानी बिस्तार गर्ने प्रस्ताव गरिएको छ । संस्थाका लेखा संयोजक किशोरकुमार पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष वीरेन्द्र बस्नेतले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक बर्षमा १ करोड ३६ लाख ३० हजार ४ सय ८८ आम्दानी गर्न सफल भएको जानकारी गराएका थिए । संस्थाको गत आर्थिक वर्षमा ९६ लाख ४ हजार ८४ रुपैयाँ खर्च भएको उल्लेख छ । संस्थामा ४० लाख २६ हजार ४ सय ४ रुपैया बचत रहेको प्रतिवेदनमा जनाइएको छ ।
साधारणसभामा उपस्थित सदस्यबीचको चिठ्ठाबाट तीन जनालाई पुरस्कृत गरिएको थियो । साधारणसभाका अवसरमा गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदी, पूर्व नगरप्रमुख रोहित कुमार शाह, खानेपानी डिभिजन कार्यलय झापा प्रमुख विकास काफ्ले र गौरादह नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिलिप भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Author

You may also like