हिजोसम्म जो रोइ–रोइ बाँचिरहेका थिए
आज तिनै हाँसी–हाँसी मर्न तयार छन्
हिजोसम्म जसका बोलीमा केही थिएन
मनको प्रतिध्वनिसम्म थिएन
मानिस बोलेजस्तै थिएन
आज तिनैको बोलीमा प्राण छ
ब्यथा, उन्माद , आह्वान छ , आकर्षण छ ।
माथिका कविताका हरफहरु युगान्तकारी परिवर्तनकारी कवि स्व.गोपालप्रसाद रिमालका हुन् । ऐतिहासिक विषयमा आधारित यो कवितामा एउटा चेतनशिल मानवहरुको आवाज मुखरित छ । २००७ साल पूर्वको नेपाली क्रान्ति चेतनाको विद्रोहका स्वरहरु कसरी रोइरोइ बाँचिरहेका थिए भने आज तिनै कसरी हाँसीहाँसी मर्न तयार छन् भन्ने कुराको क्रान्तिकारी उद्घोष कविले गरे जसरीनै वर्तमान नेपालको राजनीतिक अवस्था विक्षिप्त बनेको छ । राणा शासनकालको निरङ्कुशता, अन्याय , सामन्ती शोषण र कठोर दमनका कारण तत्कालीन नेपाली मानसिकता थङ्थिलिएको र निरीह जनता मकैको घुन पिसिएझैँ पिसिनुपरेको विगत र वर्तमानको तीतो यथार्थ आज छताछुल्ल भएको छ । त्यसैका विरुद्ध लडन अमर क्रान्ति पुरुषहरुले आव्हान गरे , आत्मोत्सर्ग गरे । त्यसबाट प्रभावित र प्रेरित नेपालीहरुको उत्साहित मानसिकता र दमित मानसिकताका बीचको जीवन्त प्रस्तुति माथिको कविताको प्रत्येक हरफले हामी सम्पूर्ण नेपालीजनहरुलाइ केन्द्रित गराएको छ । क्रान्ति चेतना फैलिनुभन्दा पहिले नेपाली जनचेतना दमित थियोे, दबित थियो, बोधो थियो र निरीह थियोे, नेपालीहरु बोल्थे तर बोलीमा जीवन थिएन, केवल शब्द मात्र थियो, उनीहरू हातमात्र चलाउँथे तर तिनमा निजत्व थिएन, उनीहरू केवल लिन्थे , दिन सक्दैनथिए, त्यस्तै उनीहरुमा मौनता छाएको थियोे , बेदना प्रत्येक नेपालीमा फैलिएको थियोे, जो अहिले पनि यो अवस्था एउटा बन्द कोठामा बस्न बाध्य नेपालीको दुरावस्था विद्यमान छ । निराशाले उनीहरूको आत्मालाई छोपिदिएको छ । उनीहरुको कुनै घृणागर्ने शत्रु थिएनन्, न माया गर्ने आफन्तनै थिए । केवल छुद्रता थियोे , दरिद्रता थियोे र रोदन थियो, तिनीहरू हाँस्थे तर रोदन लुकाएर जबर्जस्ती हाँस्थे, तर क्रान्ति चेतना फैलिएपछि तिनीहरू त्यस्ता भने रहेनन् अचेल तिनमा ब्यथा छ , उन्माद छ , आँत पनि छ र आँट पनि छ । अब तिनीहरुमा विद्रोह जागेको छ , सचेतना आएको छ । अधिकारको बोध पनि छ र कर्तव्यको बोध पनि नेताहरुकै बोली व्यवहारले गर्दा हिजोआज जनता हनुमाने प्रवृत्तिबाट अलि टाढा रहेका छन् । त्यसैले उनीहरूबाट कायरता, निराशा, भय, लाचारी, निश्चलता र निरिहता भागिसकेको छ । आज त उनीहरुलाई मार्न चाहने शत्रुपनि छन् र उनीहरूका लागि मर्नसक्ने मित्रहरु पनि छन् । उनीहरूको छातीभने दह्रो बनेको छ । त्यसैले उनीहरू अँजुली भरेर दिनपनि सक्ने बनेका छन्, मानसिक दरिद्रतापनि हराउँदै गएको छ । त्याग र समर्पणका उज्ज्वल भाव तथा विचारहरुको विचरणसँगै क्रान्तिका पदचापहरु नेताहरुमा देखिएको बिलासिताबोधले गर्दा जनताहरुमा क्रान्तिकारी भावहरु विस्फोट हुनै लागेको अवस्था छ । उनीहरूमा अन्याय , अत्याचार ,शोषण आदिबाट परिवर्तन गरी समाजलाई अग्रगति दिने भावना नेतामा छैन तर जनतामा जनजनमा छ । त्यसैले हिजोसम्म जो रोइरोइ बाँचिरहेका थिए भने जब हिजोदेखि आजसम्मको नेपाली राजनीतिमा देखिएको अन्यौलता र उथलपुथलले गर्दा जब उनीहरूको चेतना जागृत भयो नि आज उनीहरूनै हाँसीहाँसी मर्न तयार छन् ।
