लेख विचार/वहस

छठ पूजा र समावेशी लोकतन्त्र

    ==== छठ महापर्व एउटा यस्तो महापूजा हो जसमा कुनै बाहुन वा पूरेतको आवश्यकता पर्दैन । यो पूर्ण रुपमा महिलाहरुको अगुवाइमा सम्पन्न गरिने भएकाले यो महापर्वले पुरुषहरुको हैकमवादी प्रवृत्ति र वर्चस्वलाई समाप्त पारेर महिलाहरुको वर्चस्व र नेतृत्वलाई स्वीकार गर्दछ । वैदिक कालमा नारी शक्तिलाई जीवनका हरेक क्षेत्रमा वर्चस्व लिने परम्परा रहेको थियो । पुरुषहरुको पुरातन र दमित मानसिकतालाई दमन गर्नका लागि लिंगभेदरहित ढंगबाट समाजमा महिलाको सर्वोपरितालाई स्वीकार गर्नुपर्दछ र समाजलाई समावेशी बनाउनु पर्दछ भन्ने कुराको अभ्यास गर्न सरकारले ठूलो रकम खर्च गरिरहेको सन्ंदर्भमा छठ पर्वको महत्वलाई स्वीकार गर्न सकिन्छ । ====== 

 

सत्येन्द्रलाल कर्ण

सुधैव कुटुम्बकम् अर्थात् सम्पूर्ण विश्व हाम्रो परिवार हो भन्ने सनातन हिन्दु धर्मावलम्बीहरुको धर्म र परम्परा रहँदै आएकोले सर्वधर्म समभावको चिन्तन र संस्कार धारण गर्ने हिन्दुहरुका सन्तानहरुले आफ्नो इतिहास र कुल परम्परालाई संरक्षण गर्र्दै चाडपर्व र मेला जात्राहरुको आयोजना र संरक्षण गर्दै आइरहेका छन् ।

छठ महापर्व चाडपर्वहरुको श्रृंंखलाहरुको एउटा यस्तो कडी हो, जुन पर्यावरणको स्वच्छता र संरक्षण प्रति पूर्ण रुपमा समर्पित छ । जैविक विविधता र प्राकृतिक सम्पदाहरुको संरक्षण गरी दीगो विकासका लागि साधनहरुको संरक्षण गर्ने तथा महिला सशक्तीकरण र ग्रामीण विकासका कार्यक्रमहरु मार्फत् पुस्तौं पुस्तासम्म देशलाई आत्मनिर्भर बनाउने योजनाहरुलाई सफल बनाउन तिहार र छठ जस्ता पर्वहरुकोे विशिष्ट भूमिका रहँदै आएको छ । आज हाम्रो महानगर र शहरहरु प्रदूषित र दुर्गंन्धित भइरहेका छन्, जसलाई नियन्त्रण र व्यवस्थापन गर्न करोडौंको बजेट हावा भइ रहेको छ । भ्रष्टाचार र अकर्मण्यतामा रमाइरहने सरकारका बेइमान मन्त्रीहरुले देशको बागमती नदीलाई ढलमती बनाउन केही पनि बाँकी राखेका छैनन् । छठ पर्वले नदीनालालाई सम्मान गर्ने, नदीका जल प्रवाहलाई स्वच्छ रुपमा प्रवाहित हुन दिने र देशको जल, जमीन र जंगललाई आध्यात्मिक उर्जाको रुपमा आत्मसात गर्ने उत्प्रेरणा जागृत गराउँदछ तथा सम्पूर्ण जनसमुदायलाई छठ महापर्व प्रति सकारात्मक बन्न सन्देश दिन्छ ।

सामान्यतयाः तिहार पछिनै छठ पूजा गर्नका लागि नदीनाला ,पोखरी र तलाउहरु लगायत बाटा–घाटाहरुको सरसफाइ गर्ने तथा प्राकृतिक रुपले गाउँ शहरलाई स्वच्छ र सुन्दर बनाउने तथा सजावट गर्ने कामहरुको शुरुवात हुन्छ । पूजाका लागि पाण्डालहरुलाई भब्य र प्रतिस्पर्धी बनाउने कार्यहरु तीव्ररुपमा बढ्दै जान्छ । छठ मनाउने परिवारहरुमा छठपूजाका लागि आवश्यक पर्ने सामग्रीहरुको किनमेल प्रारम्भ भइसकेको हुन्छ । अभूतपूर्व उत्साहका साथ परिवारका सदस्यहरु सामाजिक पारस्परिक प्रेम भावनाका साथ छठ महापर्वको लोकतन्त्रमा सहभागिता जनाउँदछन् ।

