देश–समाज मुख्य सुरक्षा स्थानीय

टेलिकम कर्मचारी सुवेदी ५२ दिनदेखि वेपत्ता

झापा, २० कार्तिक

झापाको सुरुङ्गास्थित नेपाल टेलिकममा कार्यरत दिलिप सुवेदी गत भदौ ३० गते शनिबारदेखि बेपत्ता छन् ।
विराटनगर-४ राजबंशी चौक घर भई झापाको टेलिकम शाखाका निमित्त कार्यालय प्रमुख रहेका छैंटौं तहका लेखा अधिकृत ३१ वर्षीय सुवेदी बेपत्ता भएको दुई महिना हुनलाग्दा पनि कुनै पत्तो नलागेको भन्दै परिवारले खोजी कार्यमा सहयोग मागेको छ ।
गत भदौ ३० गते बिहान ८ः४७ सम्म आफ्नी श्रीमतीसँग फोनमा कुराकानी गरेका सुवेदीसँग त्यसपछि परिवारको सम्पर्क भएको छैन । सुवेदीका बुबा नेत्रप्रसाद सुवेदीले आइतबार विराटनगर पत्रकार सम्मेलन गरि छोराको खोजी कार्यमा सहयोगको अपिल गरेका छन् ।
परिवारका अनुसार श्रीमतीसँग अन्तिम पटक कुराकानी गरेका सुवेदीलाई सोहि दिन दिउँसो १२ बजे पुनः फोन गर्दा मोवाईल अफ रहेको थियो । सुरुमा मोवाईलको चार्ज सकिएर अफ भएको ठानेको भएपनि बेलुकी ५ बजेसम्मपनि सम्पर्क नभएपछि भने उनी बेपत्ता भएको खुलेको थियो । त्यसयता उनको कुनै सम्पर्क भएको छैन ।
छोराको खोजीमा सुरक्षा संयन्त्रको सहयोग नपाएको परिवारले गुनासो गरेको छ । प्रहरीले खोजतलासमा चासो नदिएको र नेपाल टेलिकमले आफ्नो कर्मचारी हराउँदा पनि कुनै वास्ता नगरेको उनीहरुको भनाइ छ ।
हराएको दिन बिहान दिलिपले कार्यालयका सुरक्षा गार्डसँगै पसलमा आएर चिया पिएको देखिएको छ । त्यसपछि उनीहरु कार्यालयमा एकसाथ फर्किएका थिए । कार्यालय फर्किएपछि सुवेदी आफ्नो निवासमा छिरेको भएपनि त्यहिंबाट उनी वेपत्ता भएका थिए ।
उनी कार्यालय परिसरबाट बाहिर निस्केको नदेखेको गार्डले बताउँदै आएको परिवारले जनाएको छ । सुवेदीको खोजीको लागि परिवारले प्रहरीमा निवेदन दिएको भएपनि प्रहरीले खास धेरै चासोका साथ खोजतलास नगरेको बुबा नेत्रप्रसादको गुनासो छ । जिल्ला प्रहरी कार्यालय झापाले चासो दिए छोराको अवस्था पत्ता लाग्नसक्ने परिवारको बुझाई छ ।
सुवेदी सामान्य कपडामा चप्पल लगाएर वेपत्ता भएको परिवारले जनाएको छ । परिवारले संभावित क्षेत्रमा अनुसन्धानका लागि प्रहरीसँग आग्रह गर्दै आएको छ । प्रहरीले घरपरिवारसँगको कनेक्सन, बाँकी बाहिरी क्षेत्रको कनेक्सन, कार्यालयका सुरक्षा गार्डसँगको कनेक्सनलगायतका विषयमा कल डिटेल हेरेको बताए पनि कुनै जानकारी नभएको परिवारको भनाइ छ ।
सुवेदीले गत फागुनमा ब्रजुना भट्टराईसँग विवाह गरेका थिए । टेलिकम कार्यालयदेखि ५०० मिटरको दुरीमा रहेको क्वाटरमा चाबी लगाएको र पिएको पानीको ग्लाससमेत ओछ्यानमै रहेको अवस्थामा मोवाईल बोकेर बेपत्ता भएका सुवेदीको स्कुटीको चाबी, मोवाइलको चार्जर र पर्स कोठामै पाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले दिलिप सुवेदीको विषयमा खोजी र अनुसन्धान भईरहेको बताएका छन् ।

You may also like