आजको मानिस आफ्नो अतितलाइ बिर्सेर जतिजति आधुनिकतापट्टी आकर्षित भएको छ , त्यतित्यतिनै श्रद्धा पक्ष भुल्दै र बिसँदै गएको छ । नेपाली राजनीतिको सन्दर्भलाई यहाँ जोड्ने हो भने पटकपटक हन्डर र ठक्कर खाँदै नेपाली राजनीतिलाई एउटा क्यारेमबोर्डको गोटी सम्झेर चलखेल गर्दै नेपाली जनताको जनमतलाई अपमान गर्दासम्मको परिवेशलाई हाम्रा नेताले बन्धक बनाएर नेपाली जनताबाट प्राप्त जनमतलाई प्रतिनिधि सभानै भङ्ग गरी फेरि चुनावको मिति तोकेर अनिष्टको खेल खेल्ने यो राजनीतिको गोटी तपाईं हामी जनतानै होइनौँ ? हाम्रा पुराना नेताहरुलाई सदाका लागि बिदा गरेर नयाँ युवा नेताहरुलाई अघि सार्नु हामी युवा किन तत्पर छैनौ ? हामीहरू नेताकै हनुमान , सुसारे , चम्चे ,औरेभौरे भएर हिंडिरहेकै छौँ किन होला ? हामीहरु नेताका हनुमान भएकै कारणले हामीलाई पटकपटक धोकादिने भनेकै बयोबृद्ध नेता हुन्, तिनै मानिस तिनै प्रवृत्तिको पुनर्जन्म भएकै कारणले नेपाली राजनीतिले सही दिशाबोध गरेर अघि बढ्न नसकेकै हो । सत्ता र शक्तिको बलबाहुमा युवाशक्तिलाई मोर्चाबन्दीमा लामबद्ध बनाएर सत्ता स्वर्गको आनन्द लिने तिनै बुढ्यौली नेताको अभिष्टले गर्दा जनमत उनीहरूकै पोल्टामा परेको छ । आज कम्युनिस्ट पार्टी , काङ्ग्रेस पार्टी र अन्य ठूला तथा साना दलका युवाहरुको जनशक्ति हुँदा हुँदै पनि उनीहरुलाई कुनै ठूलो पदीय दायित्व नदिनु कतिको जायज छ , यो युवा वर्गले सोचेको खोइ ? सिद्धान्त भनेको मानवीय जीवनलाई अगाडि बढाउने खास आधार हो । महान ब्यक्तिहरु कुनै न कुनै सिद्धान्तलाई लिएर दुःखी ,गरीबका घरमा उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न लामबद्धहुनु जरुरी छ तर तिनै बयोबृद्ध नेताका कारणले देश प्रसव पीडामा जाकियो ।
यतिबेला हामी जनता रोग , भोक र शोकमा छौँ । कोरोना महाब्याधिको यो तेस्रो लहरसँगै नेपाली राजनीतिको अन्धकारमय छायाँ भित्र बस्न बाध्य छौँ । हुँदा खाँदाको हिजोको जनमत अहिले आएर सरकारका राष्ट्रप्रमुखहरु राष्ट्रपति र प्रधानमन्त्रीले संसदनै भङ्ग गरे । जनताको हक अधिकार जनजनबाट खोसेर लगे, न्याय र स्वतन्त्रतामा अंकुश लगाइयो यो कसैले हैन बर्तमान सरकारको हो । हिजोको जनजनबाट प्राप्त भएको कम्युनिस्ट पार्टीको पूर्ण बहुमतनै भङ्ग गरियो । बचेखुचेका कम्युनिस्टको साख विश्वमै गिराए । पार्टी बिखन्डनतिर लाग्यो । कित्ताकाट भो । यो महाब्याधिकै बेला अबको पाँच या छ महिना पश्चात् हुने निर्वाचनको मिति तोकिनु के जनताका लागि लाभदायक छ ? यसको जिम्मा कसले लिने ? भन्दा हामीलाई सहयोग भएन सबैले छोडेर गए भनेर भन्नू कतिको लज्जाजनक कुरो हो । राष्ट्रपति र प्रधानमन्त्री आफ्नो हातमै कानुन र संविधानलाईनै बन्धक बनाएर गरिएको यो धोकापूर्ण षड्यन्त्र अब कति दिन टिक्ला ?
