समाचार

नगरपालिकाको बेथितिले शिक्षाका काम प्रभावित

गौरादह/गौरादह नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षक र कर्मचारीलाई स्थानीय तहबाट दिइने तलब विषयगत शाखामा राखिँदा शिक्षाका नियमित कार्यक्रम प्रभावित बनेका छन् । नगरपालिकाले शिक्षाको विषयगत शाखामा बाल शिक्षक र कर्मचारीको तलबलाई समावेश गरेपनि बजेट भने विगत वर्षकै हाराहारीमा विनियोजन गरिएको छ ।
कर्मचारीहरुको तलबलाई चालू खर्चमा राखिएको हुन्छ । नगरपालिकाले स्थानीय तहबाट दिइने बाल शिक्षक र कर्मचारीको तलबलाई चालू खर्चमा नराखी विषयगत शाखामा राखेको छ । नगरपालिकाले शिक्षाको विषयगत शाखामा बाल शिक्षक र कर्मचारीको तलब समावेश गरेपनि बजेट थप नगर्दा शिक्षाको विषयगत शाखाबाट गरिने काम प्रभावित बन्ने गौरादह नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मी बताउँछन् ।आर्थिक वर्ष २०७८÷०७९ मा शिक्षा शाखामा विनियोजित बजेटबाट बाल शिक्षक र कर्मचारीको तलब दिनुपर्ने भएकाले शिक्षाको विषयगत शाखामा बजेट कम भएको हो । नगरपालिकाबाट शिक्षाको विषयगत शाखामा १ करोड ८ सय १० रुपैयाँ विनियोजित भएपनि बजेटको ठूलो हिस्सा बाल शिक्षक र कर्मचारीको तलबमा खर्च हुन्छ ।
नगरपालिकाको शिक्षा शाखाबाट चालू आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट तथा कार्यक्रम अनुसार ८४ लाख ५० हजार तलबमा खर्च हुने अनुमान गरेको छ । शिक्षाको कुल बजेटबाट बाल शिक्षक र कर्मचारीको तलब घटाउँदा १५ लाख ५० हजार ८ सय १० मात्र बँच्ने देखिन्छ । यस आर्थिक वर्षमा बजेट अभाव हुँदा शिक्षामा ठोस तथा नयाँ कार्यक्रम हुन नसक्ने निश्चित छ । नेपाल सरकारबाट बाल शिक्षक र कर्मचारीहरुका लागि केन्द्रबाट ८ हजार र स्थानीय पालिकाबाट ७ हजार गरी १५ हजार मासिक तलब कायम गरेको थियो । स्थानीय तहबाट मासिक ७ हजार तलबमा खर्च गर्नुपर्ने रकम पनि शिक्षाको विषयगत शाखामा राखिएको छ । नगरपालिकामा बजेट कम भएकाले बाल शिक्षक र कर्मचारीको स्थानीय तहबाट दिइने तलबलाई शिक्षाको विषयगत शाखामा राखिएको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई बताउँछन् ।
गौरादह नगरपालिकाका सामुदायिक विद्यालयमा बाल शिक्षक र कर्मचारीहरु ९६ जना रहेका छन् । स्थानीय सरकारले बाल शिक्षक र कर्मचारीको तलबलाई शिक्षाको नियमित कार्यक्रमको बजेटमा नराखी छुट्टै बजेट विनियोजन गर्नुपर्ने हो । झट्ट हेर्दा करोडमाथि बजेट विनियोजन भएको देखिएपनि तलबमा मोटो रकम खर्च भएपछि बचेको थोरै रकमले शैक्षिक स्तर सुधार नहुने निश्चित छ ।
गत आर्थिक वर्षमा स्थानीय पालिकाबाट १ करोड ८ लाख रुपैयाँ विनियोजन भएको थियो । विनियोजित बजेटबाट विद्यालयको भौतिक निर्माण, टुल्स, नगर स्तरीय खेलकुद तथा शैक्षिक सामाग्री खरिद मसलन्दका साथै शैक्षिक गुणस्तर सुधार लगायतका काम भएका थिए । यस आर्थिक वर्षमा नगरपालिकाले बाल शिक्षक र कर्मचारीको तलबलाई विषयगत शाखामा समावेश गरेर शिक्षाका नियमित कार्यक्रममा
अवरोध पु¥याउनुमा स्थानीय सरकारको लापरवाही देखिन्छ । विद्यार्थीहरुलाई शिक्षा आर्जन गरी उज्ज्वल भविष्यको बाटो देखाइ राष्ट्रका कर्णधार हुनेगरी नागरिक तयार गर्न दिइने शिक्षा जस्तो संवेदनशील क्षेत्रमा बजेट थप गर्नु पर्नेमा बजेट घटाउनु स्थानीय सरकारको गैरजिम्मेवारीपना देखिन्छ । शिक्षामा बजेट थप गर्न तथा बाल शिक्षक र कर्मचारीको तलबलाई शिक्षाको नियमित बजेटमा समावेश नगरी छुट्टै बजेट विनियोजन गर्न शिक्षक महासंघले प्रभावकारी रुपमा दबाब दिन सकेन । बाल शिक्षक र कर्मचारीको तलब विषयगत शाखामा समावेश नगर्न पहल गरेपनि सुनुवाइ नभएको नेपाल शिक्षक महासंघ गौरादहका नगर अध्यक्ष बाबुराम भण्डारी बताउँछन् ।

Author

You may also like