दमक, २५ भदौ
झापाको दमकमा गौरक्षा तथा गौसंरक्षण अभियानका क्रममा आइतबार वृहत सद्भाव ¥याली निकालिएको छ । केही समय अघि सुनसरीको धरानमा गौ हत्या गरेर मांसाहार गरेको भिडियो भाइरल भएपछि देशभरि भइरहेको विरोधका क्रममा दमकमा पनि हिन्दु धर्मावलम्बी तथा गौपूजकहरुले यस्तो ¥याली निकालेका हुन् । ¥याली पछि गणतन्त्र चौकमा आयोजित सभामा बाल सन्त महाराज जगतगुरु मोहन शरण देवाचार्यले नेपालमा हिन्दु धर्म र हिन्दुत्व विरोधी भावना जगाउन र यसलाई मास्न सरकारमा भएकाहरुनै लागी परेको आरोप लगाएका छन् ।
आफूहरु अहिंसावादी भएको तर आमा समान मानिएकी गाईलाई र गोरुलाई नै काटमार गर्न थालेपछि अब सडकबाटै क्रान्ति गर्नुपर्ने बेला आएको कार्यक्रमका अधिकांश वक्ताहरुले बताएका छन् । गाई गोरु काटिए अब सहेर बस्न नसकिने बताउँदै त्यसको प्रतिकारमा उत्रिन सबै हिन्दु धर्मावलम्बी तथा समस्त ॐ कार परिवार तयार भएर बस्नुपर्ने अवस्था आएको पनि उनीहरुले उद्घोष गरेका छन् । राष्ट्रिय जनावर मानिएको गाईलाई काटमार गर्नु नेपालको संविधान विरुद्ध हुने पनि उनीहरुले बताए । संविधानविरोधी काममा लाग्ने, त्यसलाई प्रोत्साहन गर्ने र हिंस्रक कार्यमा लाग्ने जोकोहीलाई कानुनी कारवाही गरी दण्ड सजायको भागीदार बनाउनुपर्ने उनीहरुको माग छ ।
हिन्दु धर्म र हिन्दुत्वको रक्षाका लागि सडकबाट सबै सरोकारवालाहरुले संघर्षको मैदानमा उठ्नुपर्ने बेला आएको पनि उनीहरुले बताएका छन् । नेपालमा ८१ प्रतिशत ॐ कार परिवारका सदस्यहरु रहेका छन् । त्यसैले अब स्वधर्ममाथि प्रहार हुन थालेपछि घरमा माला जपेर बस्ने होइन, त्यसका विरुद्ध प्रतिकारमा उठ्नुपर्ने आवश्यकता देखिएको कार्यक्रमका वक्ताहरुको भनाई रहेको थियो । अधिकांश जनता हिन्दु हुँदा पनि बहुमतको कदर हुनुपर्छ भन्ने मान्यताका आधारमा पनि हिन्दु धर्ममाथिको ज्यादती सह्य हुन नसक्ने उनीहरुको धारणा रहेको छ ।
धार्मिक तथा सामाजिक व्यक्तित्व प्राध्यापक मोहन भण्डारीको अध्यक्षतामा गणतन्त्रमा भएको सभामा जगतगुरु देवाचार्यका अतिरिक्त, सताक्षीधामका गौ संरक्षक नन्दकिशोर, देवाचार्य लक्ष्मी खतिवडा, ज्योतिष पण्डित चक्रपाणि गौतम लगायतले सम्बोधन गरेका थिए । सभामा कोशी प्रदेशका विभिन्न ठाउँहरुबाट सहभागिता रहेको थियो । सभाअघिको ¥याली दमकको गणतन्त्र चौकबाट शुरु भइ बेलडाँगी रोड हुँदै नयाँ सब्जी बजार, नमुना बजार, थाना रोड हुँदै बजार परिक्रमा गरी गणतन्त्र चौकमै आएर सभामा परिणत भएको आयोजक ॐ कार परिवारका सदस्य भुपेन्द्र न्यौपानेले जानकारी गराए ।