मुख्य राजनीति

कार्की सवार कारमाथि ढुंगा प्रहार

दमक, २७ मंसिर।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि दमकमा ढुङ्गा प्रहार भएको छ । दमक नगरपालिकाले आयोजना गरेको लागू औषधसम्बन्धी अभियानको उद्घाटनका लागि मङ्गलबार दिउँसो दमक आउने क्रममा पहिचान पक्षधर समूहले कालोझण्डा देखाउँदै मुख्यमन्त्री कार्की सवार कार रोक्ने प्रयास गरेका थिए ।
अगाडि र पछाडि प्रहरीको भ्यानसहित बीचमा आइरहेको मुख्यमन्त्री कार्कीको सवारी कार्यक्रमस्थलमा मोड्ने क्रममा गति कम भएको मौका छोपेर पहिचान पक्षधर भन्ने समुहले तोडफोड गरेको प्रहरीले जनाएको छ । उनीहरुले बिहानैदेखि कालोझण्डा लिएर दमक चोकमा बसेका थिए । मुख्यमन्त्रीको सवारी साधनमा सामान्य क्षति भए पनि मुख्यमन्त्री कार्की तथा गाडीमा सवार कसैलाई पनि क्षति नपुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मीका अनुसार मुख्यमन्त्रीको सवारीमा आक्रमण गर्नेहरुको पहिचान र खोजी कार्य सुरु भएको छ ।
पहिचान पक्षधर समुहले कोशी प्रदेशको खारेजी र पहिचानका आधारमा नामांकन गर्नुपर्ने माग राख्दै आन्दोलन गर्ने क्रममा मुख्यमन्त्री कार्कीलाई कार्यक्रममा प्रवेश गर्न नदिने बताउँदै आएका थिए ।
पूर्वमन्त्री किराती सहित पक्राउ

नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई मंगलबार खोटाङ र भोजपुरमा अवरोध गर्न खोज्ने पूर्वमन्त्री गोपाल किरातीसहित एक दर्जनभन्दा बढी पक्राउ परेका छन् ।
मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित एमालेको सो कार्यक्रमलाई अवरोध पुर्याउन यातायात बन्द गर्ने क्रममा खोटाङको हलेसीमा पूर्वसंस्कृति मन्त्री गोपाल किराती, जनता समाजवादी पार्टी खोटाङका जिल्ला सदस्य राजेश राई,वाईसीएल नगर इन्चार्ज विजय राई र जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राई पक्राउ परेका हुन् । नुनथलामा नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङ पक्राउ परेको प्रदेश १ पुनःनामांकन संघर्ष समिति खोटाङका संयोजक युगसन किरातीले बताए । भोजपुरबाट विदुर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको किरात राई यायोक्खाले जनाएको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा एमालेको नेतृत्व बागमती प्रदेशको सिन्धुलीबाट मंगलबार कोशी प्रदेशतिर प्रवेश गर्न लागेपछि पहिचान पक्षधरको नाममा अवरोध थालिएको थियो । सो कार्यक्रम अवरोध पुर्याउन प्रदेश १ पुनःनामांकन संघर्ष समितिको आव्हानमा गरिएको यातायात बन्दका कारण सार्वजनिक यातायात ठप्प रहेका छन् भनें प्रहरीको स्कर्टिङमा एमालेको कार्यक्रममा सहभागि गाडी गुडाइएको छ ।
बन्दकर्ताले बाटोमा रुख ढालेर अवरुद्ध गराउँदै सडकमा टायर समेत बालेका छन् । ओखलढुंगा र खोटाङका सडकखण्डमा ढालिएका रुख प्रहरीले पन्छाएपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी दिपक केशीले जानकारी दिएका छन् । साथै सडकमा शंकास्पद वस्तु राखेको पाइएको खोटाङ प्रहरीले पुष्टि गरेको छ । शंकास्पद वस्तु राखेपछि बम भनेर हल्ला गरेपछि त्रास फैलिएको थियो । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले एमालेको अभियानलाई अवरोध गर्ने बताउँदै आएको छ । तर एमाले पार्टीको अभियानलाई अवरोध नगर्न आग्रह गरेको छ ।t
ओखलढुंगाको हर्कपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै पहिचानको नाममा भएका यसखाले अवरोध निन्दनीय भएको बताए । एमाले अध्यक्ष ओलीले यस अगाडि नै कोशीमा एमालेलाई रोक्ने प्रयास गरे सामना गर्ने चेतावनी दिएका थिए ।
अध्यक्ष ओलीले उनले सरकारले पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने प्रकारका क्रियाकलाप गरिरहेको बताएका थिए ।
अवरोध नगर्न एमालेको आग्रह
मध्यपहाडी संकल्पयात्राका क्रममा कोशी प्रदेशमा बन्द, हडताल र अवरोध नगर्न नेकपा एमालेले आग्रह गरेको छ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबारदेखि कोशी प्रदेश प्रबेश गर्न लागेको अभियानलाई अवरोध हैन सफल बनाउन सहयोग गर्न पार्टीको तर्फबाट आग्रह गर्नुभएको हो ।
जनताको विकास र सम्बृद्धिप्रतिको आकांक्षालाई सम्बोधन गरेर अघि बढनका लागि आयोजना गरिएको राष्ट्रिय अभियान भएकाले अभियानलाई छेक्ने, अवरोध गर्ने, बन्द गर्ने कार्य नगर्न उनले आन्दोलनरत पहिचानवादी समूहलाई आग्रह गरेका हुन् ।
एमालेलाई मात्रै निशाना बनाएर गरिने बन्द, हडताल लोकतान्त्रिक हुन नसक्ने नेता गौतमको भनाई छ । आफना असहमति भए औपचारिक रुपमा संबैधानिक र शान्तिपूर्ण ढंगले सम्बन्धित निकायमा राख्न उनले सुझाव दिएका छन् । कोशी नामको सवाल कोशी प्रदेश सभाको भएकाले कोशी प्रदेश सभामा राख्नुपर्नेमा उनको जोड छ ।

Author

You may also like