कतिपय चाडवाडहरुमा तल्लो जात वा माथिल्लो जात भातको कुराले समाजलाई छोइछिटो गर्ने सामाजिक परम्परा मान्न पनि उचालिरहेको हुन सक्दछ तर छठ महापर्व एउटा यस्तो महापूजा हो जसमा कुनै बाहुन वा पूरेतको आवश्यकता पर्दैन । यो पूर्ण रुपमा महिलाहरुको अगुवाइमा सम्पन्न गरिने भएकाले यो महापर्वले पुरुषहरुको हैकमवादी प्रवृत्ति र वर्चस्वलाई समाप्त पारेर महिलाहरुको वर्चस्व र नेतृत्वलाई स्वीकार गर्दछ । वैदिक कालमा नारी शक्तिलाई जीवनका हरेक क्षेत्रमा वर्चस्व लिने परम्परा रहेको थियो । पुरुषहरुको पुरातन र दमित मानसिकतालाई दमन गर्नका लागि लिंगभेदरहित ढंगबाट समाजमा महिलाको सर्वोपरितालाई स्वीकार गर्नुपर्दछ र समाजलाई समावेशी बनाउनु पर्दछ भन्ने कुराको अभ्यास गर्न सरकारले ठूलो रकम खर्च गरिरहेको सन्ंदर्भमा छठ पर्वको महत्वलाई स्वीकार गर्न सकिन्छ । छठ पर्वले पैतृक वर्चस्व भएको समाज व्यवस्थाको गलत परम्परालाई मात्र ध्वस्त गर्दैन, बरु यसले सबै जात–जाति ,भाषा–भाषी र क्षेत्रका मानिसहरुलाई एउटै मञ्चबाट सर्वस्वीकार्यता प्रदान गर्दछ । छठ महापूजामा पुरुषहरु महिलाहरुको सहयोगी भएर काम गर्दछन् । सबै जातजातिका सामाजिक एकाइहरु एकढिक्का भएर एकसाथ नदी सरोवर, तलाउ वा कुण्डको

वरिपरि पूजा सामग्रीहरु राखेर बस्दछन् । छठ पर्वका व्रतालुहरु सयौँ थुगा फूलको जस्तो बनेर अनुपम उदाहरणको प्रस्तुत गरिरहेका हुन्छन् ।  छठ पूजाको उत्पत्तिको सम्बन्धमा धर्मग्रन्थहरुमा चर्चा गरिएको छ । महाभारत कालमा जब पाण्डव पक्षहरुलाई कोैरव पक्षले जुवा खेलमा पराजित पारे ,तब पाण्डव पक्षहरुलाई इन्द्रप्रस्थलाई पत्यिाग गरी बाह्र वर्षको कठिन गुप्तवासमा जीवन बिताउनु परेको थियो । अत्यन्त आपत् विपदका बेलामा ऋषि कन्याहरुले द्रौपदीलाई भाकल गरी छठपूूजाको महाव्रत गर्ने सम्बन्धमा छठ पूजाको महत्वको बारेमा कथा सुनाएपछि द्रौपदीले पनि व्रत बसेर पवित्र मन वचन र कर्मले द्रविभूत भएर श्रध्दा भक्ति र उत्साहका साथ भगवान सूर्यको पूजा गरेकी थिइन् । भगवान सूर्यलाई अर्घ दिएपछि भगवान सूर्यको कृपाले द्रौपदीको दुःखको निवारण भएको थियो र महभारतको भीषण संग्राममा पाण्डव पक्षको विजय भएर राज्य प्राप्त गर्न सफल भएका थिए । विस्तारै विस्तारै सम्पूर्ण भारतवर्षमा छठ पूजा गर्ने परम्पराको विकास हुन गएको थियो । छठ महापूजाको प्रारम्भ कसरी भयो भन्ने सम्बन्धमा अर्को कथा पनि रहेको छ, च्यवन ऋषिकी पत्नी राजकन्या सुकन्याले कठिन छठ व्रत गरेर षष्ठी तिथिको बेलुुुका अस्ताउँदो सूर्यलाई अर्घ चढाएर सप्तमी तिथिमा प्रातःकाल उदाउँदो सूर्यलाइ अर्घ समर्पित गरेर सूर्य भगवानको उपासना गरेपछि च्यवन ऋषिलाई आँखाको ज्योति हेर्ने शक्ति प्राप्त भएको थियो तथा शक्तिशाली राज्य तथा पराक्रमी सन्तानहरुको पनि प्राप्ति भएको थियो ।

