दमक, २४ मंसिर ।
‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ अन्गर्तत स्वीकारोक्ति फाउण्डेसनले भारतको आसाम राज्यको गुवाहाटी, सिक्किमको गान्तोक र दार्जिलिङको सिलिगुडीमा कार्यक्रम सञ्चालन गरेको छ । गुवाहाटीको कार्यक्रममा नेपाली साहित्यका वरिष्ठ व्यक्तित्व प्रख्यात ‘बसाईं’ उपन्यासका उपन्यासकार लीलबहादुर क्षेत्रीलाई ६ लाख रुपैयाँ राशीको ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ प्रदान भएको अन्तराष्ट्रिय समन्वय तथा कार्यक्रम योजना प्रमुख कर्ण गुरुङले जानकारी दिए ।
गुवाहाटीस्थित पल्टन बजारको कार्यक्रम ९१ वर्षीय क्षेत्री सम्मानित भएको क्षणलाई त्यहाँ अतिथिका रुपमा पुगेका प्रा.डा. गोविन्दराज भट्टराईले अत्यन्तै सुखद क्षण भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । क्षेत्रीकै नाममा स्थापित पुरस्कार भने आसामकै स्रस्टा खड्गबहादुर कौशिकलाई प्रदान गरेको प्रसंग पनि उनले उल्लेख गरेका छन् । साथै त्यहाँ आठवटा कृति लोकार्पण भए । एउटा आसामिज भाषामा अनूदित भट्टराईको कृति ‘मुगलान’ पनि थियो । जसको अनुवाद तेजपुरका छत्रमान सुब्बाले गरेको खुसी समेत भट्टराईले व्यक्त गरेका छन् ।
झापा, सुनसरी, मोरङ, इलामलगायत नेपालका विभिन्न स्थान हुँदै स्वीकारोक्ति फाउण्डेसनका अध्यक्ष डेन्जोम साम्पाङ राईको नेतृत्वमा टोली भारत पुगेको थियो ।
काठमाडौँमा आगामी मंसिर २८ र २९ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) काठमाडौँसँगको सहकार्यमा दुईदिने साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनपछि यात्राको समापन हुनेछ ।
स्वीकारोक्ती ग्लोबल टुरका रुपमा नोभेम्बर २३ देखि डिसेम्बर १५ सम्म यो बर्षको कार्यक्रम सञ्चालन हुनेछ । ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मूल विचार र मान्यता बोकेर मानव चेतना अभिवृद्धिको निम्ति सञ्चालित स्वीकारोक्ति फाउण्डेसनले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा खुसी, शान्ति र सद्भाव फैलाउने उद्देश्यका साथ ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ अभियान शुरु गरेको स्वीकारोक्ति फाउण्डेसनका अध्यक्ष राईले जानकारी दिएका छन् । स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ अन्तरगत नेपाल र भारतको विभिन्न स्थानहरूमा स्वीकारोक्ति दर्शन सम्बन्धी बहस, छलफलहरू सञ्चालन भएका छन् । नेपाल र भारतको कार्यक्रमपछि २०२४ मा अमेरिका, क्यानाडा र २०२५ मा युरोपका १० वटा देश गर्दै क्रमश विश्व भ्रमणसहित विभिन्न कार्यक्रम गर्ने संस्थाको उद्धेश्य रहेको छ । उनको भनाइ छ । स्वीकारोक्ति फाउन्डेसनले वातावरण संरक्षण गर्दै शान्तिको सन्देश प्रवाह गर्ने मुल उद्धेश्य बनाएको छ ।