नेपाली फिल्म ‘कठपुतलीः द पपेट’ले विन्टर फिल्म फेस्टिवलमा दुई अवार्ड हात पारेको छ। भीमसेन लामा निर्देशित उक्त फिचर फिल्मले उत्कृष्ट हरर फिचर फिल्म र इन्डी पिक्स अवार्ड गरी दुई अवार्ड जितेको हो।
पृथ्वी राना मगरको निर्माणमा बनेको फिल्ममा कर्म, उषा रजक, मिथिला शर्मा, गौरी मल्ल, शिल्पा मास्के लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मको कथा, पटकथा एवं संवाद सम्पदा मल्लको हो।
अमेरिकाको न्युयोर्कमा सम्पन्न फेस्टिवलबा ‘कठपुतली’ प्रिमियर भएको हो। त्यस्तै‚ हर्टल्यान्ड इन्टरनेशनल फिल्म फेस्टिवलमा पनि यस फिल्म छनोट भएको छ।
नेपालमा असफल मानिने हरर जनराको नेपाली फिल्मले विदेशी फिल्म फेस्टिवलमा अवार्ड नै जित्नु सिंगो उद्योगका लागि खुशीको कुरा हो। अवस्था सामान्य भए फिल्म नेपालमा पनि यसै वर्ष प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण पक्षले जनाएको छ।
