दमक, २७ मंसिर।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लागूऔषध नियन्त्रण गर्न समुदाय सक्रिय हुनुपर्ने बताएका छन् । उनले लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम धेरै गोष्ठी र छलफल चलाएपनि घरका छोराछोरी लागूऔषध प्रयोगकर्ता छन् भने त्यहाँ शान्ति नहुने बताए ।
मंगलबार झापाको दमक नगरपालिकाले आयोजना गरेको लागूअरुौषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रममा बोल्दै कार्कीले भने, ‘आमाबुवाले छोराछोरीले घर बाहिर के गर्दैछ भन्ने हेक्का राख्ने बेला आइसकेको छ । बालबालिकालाई राम्रो संस्कार दिन सकेनौं भने जस्तोसुकै राम्रो अंकको शैक्षिक प्रमाणपत्रको पनि काम हुँदैन ।’
मुख्यमन्त्री कार्कीले मन्दिरमा, रेडक्रसमा र अन्य सामुदायिक ठाउँहरुमा अहिले बुढापाका मात्रै बस्ने गरेको दृष्टान्त पेश गर्दै शेषपछिको सम्पति छोराछोरीलाई दिने तर संस्कार नदिने समाजको विकास हुनु चिन्ताको विषय भएको बताए । ‘त्यसैले बालबालिकालाई सामाजिक शिक्षा दिनु आवश्यक छ । शिक्षाको परिभाषा कितावी ज्ञानले मात्रै हुँदैन । त्यसैले सभ्य नागरिक बनाउनु प्रत्येक आमाबुवाको नैतिक दायित्व हो,’ उनको भनाइ छ । मानवीय विकासमा सरकारले ध्यान दिने र सोहीअनुरुप कार्ययोजना बनाएर अघि बढ्ने कार्कीले बताए ।
कार्कीले पहिचानवादीको ढुंगा प्रहार हुन्छ भन्ने जान्दा जान्दै लागूअरुौषध प्रयोगकर्ता भएर जीवन बर्बाद गरिरहेकाहरुको संरक्षण गर्ने कार्ययोजनासहितको कार्यक्रममा सहभागी हुन झापा गएको बताए । ‘लोकतन्त्रमा विरोध गर्नु स्वभाविक हो । पहिचानवादीका लागि वार्ताको ढोका खुल्ला छ, हामी सबै समस्या लोकतान्त्रिक र वार्ताको माध्यमबाट समाधान हुनुपर्न भन्ने पक्षमा छौं,’ उनले भने ।
दमक नगरपालिकाका मेयर राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रेगिना भट्टराई प्रसाईंले पछिल्लो तथ्यांकले पनि लागूऔषध प्रयोगकर्ता बढ्दै गएको देखिएको बताइन् । उनले नगरस्तरी र वडास्तरीय कार्यक्रम सञ्चालक समिति गठन गरेर कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन् ।
प्रहरीमार्फत प्रयोगकर्ता पहिचान र नियन्त्रण गरी विपन्न परिवारकालाई उपचार गराउने र पाँच वर्षमा लागूअरुौषध मुक्त तथा स्वस्थ्य युवामैत्री नगर बनाउने अभियान रहेको उनको भनाइ छ । दमकमा सुधार गृह निर्माण गर्ने लक्ष्य लिएर कार्यक्रम शुभारम्भ भएको बताइएको छ ।
कार्यक्रममा सामाजिक अभियन्ताहरुले लागुऔषध प्रयोगकर्ता बढ्दै गएको बताए । कांग्रेस नेता शेरबहादुर भट्टराईले कार्यक्रमहरू तामझामका साथ खर्च गर्ने तर बजेटको सदुपयोग नहुने र लक्षितवर्गले लाभ प्राप्त गर्न नसके त्यसको अरुौचित्य नहुने बताए । नेकपा माओवादी केन्द्र कोशी प्रदेश कोषाध्यक्ष गगन पुरीले लागूऔषधरहित स्वस्थ्य समाज निर्माण मूल नाराका साथ लागूअरुौषधरहित दमक अभियान सुरू हुनु सकारात्मक भएको बताए ।