समाचार

उत्कृष्ट कर्मचारी तथा शिक्षकहरु सम्मानित

दमक/ उत्कृष्ट कर्मचारी र शिक्षकलाई सम्मान गर्नुका साथै विभिन्न विधेयक समेत पास गर्दै कमल गाउँपालिकाको नवौं गाउँ शुक्रबार सम्पन्न भएको छ ।
त्यस अवसरमा उत्कृष्ट कर्मचारीतर्फ योजना शाखाका अधिकृत रामचन्द्र गजुरेललाई नगद रु २० हजार रुपैयाँको राशीबाट सम्मान गरिएको छ भने कर्मचारीतर्फ तोपगाछी स्वास्थ्य चौकीका ल्याव असिसटेन्टका रुपमा कार्यरत गीता न्यौपाने, सहायक महिला विकास निरीक्षक रेनुका गौतम, वडा नम्वर २ का वडा सचिव देवीप्रसाद फुयल, वडा नम्वर ५ का कार्यरत कार्यालय सहयोगी अनिता ताजपुरिायालाई जनही रु १० हजार रुपैयाँ र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
त्यसैगरी सामुदायिक विद्यालयका शिक्षकतर्फ महेन्द्ररत्न माध्यमिक विद्यालयका शिक्षक प्रदिप राई, कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका शिक्षक पुस्ता राई, बालविकास केन्द्र अन्तर्गत ज्योति आधारभुत विद्यालयमा कार्यरत विमला सापकोटा र मंगलमय माध्यमिक विद्यालयमा कार्यरत संचिता राजवंशीलाई पनि नगद जनही रु १० हजार रुपैयाँ र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको अधिकृत श्रेष्ठले बताए ।
सभाले नीति तथा कार्यक्रम र बजेटका साथै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, न्यायिक समिति कार्यविधि संशोधन विधयेक। न्यायिक समितिको प्रतिवेदन, समसामयिक महत्वको विषयहरु समेत पारित गरिएको बताईएको छ । सभाले सिन्धुपाल्चोकको मेलम्ची र हेलेम्बुमा गएको प्राकृतिक विपदमा परेकामा सहयोग पु¥याउन रु एक एक लाख रुपैयाँ पठाउने समेत निर्णय गरेको छ ।
काजकिरिया खर्च दिइने
यसैगरी कमल गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई अबदेखि काजकिरिया खर्च उपलव्ध गराउने भएको छ । गाउँपालिकाको सम्पन्न नवौ गाउँसभाले कोभिड –१९ को संक्रमणबाट ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्च वापत रु २० हजार उपलब्ध गराउने निर्णय भएको अध्यक्ष मेनुका काफ्लेले जानकारी गराइन् ।
त्यसैगरी कोभिड संक्रमण भई उपचारका लागि जिल्ला बाहिरका अस्पतालसम्म लैजान परे निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने समेत निर्णय भएको उनले बताइन् । यसैगरी गाउँपालिका भित्रका ८४५ विपन्न परिवारको स्वास्थ बिमा गाउँपलिकाले गरिदिने तथा अति विपन्न सतार, मुसहर, झाँगड, मिस्त्री जातिका १५ जना उत्कृष्ट विद्यार्थीलाई १८ महिने प्राविधिक विषय अध्ययनका लागि निःशुल्क व्यवस्था मिलाउने समेत गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए । उनका अनुसार गाउँपालिकाका विभिन्न विद्यालयमा पढाई हुँदै आएको प्राविधिक विषय पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिने ,बुबाआमा विहिन बालबालिकाहरुको अभिभावकत्व समेत गाउँपालिकाले लिने जस्ता शैक्षिक निर्णयहरु गरिएको छ ।

Author

You may also like