राजनीति

पाँच दलीय गठबन्धन प्रतिगामीः ओली

दमक/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन प्रतिगामी गठबन्धन भएको आरोप लगाएका छन् । शनिबार वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनमा रहेको पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने जिकिर गरे ।

‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता निम्त्याउने र कम्युनिष्ट सरकार ढाल्ने र राज्यस्तरबाट भइरहेको छ यो प्रतिगमनको बाटो हो’, ओलीको भनाइ छ । प्रतिगामी गतिविधिविरुद्ध सशक्त संघर्ष गर्ने भन्दै ओलीले कार्यकर्ताहरूलाई डटेर सामना गर्न निर्देशन पनि दिए । ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढेको बताए । उनले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने बताए । उनले भने, ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि बढाएका छौं ।’

पछिल्लो समय कमिटी निर्माणका क्रममा पार्टीभित्र अनुशासनहीनता देखिएपछि अब त्यो अन्त्य हुने ओलीले बताए । यस्तै उनले वडा अधिवेशन एकतापूर्वक सफल रुपमा सम्पन्न हुनेछन् भन्ने विश्वास लिएको बताए । ‘एकैचोटी यति धेरै अधिवेशन उद्घाटन गर्नु सम्भवतः ऐतिहासिक हो । यस्तो अधिवेशन एमालेजस्तो एकता र संगठित पार्टी भएकाले मात्र सम्भव भएको हो ।’

ओलीले काँग्रेसले १४ औँ महाधिवेशन समयमा गर्न असफल भएको बताए । काँग्रेसको नाम नलिई ओलीले भने, ‘केही आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरूले महाधिवेशन गर्न नसकेर अल्झिएको अवस्था छ । पार्टी विधान र नेपालको संविधानले दिएको समयमा पनि महाधिवेशन गर्न असफल भएका छन् ।’ साढे पाँच वर्षभित्र पनि अधिवेशन गर्न नसकेर थप ६ महिनामा पनि अधिवेशन गर्न नसकिएको ओलीको भनाइ छ । ‘१३ जिल्लामा अझै वडा अधिवेशन समेत हुन सकेको छैन । तर हामीले एकै पटक अधिवेशन सम्पन्न गर्दै छौँ,’ उनले भने ।

You may also like