छठ पूजालाई षष्ठी देवीको पूजाका रुपामा पनि मनाइने गरिन्छ । पुराणहरुमा षष्ठी देवीलाई आरोग्य र वरदान दिने भाग्य लक्ष्मीको रुपमा पूजा गर्ने पर्दछ भनिएको छ । सन्तान नभएका पति पत्नीहरुले श्रद्धा भक्ति पूर्वक छठ गरेमा सन्तान प्राप्ति हुनुका साथै उत्तम स्वास्थ्यको प्राप्ति हुने ,जीवनमा अप्रत्याशित रुपमा आइपर्ने संकटहरु हटने, शत्रुहरुसंग मित्रता हुने, घरमा धनसम्पत्तिको आगमन हुने, रोजगारी प्राप्त हुने, परीक्षामा सफलता प्राप्त हुने तथा मनले चिताएको इच्छा पूरा हुने हुनाले महिलाहरुनै जीवनको संग्राममा अग्रपंक्तिमा देखापर्ने कारणले गर्दा महिलाहरुमा छठ पर्व प्रति बढी विश्वास तथा बढी उत्साह प्रकट भइ रहेको देखिन्छ । छठ महापर्वलाई समावेशी र लोकतान्त्रिक यस कारणले पनि भनिन्छ कि छठ पूजामा लाग्ने सम्पूर्ण सामग्रीहरु गाउँका श्रमजीवी किसान र गरीब दलित वर्गका कालीगढहरुले बनाएका हुन्छन् । डुमहरुले बनाएका बाँसका ढाकी ,नाङ्लो ,सुपती ,डगरी , गाउँकै अति पिछडिएका जाति कुम्हारले बनाएका माटाका घैला, हात्ती, सर्बा, ढकनी, दियो ,किसानहरुले आफ्नो खेतमा उत्पादन गरेका अदुवा ,बेसार ,मूला, सुठुनी ,कच्छुुु, भन्टा, उखु लगायतका सामग्रीहरु हुन्छन् । किसानहरुको बारीमा फल्ने केरा, नीबु, नरिवल लगायतका फलफूलहरु भगवान भाष्करको प्रसादको रुपमा प्रयोग गर्दा समाजमा छुवाछूत नरहने तथा नटिक्ने कुरा तर्फ नैे संकेत गर्दछ । यो छठ पर्व समानता र सामाजिक न्यायको पक्षपाती पर्व हो र यसलाई मनाउने जनता जनार्दनहरुले समावेशी लोकतन्त्र र समतामूलक तथा भेदभावरहित समाजको परिकल्पनाका साथ लोकतान्त्रिक अभ्यासको राजनीतिमा लागेका छन भनेर भन्न सकिन्छ । ।

नेपाल भित्रको सम्पूर्ण मधेस क्षेत्रमा छठ पर्वको रौनक र जनउत्साह दर्शनीय हुन्छ । छठ पर्वले मधेस र पहाडका मानिसहरु बीच समावेशी संस्कृतिको विकासमा मद्दत पुर्याउँदैछ । भारत लगायत नेपालको सीमाना बाहिरका थुप्रै देशहरुमा छठ पर्वको विस्तार हुदै गइ रहेको छ, नेपालमा काठमाडोंै, विराटनगर, जनकपुर, बीरगञ्ज, लहान ,राजविराज लगायतका प्रमुख शहरहरमा छठ महापर्वको मौलिकता र आध्यात्मिकतालाई अनुभव गर्न सकिन्छ । मुख्य रुपमा छठीमैया र भगवान सूर्यप्रति लक्षित भक्ति गीतहरुमा मैथिल महिलाहरुको जीवनशैली र संस्कारहरुलाई मिठा गीतहरु मार्फत् व्यक्त गरिएको हुन्छ । छठ पर्व सम्पूर्ण जगतका अधिश्वर भगवान सूर्य तथा जगतकी अधिश्वरी छठी मैया प्रति समर्पित रहेकाले यो पर्वलार्ई नीर्जल उपवास गरेर तथा भगवान सूर्यलाई जल चढाएर पनि मनाइने गरिन्छ । यस पर्वमा भाकल गरे अनुसार ब्रतालुहरुले दण्डवत प्रणाम गरी खुट्टा, हात र टाउकोलाई भुँइमा टेक्दै पूजास्थल सम्म जाँदै गरेको दृश्य हेर्दा जो कोहीलाई पनि भगवान सूर्य र भगवती छठीमाता प्रति श्रद्धा, भक्ति र आदरको भावना जागृत हुन्छ ।

 

Author

You may also like