दमक/ साहित्य कला संगम दमकले विभिन्न तीन विधामा पुरस्कृत हुने विभिन्न सात जना स्रष्टाहरुको नाम घोषणा गरेको छ । संस्थाले वितरण गर्दैआएको २०७९ सालको भवानी मिश्र पुरस्कार, साहित्यकला श्री पुरस्कार र स्व. तुलसादेवी न्यौपाने स्मृति पुरस्कारका पुरस्कृत प्रतिभाहरु छनौट गरी नाम घोषणा गरिएको संगमका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए ।
जसअनुसार भवानी मिश्र पुरस्कारबाट चूडामणी रेग्मी (झापा), प्रतिभा पौडेल (इलाम), मुकुन्द प्रयास (धनकुटा), हिक्मत नेम्बाङ (कन्काई) र युद्धवीर राणा(भारतको आसाम) पुरस्कृत हुने छन् ।
यसैगरी, साहित्यकला श्री पुरस्कारबाट स्रष्टा युवराज नयाँघरे (काठमाडौं) र स्व.तुलसादेवी न्यौपाने स्मृति पुरस्कारबाट झापाको गौरादह निवासी अग्रज लोकगायक सिताराम ताजपुरियालाई प्रदान गरिने निर्णय भएको अध्यक्ष न्यौपानेले बताए । पहिलोपटक वितरण गर्न लागिएको स्व. तुलसादेवी न्यौपाने स्मृति पुरस्कार भने दमक निवासी आप्mना छोराहरु डा. लेखनाथ न्यौपाने लगायतका दाजुभाईहरुले अक्षयकोष स्थापना गरेका हुन् । ती सबै पुरस्कार अक्षयकोषमार्फत् वर्षेनी विभिन्न विधाका स्रष्टाहरुलाई पुरस्कृत गरिँदैआएको छ । ती सबै पुरस्कारको राशी जनही रु ३५ हजार र सम्मानपत्र रहेको छ । २०५२ सालमा स्थापना भएको यस साहित्यिक संस्था जिल्लाकै एक पुरानो र क्रियाशील संस्थाका रुपमा परिचित छ । पुरस्कार यही चैत २५ गते दमकमा भव्य कार्यक्रम गरी वितरण गरिने आयोजक संस्थाका सचिव दिपक सुवेदीले बताए ।