कवाडी संकलनको केन्द्र बन्दै दमक

                            झापाको-दमक-स्थित-बेलडाँगी-रोडमा-कबाडी-सामान-लोड-गर्दै-श्रमिक

   विमल लामिछाने

दमक/    ‘टीना.. फलाम .. पलाष्टिक….., टिना… फलाम…. पलाष्टिक…’ भन्दै हिड्ने भारतीय मजदुरहरु दमकका चोक र गल्लीहरुमा दैनिकजसो भेटिन्छन् । हजारौ रुपैयाँ बराबरका कबाडी सामग्री झापाका गाउँ र बजारका घरहरुबाट संकलन गरेर थोक विक्रेतामार्फत वीरगञ्जको जगदम्बा कम्पनीमा पठाइँदै आएको छ ।
दमक बजारमा भने कवाडी सामान संकलन गर्ने ठूला ठूला ‘कबाडी स्टोर’ नै खुलेका छन् । एक दुई हप्ता सम्म संकलन गरिएका कवाडी सामान ठूला ह्यावी ट्रकमा लोड गरिन्छ र वीरगञ्ज र भारतीय बजारहरुमा पठाइन्छ । दमक ५ स्थित ब्यापारी सञ्जय शाहले भने– दमकबाटमात्रै सरदरमा दैनिक ५ गाडी कबाडी माल संकलन हुन्छ, दमकमा यस्तो सामान स्टोर गर्ने पसल दर्जनबढी रहेका छन् । साहले विगत ६ वर्षदेखि कबाडी माल संकलन गर्दै आएका छन् ।

शाहको स्टोरमा मात्रै १ वर्षमा ७ देखि १० गाडी फलाम संकलन हुँदै आएको छ । फलामको अलावा कार्टुन, टीना, कागजलगायतका कबाडी सामग्री संकलन गरिन्छ । साहले वर्षमा ८ देखि १२ हजार केजी कार्टुन, ११ टनदेखि १५ टन फलाम, ७ टनदेखि १० टनसम्म टीना निर्यात गर्दै आएको बताए । उनले वियरका बोतलपनि संकलन गर्ने गरेका छन् तर बोतलबाट खासै नाफा नहुने साह बताउँछन् । उनको स्टोरमा कबाडी माल जम्मा गर्न दैनिक खटिने ११ जना श्रमिक रहेका छन् । नियमित गाउँ डुल्ने श्रमिक चन्दुराम मेहता सरदर दिनको ५ सयदेखि १५ सयसम्म कमाई हुने बताउँछन् । कुनैदिन थोरै हुन्छ, कुनैदिन अलि राम्रै कमाई हुन्छ उनले भने ।
त्यसो त गाउँमा सावुन सलाई र भुजीयाका प्याकेट र सीशाका गीलाससँग पनि कवाडी माल साट्नेको देनिक भिड नै हुने गरेको देखिन्छ । तीन चार जनाको समूह बनाएर गाउँ पस्ने उनीहरूले फलाम, किट, प्लास्टिक, थोत्रा साइकल, टिभी, पुराना किताब, पत्रपत्रिका र अन्य कवाडीका सामग्री साट्ने र किन्ने गर्छन् । नगद नै लिन चाहनेलाई फलामको प्रति केजी १५ रुपियाँ, किटको १२ रुपियाँ र प्लास्टिकको ५ रुपियाँ सम्म दिने गरेको अजम मिया बताउँछन् ।
दमककै अर्का ब्यापारी सलिमान विहारीका अनुसार नेपालमा १५ रुपियाँमा किनेको फलाम भारतमा भारु १४ मा, १५ मा किनेको किट भारु १४ र आठ मा किनेको प्लास्टिक भारु १० मा बिक्री हुने गरेको छ । उनले नेपालको वीरगञ्जका कम्पनीले भन्दा भारतीय कम्पनीले राम्रो मुल्य दिने गरेको बताए । तर भन्सार र अन्य नाकामा निकासीका समस्याले कम मुल्यमा भएपनि नेपालका कारखानालाई नै पछिल्लो समय माल दिँदै आएको उनको भनाइ छ ।
दमकबाहिर झापाका पूर्वी बजारहरुमा भेटिने साना ब्यापारीहरु पनि उत्तिकै कारोबार गरिरहेका छन् । साइकलमा चुरा पोते र स्टीलका बटुका बोकेर आएका उनीहरू नेपालबाट फर्कदा कवाडी बोकेर फर्किन्छन् । साइकलमा ८० केजीदेखि एक क्विन्टलसम्म कवाडी लिएर भारत फर्किने उनीहरू भन्छन् – प्रतिकेजी भारु ४ देखि ७ रुपयाँसम्म नाफाको कारोवार हुने गरेको छ । वर्षमा ९ महिना यो व्यापार चल्छ, २ महिना उतै खेतीको काम गर्छौ, एक ब्यापारीले भने । उनीजस्ता सयौँ भारतीय कवाडी संकलक झापा र मोरङका गाउँगाउँमा घुमेर कवाडी भेला गर्छन् । झापामा मात्र झण्डै ११ सय जना कवाडी संकलक रहेको दमक स्थित कवाडी व्यवसायी बताउँछन् ।
पूर्वका सीमा क्षेत्रबाट कवाडी संलन गर्न दैनिक सयौँ भारतीय नागरिक नेपाल छिर्ने गर्छन् । साइकलमा चोरबाटो भएर आउने उनीहरूले नून, भान्सामा प्रयोग हुने सस्ता प्लास्टिकका सामग्री लिएर आउने गरेका छन् । कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरू मनग्गे आम्दानी गर्न सफल भएका हुन् तर भन्सार कार्यालय, सीमा प्रहरी, सशस्त्र प्रहरीको गस्ती टोलीले भने यो विषयलाई सामान्य मान्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published.