दमक/ झापाको दमकस्थित मेची सहकारी संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा १ अर्व ९३ करोड ४ लाख १७ हजार ७८० रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै सोही वर्ष संस्थाले २ अर्व ५० करोड २९ लाख ६४ हजार ३२८ रुपैयाँ कर्जा लगानी र आम्दानी ८ करोड २० लाख ७३ हजार ५३९ रुपैयाँ भएको बिहीबार मोरङको पथरीमा भएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा जानकारी गराइएको छ । वासलात भने २ अर्व ९६ करोड ३४ लाख २९ हजार ५१ रुपैयाँ रहेको छ । संस्थाको खर्च २० करोड १८ लाख ६६ हजार १५९ र नाफा ८ करोड ६१ लाख ४० हजार ८५२ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा जनाइए अनुसार संस्थाको शेयर सदस्य संख्या ९ हजार ४८० रहेको र शेयर पुँजी ३१ करोड १४ लाख २ हजार ६ सय रहेको छ । संस्थाको हाल १० ठाउँमा सेवा केन्द्रहरु रहेको र इलाम सहित थप ४ ठाउँमा सेवा केन्द्र थप गर्न लागिएको पनि जनाइएको छ । संस्थाले ३० हजार राशीको ‘गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार’ राष्ट्रिय सहकारी बंैकका अध्यक्ष केवी उप्रेती र सहकारी क्षेत्रमा कलम चलाउने पत्रकार मध्येबाट १० हजार राशीको ‘ गणेशप्रसाद बस्नेत उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रेस काउन्सिलका सदस्य तथा रेडियो भिजनका संचालक गणेश पोखरेललाई प्रदान गर्ने निर्णय समेत गरेको कुरा सो सम्मेलनमा जानकारी गराइयो ।
संस्थाको २५ औं वार्षिकोत्सव तथा २७ औं साधारण सभाका लागि पत्रकार सम्मेलनमा सो प्रतिवेदन सार्वजनिक गरिएको हो । झापामा निषेधाज्ञा रहेका कारण प्रतिवेदन पथरीमा सार्वजनिक गरिएको हो । कार्यक्रम पथरी सेवा केन्द्रका संयोजक रुद्रबहादुर तामाङको सभापतित्व र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सो सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराईले सहकारीको नीति, कार्यक्रम तथा भावी योजनाका बारेमा प्रकाश पारे । संस्थाका उपाध्यक्ष पदम थापाले संस्थाको रजत जयन्तीको लोगो सार्वजनिक गरे भने प्रमुख प्रशासकीय अधिकृत तथा व्यवस्थापक खोम प्रसाद बगालेले संस्थका विविध गतिविधिबारे जानकारी गराए । संस्थाका अनुगमन समिति संयोजक अम्बिका प्रसाद खनाल, राष्ट्रिय समाचार समितिको संचालक समिति सदस्य माधव विद्रोही लगायतले मन्तव्य राखे भने पथरी सेवा केन्द्रकी लुना भट्टराईले स्वागत मन्तव्य र संचालक समिति सदस्य राजेन्द्र दाहालले कार्यक्रम संचालन गरेका थिए ।
साधारणसभाको कार्यक्रम
यसैगरी सो सहकारी संस्थाले बन्दाबन्दीका कारण यही साउन ३० देखि आगामी भदौ ६ गतेसम्मको समय लगाएर विभिन्न सेवा कार्यालयहरुमा शेयर सदस्यलाई उपस्थित गराएर संस्थाको २७ औं साधारण सभा गर्ने भएको छ । २५ औं वार्षिकोत्सव कार्यक्रम भने आगामी भदौ ११ गते रक्तदान र चेतनामूलक कार्यक्रम गरी गर्ने तय गरिएको छ । यो साधारण सभामा छैटौं कार्यकालका लागि निर्वाचन समेत हुने भएकाले आगामी भदौ १२ गते २ बजेसम्म उम्मेदवारी दर्ता र भदौ १३ गते बिहान १० बजेदेखि निर्वाचन कार्यक्रम हुने पनि बिहीबार वितरित प्रतिवेदनमा जानकारी गराइएको छ । संस्थाका हाल झापामा दमक, कमल, विर्तामोड, गौरादह, शिवसत्ताक्षी र कनकाई, मोरङमा उर्लाबारी, पथरी र मिक्लाजुङ तथा इलामको चुलाचुलीमा सेवा कार्यालयहरु रहेका छन् ।