समाचार

झापाको कालिकापीठको इतिहास

पूर्वको सिद्ध शक्तिपीठका रुपमा परिचित कालिकापीठमा देवीको शक्तिपीठ छ भन्ने कुरा कसरी र कोबाट प्रमाणित भयो भन्ने बिषयमा एउटा किंबदन्ती छ । झापाको तात्कालीन शनिश्चरे-६ हाल अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा रामानुज बैष्णव समूदायका भोलाइदास नामका थारु सन्तको बसोबास थियोे । उनका घरमा देश- बिदेशबाट विभिन्न साधु-सन्तहरु आउने-जाने गर्दथे । सोही क्रममा डुल्दैडुल्दै भोलाइ दासकहाँ आएका एक सन्तले विशाल अक्षय बृक्षमुनि कालीको प्रतिमा भेटेर नित्य पूजा आरधना गर्नु भनेपछि त्यहाँका स्थानीयले पूजा आरधना थालेको र बैशाख पूणर्िमाका दिन मेला लगाउन थालेको बताइन्छ । नाम थर र गोत्र नखुलेका ती सन्तले माटोबाट देबीको प्रतिमा बनाइ पूजा गर्न थालेपछि स्थानीयबाट पनि पूजा आरधना शुरु भएको स्थानीय बयोबृद्ध बताउँछन् ।
बिक्रम सम्वत् २०३३ सालमा तत्वबेत्ता विद्वान ब्यक्तित्व योगी नरहरिनाथको सहभागितामा ‘बृहत धार्मिक सम्मेलन’ भएपछि योगी नरहरिनाथले शस्त्र- अस्त्रहरुले सुसज्जित माता जगदम्बाले असूरहरुको बध गर्ने क्रममा कञ्चनजङ्घा हिमश्रृङ्खलाबाट चालेको पहिलो पाइलो ताप्लेजुङको पाथीभरामा, दोश्रो पाइलो कालिकापीठ कालीस्थानमा र तेस्रो पाइलो भारतको कलकत्तास्थित कालीमन्दिरमा टेक्नुभएको भनी शास्त्रीय प्रमाणसहित प्रमाणित गरिदिएपछि कालिकापीठको महत्व अझ बढेर गएको पीठका अध्यक्ष पोखरेलले बताउनुभयो । दैवी शक्ति रहेको विश्वासहित भक्तजनले कुनै पनि कुरा चिताएर कालिकापीठको दर्शन-पूजन गरेमा मनोकांक्षा पुग्ने गरेकाले पनि नेपाल-भारतका भक्तजनहरु अगाध आस्था र विश्वास राखेर उक्त शक्तिपीठमा आउने गरेको अध्यक्ष पोखरेलको भनाई छ ।
२५ बर्षमा ९ करोड बढीको संरचना निर्माण ः
२०५६ सालमा ज्यो.पंं लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा कालिकापीठ ब्यवस्थापन समिति गठन भएको थियो । जग्गादाता दलमानसिह तामाङ (चैनपुरे बा)-ले प्रदान गर्नुभएको ११ कठ्ठा जग्गामा सोही समयदेखि भौतिक निर्माण शुरु गरेको समितिले हाल ९ करोड बढीका भौतिक संरचना बनाइसकेको समितिका उपाध्यक्ष कणर्बहादुर तामाङले जानकारी दिनुभयो । आजीवन सदस्यहरूबाट प्राप्त आर्थिक सहयोग, बार्षिक रुपमा गरिने यज्ञानुष्ठानबाट प्राप्त सहयोग, मुष्ठीदान, देश- बिदेशमा रहनुभएका दानदाताहरुबाट प्राप्त दानदातब्यबाट हालसम्म सो बराबरका बढीका भौतिक संरचना निर्माण भइसकेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
हाल पीठ १७ कठ्ठा परिसरमा फैलिएको पीठमा गौशाला, पाकशाला, यज्ञशाला, छात्रबास, देवालय लगायतका भौतिक संरचना निर्माण भएका छन् भने शिवालय, नवग्रह, अरुन्धतीसहित सप्तऋषिको प्रतिमा रहेको हवन कुण्ड, देवी मन्दिर लगायतका भौतिक संरचनाहरु निर्माण भएका छन् ।
२०६३ सालबाट नैष्ठिक ब्राम्हणहरलाई आवासीय ब्यवस्थापनसहित निःशुल्क रुपमा वैदिक ग्रन्थहरुको अध्ययन-अध्यापन समेत गराइदै आएको छ । पीठमा पूर्वीय वैदिक संस्कार, संस्कृति र वैदिक ग्रन्थहरु रुद्री, दुर्गा सप्तसती, बेद, ब्याकरण एवं पुराणादि ग्रन्थहरुको आवास-भोजन सुविधासहित पूणर्रुपमा निःशुल्क पढाइने गरेको पीठद्वारा सञ्चालित कालिका संस्कृत विद्यापीठका प्राचार्य रघुनाथ रिजालले जानकारी दिनुभयो ।
कहा“बाट जाने कालीस्थान ः
देवीको उक्त सिद्ध शक्तिपीठ कालीस्थान पुग्न विर्तामोड तथा धाइजनबाट सिधा मार्गहरु छन् । झापाको प्रमुख ब्यापारिक केन्द्र विर्तामोडबाट सालबारी झिल पुग्नुअघि विहीबारे हटियाको पश्चिमबाट उत्तरपूर्व लागेपछि कालीस्थान चोक पुगिन्छ । यसैगरी विर्तामोडबाट शनिश्चरे बजार हुँदै पनि कालीस्थान जान सकिन्छ । शनिश्चरे बजारबाट पूर्व जयपुर सडकको मिलनचोकबाट सिधै पूर्वमा पर्छ -कालीस्थान । शनिश्चरे बाट करिव डेढ किलोमिटर पूर्व उत्तर जादाँ तिनकुने सडक (सोही ठाउँलाई मिलन चोक भनिन्छ) भेटिन्छ । सोही ठाउँबाट लभगभ १ किलोमिटर पूर्व अगाडि बढेपछि कालीस्थान चोक आउँछ । त्यस चोकको उत्तरपश्चिमी कोण अर्थात ५० मिटर उत्तरमा कालिकापीठ अवस्थित छ । पीठ पुग्नको लागि मेची राजमार्ग मा पर्ने धाइजन चोकबाट लगभग डेढ-दुई किलोमिटर सिधा पश्चिम आउदा सहजै कालीस्थान पुगिन्छ ।
चारआली बजारबाट उत्तर सहरेडाँगी हुँदै धाइजन चोकमा पुगेपछि त्यहाँबाट सिधा पश्चिम मोडिने सडकबाट सिद्धै पश्चिममा कालीस्थान चोक अवस्थित छ । उक्त सडक भएर पनि कालिकापीठ कालीस्थानमा पुग्न सकिन्छ । त्यसैगरी बुद्धशान्तिको जयपुरबाट मगरचोक-गार्गी चोकपूर्व-दक्षिण हुँदै कालीस्थान चोक पुग्न सकिन्छ भने बुधबारे बजारदेखि सातनम्बर चोक-उप्रेतीडाँडा दक्षिण हुँदै कालीस्थान आइपुग्ने सहज बाटाहरु छन् । कालिकापीठ कालीस्थानको १९ औं बार्षिक अनुष्ठानको अवसर पारेर विश्व शान्तिको कामनासहित पुस ६ देखि १२ सम्म श्रीमद् ब्रह्म महापुराण एवं धनधान्याचल महायज्ञ आयोजना गरिने भएको छ ।

Author

You may also like