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आम नेपाली त्यसमा पनि महिलाका निम्ति गौरवको विषय थिइन् तापनि लगातार दुईपटक ओली – स्वार्थको बन्धक भइरहेर संसदै विघटन गर्न पुग्नु कतिको लज्जास्पद विषयको कुरा हो । नेपाली राजनीतिको इतिहास हेर्ने हो भने राष्ट्रपति विद्यादेवी भण्डारीको पदार्पण एउटा
ठूलै वियोगान्त अर्थात् जननेता मदन भण्डारीको रहस्यमय हृदयविदारक मृत्युको
घटनानै हो । छोटो अवधिमै जनजनमा बस्न सफल भएका उनी आज उनकै जीवनसङ्गीनीले राष्ट्रपति जस्तो उच्च गरिमामय पदलाई ग्रहण गर्दा क्षतविक्षत
बनाएर अघि बढ्नु झनै लज्जाजनक विषय बन्न पुग्यो । लोकतान्त्रिक गणतन्त्रमा जनताले धेरथोर सुविधा प्राप्त गरेकै हुन् तापनि गणतन्त्र सही मोडमा कुनै पनि दलले सही दिशामा मोड्न
सकेनन्, यो शाश्वत सत्य हो, पदलोलुप्ता, सत्ताको सट्टेबाजी, पार्टीमा अन्तरविरोध ,विखण्डनवादी खेल र बिभाजनले गर्दा नेपाली जनता खुसी भने पटक्कै छैनन् । उतिबेला राजाको शासन पद्धतिलाई गिद्दे दृष्टिले हेर्ने लोकतन्त्रवादी शक्तिले किन सत्तो सराप्नु ? छोटेराजाहरुको एकलौटी चलखेल नेपाल राज्यभरनै एकलौटी राज्य संचालन चलेकै थियो त ! मालामाल मन्त्री भएकै थिए नि हैन र ? अनि किन पूर्वराजाले यो गरे उसो गरे भनेर कुर्लिनु ? यसरी कोकोहोलो मच्चाउन अलि
सुहाउँदैन यो बेला, समय घर्की सक्यो जनता जान्ने बुझ्ने भइसके, अबुझ कोही छैन किनकि को राम्रो को नराम्रो सबैले भोगिसके । यो बेलामा कोहिकसैले रडाको नमच्चाए हुन्छ अब, बरु यो बेलामा सच्चा देशभक्त तपाईं नेताहरु हो भने यो कोरोना महामारीमा तडपेर बसिरहेका आम नेपाली जनतालाई, त्यसमा पनि शोषितपीडित दिन दुःखीहरुलाई अक्सिजन सिलिन्डर, बेडको ब्यबस्थापन र चाँडोभन्दा चाँडो खोपको ब्यवस्थाका साथ गाँस ,बास र कपासको ब्यवस्थापन सरकारले गर्न सकोस्, अनिमात्र नेपाली जनताको आँसु र पीडामा मलहम लाग्नेछ पीरहरु हटेर जानेछन्, त्यसपछि सरकारको गुणगान गर्नेछन ! यसरी खुसी छाएपश्चात् जनताले असली गणतान्त्रिक ब्यवस्थाको गीत गुन्जाउन कम्मर कसेर लाग्नेछन । बेलैमा हाम्रा नेताको घँैटामा घाम लाग्न सकोस्, नभए पाएका भौतिक सुखसुविधा गुम्ने निश्चित प्राय ः छ । रोकेर छेकेर कसैले सक्ने छैन, सबैमा हिजो शनिबार रहेको गणतन्त्र दिवसको शुभकामना ।